१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा शिविरमार्फत ५७ जनाको आँखाको शल्यक्रिया

ताप्लेजुङको फुङलिङमा बुधबार सम्पन्न दुई दिने शल्यक्रिया सहितको निःशुल्क आँखा शिविरमा ५७ जनाको आँखाको शल्यक्रिया भएको छ। ६ सय १६ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन्।

आँखाको शल्यक्रिया भएका मध्ये ४८ जनाको मोतिया बिन्दुको र ९ जनाको साधारण शल्यक्रिया भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आईकेयर काठमाडौंको प्राविधिक तथा परार्मशीय सहयोगमा शिविर सञ्चालन भएको हो।

महिना दिन अघि विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतको उपस्थितिमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङलिङमै निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो।

त्यसको एक महिना पछि नै आँखाको उपचारमा आउनेको संख्या उल्लेख्य रहेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिकिन इन्चार्ज काजीमान गुरुङले जानकारी दिए।

शिविरमा आँखाको लेजर सर्जरी गर्ने रिफ्रेक्टिभ सर्जन डाक्टर किशोरराज प्रधानले दुई दिनको अवधिमा करिब डेढ सय जनालाई परामर्श सेवा समेत प्रदान गरेका छन्।

डाक्टर प्रधानका अनुसार आँखाको लेजर सर्जरी गर्ने सेवा आँखा अस्पतालमा समेत सुरु भएको छ। काठमाडौंमा मात्र प्रदान हुने यस्तो सेवालाई पूर्वी नेपालका आँखा रोगीहरू सम्म पुर्‍याउने उद्देश्यले मेची आँखा अस्पतालमै यस्तो सेवा प्रारम्भ भएकोले अब हजारौं रुपैयाँ खर्च गरेर काठमाडौं सम्म पुग्नुपर्ने झन्झट कम भएको डाक्टर प्रधानले बताए। 

प्रधानले अहिलेसम्म करिब २४ हजार आँखाका रोगीहरुको लेजर सर्जरी सेवा प्रदान गरेका छन्। ती मध्ये करिब २ हजार ताप्लेजुङका नागरिक हुन्। 

प्रकाशित: २१ चैत्र २०८० २०:०१ बुधबार