१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

वैदेशिक रोजगारीका तालिम

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारलाई दिइने ‘पूर्वप्रस्थान अभिमुखीकरण तालिम’लाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएको छ। सरोकारवाला निकायहरूले शुक्रबार मन्त्रालयमा गरेको कार्यक्रममा मन्त्रालयले स्वास्थ्य परीक्षण कार्यलाई समेत प्रभावकारी बनाउने विषयमा प्रतिबद्धता जनाएको हो।

वैदेशिक रोजारीमा गएका युवालाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण कार्य प्रभावकारी हुननसक्दा धेरै युवा अप्ठेरोमा पर्ने गरेका छन्। दुवै काम प्रभावकारी हुन नसक्दा वैदेशिक रोजगारीको क्रममा धेरै नेपालीको बिरामी तथा अंगभंग र मृत्युसमेत हुने गरेको छ।

उक्त कार्यक्रममा मन्त्रालय, वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी संघ, पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था एवं वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूसँग सरोकारवालाको उपस्थिति रहेको थियो। सो कार्यलाई व्यवस्थित गरी प्रभावकारी बनाउन सरोकार निकायहरूले समेत प्रतिबद्धता व्यक्त गरेका छन्।

श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले कार्यक्रममा पूर्व प्रस्थान अभिमुखीकरण तालिम एवं स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूबारे मन्त्रालयले गरेको अनुगमन प्रतिवेदनहरू प्रस्तुत गरिएको बताए।

 कार्यक्रममा प्रस्थान अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण कार्यमा देखिएका कमजोरी औंल्याउँदै यसलाई बढी प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।

प्रभावकारी अभिमुखीकरण तालिममार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचना नपाइकन वैदेशिक रोजगारमा जाने कामदारको संख्यालाई शून्यमा राख्ने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त भएको छ। वैदेशिक रोजगार विभाग तथा अन्य निकायले अनुगमन कार्यलाई प्रविधि प्रयोगमार्फत तीव्रता एवं नियमितता दिने प्रतिबद्धतासमेत रहेको छ।

त्यस्तै स्वास्थ्य परीक्षणसँग सम्बन्धित संस्थाहरूले एक महिनाभित्र सम्पूर्ण नपुग पूर्वाधार अनिवार्य रूपमा पूरा गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरेको सरोकारवालाले बताएका छन्।

साथै वैदेशिक रोजगारमा जाने कामदारलाई अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिएर मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाउने र अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दोस्रो संशोधनका प्रावधानलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत छ। सबै प्रतिबद्धताहरूको कार्यान्वयनमा वैदेशिक रोजगार व्यवसायी संघले आवश्यक सहयोग र सकारात्मक भूमिका निर्वाह गर्ने संघले बताएको छ। 

प्रकाशित: १३ माघ २०८० ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App