१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रेबिजबाट एक महिनामै नौ जनाको मृत्यु

मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो। आफन्तले रेबिजविरुद्धको खोप लाउन सुझाए तर उनले वास्ता गरेनन्। डेढ महिनापछि उनमा रेबिजको लक्षण देखियो। पानी निल्न नसक्ने, पंखाको हावादेखि तर्सिने, जिउ दुख्ने, डराउने गर्न थाले। परिवारले उनलाई स्थानीय अस्पताल हुँदै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याए। चिकित्सकले रेबिज लागेको बताए र आइसियुमा भर्ना गरे। त्यसको तीन दिन नबित्दै उनको मृत्यु भयो।

मकवानपुरका चार वर्षीय बालक श्रवण श्रेष्ठ (नामथर परिवर्तन) लाई मंसिरमा घरकै कुकुरले टोक्यो। बुवा–आमाले नजिकको मेडिकलमा पुर्‍याए। मेडिकलले रेबिजविरुद्धको खोप लगाउनुनपर्ने बतायो। फागुन पहिलो साता रेबिजको लक्षण देखिएपछि उनलाई टेकु अस्पताल पुर्‍याइयो। अस्पतालले रेबिज भइसकेको बतायो। दुई दिनमै उनको मृत्यु भयो।

चैत पहिलो साता ललितपुरका ३८ वर्षीय राजन केसी (नामथर परिवर्तन) को पनि रेबिजकै कारण मृत्यु भयो। उनलाई केही महिनाअघि बेवारिसे कुकुरले टोकेको थियो। उनले त्यसबारे न कसैलाई बताएका थिए न रेबिजको खोप नै लिएका थिए। रेबिजको लक्षण देखिएपछि मात्र उनी टेकु अस्पताल पुगेका थिए।

रेबिजकै कारण टेकु अस्पतलामा एक महिना (फागुन पहिलो सातादेखि चैत पहिलो सातासम्म) को अन्तरालमा ९ जनाको र गत कात्तिकयता ६ महिनाको अवधिमा ११ जनाको मृत्यु भएको छ। तीमध्ये चैत पहिलो सातामा मात्र पाँचजनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

रेबिज लागेर अस्पताल आए पनि कतिपय बिरामी अन्य अस्पताल जाने र घर फर्किने भएकाले सबै मृत्युको तथ्यांक टेकु अस्पतालमा नहुने आइसियु इन्चार्ज उषा देवकोटा बताउँछिन्। राष्ट्रिय इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखा जुनोटिक शाखाका अनुसार गत आर्थिका वर्षमा मात्र रेबिजबाट १८ जनाको मृत्यु भएको थियो। शाखामा पनि देशभरिका सबै तथ्यांक आइपुग्दैन। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष रेबिज लागेर १०० जनाको मृत्यु हुने गर्छ।

के हो रेबिज?

रेबिज भएका कुकुर, स्याल, बाँदर, बिरालो, न्याउरी मुसालगायत जनावारले टोके रेबिज संक्रमण हुन्छ। रेबिज भाइरस रगतको माध्यमबाट स्नायु हुँदै मस्तिष्कसम्म पुगेपछि रेबिज संक्रमण देखिन्छ।

रेबिज संक्रमित व्यक्तिमा सुरुमा ज्वरो आउने, घाउ भएको ठाउँमा पोल्ने, झमझमाउने हुन्छ। बिस्तारै बिरामी उत्तेजित हुने, पानी र हावादेखि डराउने, श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीमा अवरोध आउने भई अन्ततः मृत्युको मुखमा पुग्छ। चिकित्सकका अनुसार रेबिज लागे मानिसको शतप्रतिशत मृत्यु हुन्छ। नेपालमा रेबिजविरुद्धको उपचार सन् १९८७ देखि सुरु भएको हो। त्यस्तो सुई सुरुमा पेटमा र पछि पाखुरामा लगाउन थालिएको हो।

विकसित देशमा नियन्त्रण, नेपालमा उस्तै

केही विकसित देशमा दुई दशकअघि नै नियन्त्रण भइसकेको रेबिज नेपालमा अझै अवस्था उस्तै छ। अहिले पनि नेपालमा रेबिजकै कारण बर्सेनि धेरै मानिसको मृत्यु हुने गरेको विज्ञहरू औल्याउँछन्। पशु स्वास्थ्य शाखाका पूर्वप्रमुख डा. सुजन राना भन्छन्, ‘अमेरिकी र युरोपेली देशहरूमा दुई दशकअघि नै रेबिज नियन्त्रणमा आइसकेको थियो।’

प्रायः कुकुरबाट मानिसमा सर्ने रेबिजलाई अहिले पनि धेरै देशले नियन्त्रण लिइसकेकोमा नेपाल, भारत, पाकिस्तान र अफि«की मूलुकहरूमा भने अवस्था उस्तै रहेको उनको भनाइ छ। ‘भुटानले पनि सबै कुकुरलाई रेबिजविरुद्धको खोप दिएर उल्लेखनीय प्रगति गरिसकेको छ,’ उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुन विकसित देशमा पहिल्यै नियन्त्रणमा आइसकेको रेबिजले नेपालमा बर्सेनि सयौंको ज्यान लिनु चिन्ताको विषय रहेको बताउँछन्। ‘नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदा समेत रेबिजविरुद्धको खोप नलगाएर मानिसको मृत्यु हुनु विडम्बना हो,’ उनी भन्छन्।

नेपाललले सन् २०३० भित्र रेबिज नियन्त्रण गर्ने लक्ष्य लिएको छ। अहिलेकै दरमा रेबिज लाग्ने हो भने नियन्त्रणमै चुनौती थपिएको डा. पुन बताउँछन्।

बेवारिसे कुकुर बढ्दो, रेबिजबारे जनचेतना अभाव

‘घरपालुवा कुकुरले टोके रेबिज लाग्दैन’, ‘सानो घाउ भए रेबिज लाग्दैन’ भन्ने सोचका कारण नेपालमा रेबिज लाग्ने गरेको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी बताउँछन्। ‘सानो कुकुर पप्पीले टोकेमा रेबिज लाग्दैन भन्ने सोच अझै रहेछ,’ टेकु अस्पतालकी आइसियु इन्चार्ज देवकोटा भन्छिन्। ‘सानो घाउ छ, निको भइहाल्छ भनी रेबिजको खोप लाउन नआएको देखिन्छ,’ डा. पुन भन्छन्।

‘घरपालुवा कुकुरले टोके रेबिज लाग्दैन, कुकुर मरेपछि मात्र सुई लगाउनुपर्छ’ भन्ने पुरानो सोचका कारण पनि रेबिज संक्रमण हुने गरेको छ। ‘कति संक्रमित त लक्षण देखिएपछि धामीझाँक्रीकोमा जान्छन्,’ उनी भन्छन्।

पछिल्लो समय जंगली जनावरले टोकेर गाई, भैंसीमा समेत रेबिज लाग्ने गरेको पशु चिकित्सक डा. रोसिका श्रेष्ठ बताउँछिन्। ‘कुकुरले टोके रेबिज हुन्छ र शतप्रतिशत मृत्यु हुन्छ’ भन्ने जानकारी दुर्गम तथा कतिपय मेडिकलहरूमा नहुनुले पनि बिरामी झुक्किएको डा. पुन बताउँछन्।

कुकुरले टोकेको जानकारी बालबालिकाले आमाबुवासँग लुकाउँदा पनि रेबिज लाग्ने गरेको छ। टेकु अस्पतालकी आइसियु इन्चार्ज देवकोटाको अनुभवमा मेडिकलमा बूनेहरूमा पनि रेबिजबारे सही जानकारी नहुँदा यो संक्रमण हुने गरेको छ।

नेपालमा रेबिज लाग्ने मुख्य कारण कुकुरको वृद्धि हुनु र त्यसको उचित व्यवस्थापन नहुनु पनि रहेको पशु चिकित्सक डा. राना बताउँछन्। गत वर्ष विश्व बैंकले मान्छेको जनघनत्वअनुसार कुकुरको गणना गरेको थियो। जसअनुसार नेपालमा २९ लाख कुकुर रहेको आकलन छ। तीमध्ये कम कुकुरलाई मात्र रेविजविरुद्धको खोप लगाइन्छ। तथ्यांकअनुसार नेपालमा रेबिजविरुद्ध खोप २ लाख बन्ने र ३ लाख विदेशबाट आयात हने गर्छ। यस हिसाबले नेपालमा ५ लाख कुकुरले मात्र रेबिजविरुद्धको खोप पाउँछन्।

जुनोटिक शाखाका अनुसार नेपालमा प्रतिवर्ष ४० हजार मानिसले रेबिजविरुद्धको खोप लगाउँछन्। यो हिसाबले नेपालमा प्रतिवर्ष कम्तीमा ४० हजार जनालाई कुकुरले टोक्छ। टेकुमा उपचारका आएका आधारमा हेर्दा साउनयता ३९ हजार २०६ जनालाई कुकुरले टोकेको देखिन्छ। उनीहरू सबैले खोप लिएका थिए।

नेपालमा हुने कुल जनावरको टोकाइमध्ये कुकुरबाट मात्रै ७५ प्रतिशत रेबिज हुने गरेको डा. श्रेष्ठ बताउँछिन्। बाँकी २५ प्रतिशत रेबिज मात्र स्याल, बिरालो तथा अन्य जंगली जनवारको टोकाइबाट हुन्छ। भएका कुकुरमध्ये ७० प्रतिशतलाई खोप दिए बाँकी कुकुरमा स्वत: हर्डम्युमन विकसित हुने पशु चिकित्सकहरू बताउँछन्।

नेपालमा रेबिज नियन्त्रण नहुनुको पहिलो कारण सामुदायिक कुकुरको उचित व्यवस्थापन नहुनु रहेको डा. राना बताउँछन्। उनका अनुसार सहरमा हुने फोहोरका कारण बेवारिसे कुकुरको संख्यामा दिनहुँ वृद्धि भएको छ। मासुजन्य फोहोर व्यवस्थापन नगरी कुकुरलाई दिने चलनले पनि मासुपसल वरपर कुकुरको संख्या वृद्धि भएको छ। गाउँघरमा उपे्रको खाना दिने चलनले पनि कुकुर झुम्मिने गरेको छ। फोहोर व्यवस्थापनमा ध्यान दिए कुकुरको संख्या प्राकृतिक रूपमै घट्ने उनको भनाइ छ।

त्यसैगरी जनशक्तिको कमीले पनि पर्याप्त संख्यामा रेबिजविरुद्धको खोप लगाउन नसकिएको डा. राना बताउँछन्। उनका अनुसार कुकुरको वृद्धि हुनुको मुख्य भूमिका फोहोरको हुन्छ। फोहोरको उचित व्यवस्थापन नहुनु नै नेपालमा कुकुर बढ्नुको मुख्य कारण रहेको रानाको भनाइ छ।

कुकुरको बन्ध्याकरण पर्याप्त नहुनुले पनि नेपालमा कुकुरको संख्यामा वृद्धि भएको डा. राना बताउँछन्। नेपालमा प्रतिवर्ष ५ हजारजति कुकुरलाई बन्ध्याकरण गरिन्छ। बाँकीलाई उसै छाडिन्छ। विकसित देशमा घर, सेल्टरमा मात्र कुुकुरको व्यवस्थापन गरिन्छ र व्यवस्थित कुुकुरको पालनपोषण, खोप र बन्ध्याकरणको व्यवस्थापन गरिन्छ। यो नीतिका कारण कुकुरबाट हुने रेबिज नियन्त्रण गर्न सम्भव भएको देखिन्छ।

नेपालमा भने यी तीनवटै पक्षसँग सम्बन्धित नीति र कार्यक्रम फितलो रहेको डा. राना बताउँछन्। समुदाय, आवास र घर कसैले अपनत्व नलिएका बेवारिसे कुकुरको संख्या नेपालमा धेरै हुनु, सामुदायिक कुकुरका नाममा पनि समुदाय जिम्मेवार नहुनु र घरपालुवा कुकुरलाई समेत कतिपयले रेबिजविरुद्धको खोप नदिनुले रेबिजको संक्रमण घट्न नसकेको चिकित्सकहरू बताउँछन्। ‘सामुदायिक कुुकुर भनिन्छ तर उनीहरको खोप, बन्ध्याकरणबारे जवाफ दिने कोही हुँदैन,’ डा. रानाले भने।

प्रकाशित: १६ चैत्र २०८० ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App