१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

दीर्घरोगी र गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा

जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँचजना दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बिमा गरिदिएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए।

‘दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुनसक्ने अवस्था आउँछ’, उनले भने, ‘त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो।’

गाउँपालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा ३० जना दीर्घरोगी रहेका छन् भने ७५ जना गर्भवती छन्। उनीहरु सबैले आउँदो २०८१ जेठ १ देखि बिमाबापतको स्वास्थ्योपचार सेवा लिन पाउने अध्यक्ष तिमल्सिनाले बताए।

गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बिमाबापत लाभग्राहीले वार्षिक  एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन्। ‘यो कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ’, अध्यक्ष तिमल्सिनाले भने, ‘गाउँपालिकाले पालिकाभित्रका सबै गर्भवती र दीर्घरोगीको तथ्यांक संकलन गरेर कार्यक्रम सञ्चालन गरेको हो।’

गाउँपालिकाले बिमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँचजना सदस्यको पनि निःशुल्क स्वास्थ्य बिमा गरिएको गाउँपालिकाले जनाएको छ। 

प्रकाशित: २४ चैत्र २०८० ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App