१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

९० प्रतिशत नेपालीमा मुख स्वास्थ्य समस्या

तपाईंको गिजाबाट रगत आउँछ? मुख गनाउँछ? दाँत किराले खाएको छ? या जिब्रोमा कुनै घाउखटिरा छन्? यस्तो छ भने सम्झनुस्, यो तपाईंको मुखको स्वास्थ्य समस्या हो। चिकित्सकका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखसम्बन्धी स्वास्थ्य समस्या छ। मुख स्वास्थ्यअन्तर्गत गिजा, दाँत, जिब्रो र गाला पर्छन्। यी अंगमा कुनै पनि रोग लाग्नुलाई मुखको स्वास्थ्य समस्या भनिन्छ। अथवा, दाँत किराले खानु, गिजामा पाइरिया हुनु, गिजाबाट रगत आउने समस्या हुनु, दाँत बांगो हुनु, दाँतका बीचमा छिद्र पर्नु, दाँत खिइनु, गाला तथा जिब्रोमा घाउखटिरा आउनु तथा मुखको क्यान्सर हुनुलाई मुखजन्य रोग मानिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ९० प्रतिशत मानिसमा मुखको स्वास्थ्य समस्या रहेको छ। जसमध्ये ६० प्रतिशतमा गिजाजन्य रोगको समस्या छ। स्कुले बालबालिकामा ९० प्रतिशतमा दाँत किराले खाने समस्या छ भने उपचारमा पुगेका ६० प्रतिशतमा गिजासम्बन्धी रोग लागेको तथ्यांक छ। संगठनको परिभाषाअनुसार दाँत तथा मुख ठिक हुने अवस्थालाई मात्र स्वस्थ मुख मानिन्छ।

नेपालमा मुखको स्वास्थ्यलाई बिरामीले बेवास्ता गर्ने र जटिल समस्या आएपछि मात्र उपचारमा पुग्ने गरेको वीर अस्पताल दन्त विभागकी प्रमुख डा. शैली प्रधान बताउँछिन्। उनका अनुसार ८० प्रतिशत बिरामी ढिला गरेर अस्पताल पुग्छन्।

सहर–गाउँ सबैतिरका बिरामी ढिला गरी उपचारमा पुग्ने गरेको उनी बताउँछिन्। ‘गाउँबाट रेफर भएका बिरामी जटिल समस्या लिएर आउँछन्, सहरका बेवास्ता गरेर ढिला आउँछन्,’ उनले भनिन्। मुखमा दाँत तथा गिजासम्बन्धी रोगले सुरुमा बढी दुखाइ नहुने र ज्यानै जाने समस्या पनि नहुने भएकाले मानिसले बेवास्ता गर्ने गरेको चिकित्सक बताउँछन्।

‘दाँत किराले खाने, गिजाबाट रगत आउनेजस्ता समस्याले सुरुमा जटिल दुखाइ हुँदैन र दुखेमा नदुख्ने औषधि खाएर बस्ने धेरै छन्, ज्यानै जाने रोग भए मात्र छिटो उपचारमा पुग्छन्,’ उनले भनिन्, ‘दुखाइले साहै्र भएपछि मात्र उपचारमा आउँछन्।’

चिकित्सकका अनुसार पहिलेको तुलनामा अहिले मुखको स्वास्थ्यमा समस्या बढेको छ। आधुनिक कृत्रिम खानेकुरा जसमा फाइबर कम हुने, फाइबर नभएका, गुलिया र दाँतमा टाँसिने खालका खानेकुरा खाने चलन बढेको छ। यस्ता खानाले दाँत किराले खाने र गिजा खिइने समस्या हुन्छ।

‘हामी बढी मात्रामा तयारी खाना खान्छौं, यस्ता खानाले दाँत र गिजाको समस्या बढ्छ,’ उनले भने। यस्ता खानाहरूले दाँत किराले खान्छ।

त्यसैगरी सुर्तीजन्य पदार्थ, मदिरा सेवन, खाना खाएपछि दाँत सफा नगर्ने बानीले पनि मुखको स्वास्थ्यमा समस्या आउने गरेको मुख स्वास्थ्य विशेषज्ञ डा. प्रकाश बुढाथोकी बताउँछन्। ‘पहिलाभन्दा अहिले बढी मुखको स्वास्थ्यमा समस्या देखिन्छ,’ उनले भने।

त्यसैगरी धूमपान र मद्यपानको प्रयोगले पनि मुखको स्वास्थ्यमा असर गर्ने चिकित्सक बताउँछन्। डा. बुढाथोकीका अनुसार खैनी र चुरोट लामो समय सेवन गर्नाले मुख तथा घाँटीको क्यान्सर हुन्छ। मुखको स्वास्थ्यको कुनै पनि समस्या समयमै उपचार नगरे दाँतको जरा कुहिएर झर्ने, मुखको क्यान्सर हुने तथा गिजा पाक्नेजस्ता जटिल समस्या निम्तिन्छन्। मुख फोहोर भएका आमाबाट साना बच्चा जन्मिने, आफैंलाई मधुमेह हुने, स्मरणशक्ति कमजोर हुँदै जानेजस्ता समस्या पनि आउने डा. प्रधानले बताइन्।

ढिला उपचार गर्दा बढी खर्चालु हुने, मुखको क्यान्सर भए उपचारमा समेत जटिलता हुने भएकाले हरेक व्यक्तिले समयमै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन्। फाइबर भएका खाना खाने, गुलियो पदार्थ खानेबित्तिकै मुख कुल्ला गर्ने, मुखमा टाँसिने खालका खाना कम खाने, जिब्रोको नियमित सफाइ गर्ने, खाना खाएपछि नरम ब्रसले दाँत सफा गर्ने र वर्षमा एकपटक नियमित दाँत तथा गिजा रोग विशेषज्ञसँग जाँच गराउने गर्नाले मुखको स्वास्थ्य बचाउन सकिने चिकित्सकको सुझाव छ।

मुख स्वस्थ राख्ने उपायहरू

गुलियो कुरा खाएपछि मुख कुल्ला गर्ने, खाना खाएपछि नियमित दाँत सफा गर्ने, जिब्रोको सफाइ गर्ने, सुर्ती, चुरोट, गुट्का सेवन नगर्ने, मदिरा सेवन नगर्ने रवर्षमा एकपटक मुख स्वास्थ्यको परीक्षण गर्ने।

प्रकाशित: १३ चैत्र २०८० ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App