१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बैतडी अस्पतालमा चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

बैतडी अस्पताल परिसरमा आन्दोलित स्वास्थ्यकर्मीहरू।

९ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेवाफतको रकम नपाइएको भन्दै बैतडी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

आन्दोलनले आइतबारदेखि अस्पतालका आकस्मिक र मातृसेवातर्फबाट सेवाबाहेक अन्य सेवाहरू प्रभावित भएका छन्।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा पनि चासो नदेखाएकाले आन्दोलनमा उत्रनु परेको अस्पतालका निमित्त प्रमुख डा. हरिष विष्टले बताउँछन्।

‘मन्त्रालयले श्रम शोषण गरिरहेको छ। बिरामीको सेवामा अहोरात्र खटिँदा पनि नियमअनुसार पाउनुपर्ने सेवासुविधा दिन आनाकानी हुनथालेपछि आन्दोलन गर्नुपरेको हो,’ विष्टले भने।

मन्त्रालयले कमिसन पाउने उपकरण खरिदमा ध्यान दिएपनि चिकित्सक र स्वास्थ्यकर्मीले पाउने सेवासुविधा दिन उदासिन देखिएको उनको आरोप छ। 

चिकित्सकजस्तै अस्पतालका अन्य स्वास्थ्यकर्मीहरूले पनि अतिरिक्त सेवा वाफतको रकम पाउन नसकेको अस्पताकाल चिकित्सक डा. धिरज जैसवालले बताए।

उनले भने, ‘पटक–पटक आग्रह गर्दा मन्त्रालयले चैत मसान्तभित्र रकम पठाउछौं भन्ने प्रतिवद्धता जनाएको थियो। तर, अहिलेसम्म आएन।’ चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुँदा बिरामीको उपचार प्रभावित बनेको छ।

बिहानैदेखि अस्पताल आएका बिरामीहरू उपचार नगरेरै फर्किनुपरिरहेको स्थानीयले बताएका छन्। अस्पतालको सेवा प्रभावित बनाउन मन्त्रालयले नै भूमिका खेलेको अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भट्टले बताइन्। 

उनले भनिन्,‘मन्त्रालयमा व्यवस्थापनको तहबाट पनि पटक–पटक कुरा भएको थियो। अहिले पनि त्यहिँ समस्या बोकेर धनगढीमा आएकी छु।’ आन्दोलनरत चिकित्सकले आफ्नो माग पूरा नभएसम्म ओपिडीलगायतका नियमित सेवा सुरु नगर्ने अडान लिएका छन्।

उता आन्दोलनरत् चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पनि आफ्नो आन्दोलनबारे ध्यानाकर्षण गराइसकेको छ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा बिरामीलाई अप्ठेरो पर्ने गरी आन्दोलन नगर्न सुझाएको बताउँछन्। ‘उहाँहरूको जायज मागका बारे मैले मन्त्रालयको सचिवज्यूसँग कुरा गरेको छु। आशा छ समस्या समाधान होला,’ उनले भने, ‘उहाँहरूसँग पनि मैले बिरामी नागरिकको जिउज्यान तलमाथि नहुनेगरी आफ्ना माग राख्न सुझाएको छु।’ बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन्।

प्रकाशित: ३० वैशाख २०८१ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App