१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

एक्लोपना र मानसिक समस्याले डिप्रसेन

पीडामाथि पीडा झेल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

धनगढीकी ३५ वर्षीया जानुका तामाङ (नामथर परिवर्तन) को जीवनमा धेरै उतारचढाव आए। हुर्किंदै जाँदा उनले आफ्नो यौनिकताबारे थाहा पाइन्। उनको एक प्रेमीसँग सात वर्षसम्म प्रेम सम्बन्ध चल्यो। यसैबीच उनका प्रेमीको कलेजो रोगका कारण मृत्यु भयो। 

त्यसपछि उनले एक्लो महसुस गर्न थालिन्। प्रेमीको मृत्युपछि उनको घरपरिवारका सदस्यले मानसिक यातना दिन थाले। जानुकामाथि गालीगलौज गरिनुका साथै विभिन्न आरोप लगाइयो। एकातिर प्रिय जीवनसाथी गुमेको पीडा, अर्कोतिर घर पक्षले दिएको मानसिक यातना, उनी डिपे्रसनको सिकार हुन पुगिन्। ‘घरका सदस्य र साथीभाइले मेरै हेरचाह नपुगेर मृत्यु भयो भनेर एक्लो बनाए,’ उनले भनिन्।

चिकित्सकले डिप्रेसनको सिकार भएको बताएपछि उनले लामो समय औषधि सेवन गरिन्। बीचमा उनी सामान्य अवस्थामा फर्किन् तर गत साउनदेखि रोग बल्झिएपछि उनी पुनः डिप्रेसनको औषधि सेवन गरिरहेकी छन्।

डिपे्रसनका कारण प्यानिक अट्याक आउने समस्याका कारण अहिले उनी परिवारसँगै बस्दै आएकी छन्। यौनिक अल्पसंख्यक हुनुका कारण आफ्नो भविष्य नदेख्दा चिन्ता हुने गरेको उनी बताउँछिन्।

‘पुरुषसँग विवाह गरूँ मनले मान्दैन, महिला साथी पाउँदिनँ, पाए पनि समाजले स्विकार्दैन,’ उनले भनिन्।

सिन्धुलीकी ३० वर्षीया सन्तोषी राई (नामथर परिवर्तन) पनि यतिखेर डिपे्रसनको सिकार बनेकी छन्। १२ वर्षकी हुँदा उनी परिवारभित्रै बलात्कृत भएकी थिइन्। त्यतिबेला उनलाई आफ्नो यौनिकताबारे जानकारी नै थिएन।

उक्त घटना बाहिर आउन पनि सकेन। त्यसपछि उनी काठमाडौंमा बस्न थालिन्। यो अवधिमा उनको आफूजस्तै यौनिक अल्पसंख्यकहरूसँग भेट भयो। एकजनासँग उनको आठ वर्ष लामा प्रेम सम्बन्ध भयो। पछि पे्रमिकाले उनलाई छाडिन्। यो घटना उनका लागि सबैभन्दा दर्दनाक भयो।

उनमा कान नसुन्ने समस्या पनि छ। यही कारण कुनै काममा लाग्न खोज्दा पाइनन्। बल्लबल्ल काम पाएकी थिइन्, तैपनि बीचैमा निकालिइन्। ‘क्यान्टिनमा काम पाएकी थिएँ। कान नसुन्ने थाहा पाएपछि साहुले निकालिदिए,’ उनले दुखेसो पोखिन्।

प्रेमिकाले छाड्नु, काम नपाउनु, परिवारमा मेल नहुनुजस्ता धेरै कारणले उनको मन बिथोलियो। त्यसपछि उनी डिपे्रसनमा पुगेकी हुन्। ‘मैले बीचमा पटकपटक आत्महत्याको प्रयास गरेकी छु,’ उनले भनिन्।

अहिले उनीसँग औषधि खाने पैसा पनि छैन। ‘कुनै संघसंस्थाले पैसा दिए औषधि किनेर खान्थें। बीचमा पैसा नभएर औषधि छोड्दा रोग बल्झेको हो,’ उनले भनिन्। अस्पतालमा उपचारमा जाँदा स्वास्थ्यकर्मीबाट पनि दुर्व्यवहार झेल्नुपरेको उनले सुनाइन्।

काठमाडौका उमेश श्रेष्ठ यतिखेर एन्जाइटीको औषधि सेवन सुरु गरेको एक वर्ष भयो। कोरोनाका कारण बुवाको मृत्यु भएपछि उनमा एन्जाइटी भएको थियो। बुवाको मृत्युपछि उनी आइसोलेसनमा बसेका थिए। त्यहीबेला अखबारमा ‘लक्षण नदेखिए पनि कोभिड हुन सक्छ’ भन्ने शीर्षकको समाचार आयो।

त्यो समाचार पढेपछि उनमा एन्जाइटी बढेको हो। उनी निदाउन नसक्ने, राति छटपटी हुने, घरको छत आफैंमाथि खसेजस्तो हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको हो। यी लक्षणपछि उनमा झनै चिन्ता बढ्यो। त्यसपछि उनले उपचार गराएर औषधि सेवन सुरु गरेका हुन्।

यौनिक तथा लैंगिक अल्पसंख्यकमा सामान्य मानिसमा भन्दा बढी मानसिक समस्या रहेको वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारी बताउँछन्। उनको अनुसार उनीहरूमा डिप्रेसन, एन्जाइटीजस्ता समस्या बढी भएर मात्र उपचारमा पुग्छन्। कतिपय सचेत परिवारका भने छिट्टै उपचारमा पुग्छन्। ढिला उपचारमा पुग्नेहरू कतिपयले आत्महत्याको प्रयास गरेको पाइन्छ। कतिपयले त चिकित्सककहाँ पग्नुअगावै आत्महत्या नै गरिसकेका हुन्छन्।

लकडाउनको बेला तराईका यौनिक अल्पसंख्यकहरू गाउँ पुगे। पहिला उनीहरू सहरमा यौनिक अल्पसंख्यकको पहिचानसहित हिँडेका थिए। त्यही पहिचानमा उनीहरू गाउँमा देखिए। उनीहरूको बदलिएको पहिचान परिवार र समाजले स्विकार्नै सकेनन्। उल्टो ‘टर्चर’ सुरु भयो। जाने ठाउँ कतै थिएन। त्यतिबेला डिप्रेसनमा पुगेर तीनजनाले आत्महत्या नै गरेका थिए।

डिप्रेसन झेलिरहेका र आत्महत्या गरिसकेका यौनिक तथा लैगिक अल्पसंख्यकबाहेक यो समुदाय ठुलो संंख्यामा गम्भीर खालको मानसिक रोगको सिकार बनिरहेको नेपाल ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुुरुङ बताउँछिन्।

उनीहरूमा डिप्रेसन, एन्जाइटीजस्ता मुख्य मानसिक समस्या देखिएका छन्। बितेका तीन वर्षभित्र नेपाल ब्लु डाइमन्ड सोसाइटीको जानकारीमा आएका घटनामध्ये ७२ जनाले आत्महत्या गरेका छन्। ४० जनाले आत्महत्याको प्रयास गरेको तथ्यांक छ।

‘यो समुदायमा एचआइभी र यौन रोगजस्तै मानसिक रोग लाग्ने दर पनि उच्च छ,’ अध्यक्ष गुरुङ भन्छिन्।

अन्य समयमा भन्दा कोरोना महामारीको बेला चारैतिर संकट परेपछि उनीहरूले बढी आत्महत्या गरेको देखिन्छ। लकडाउनका बेला सहरमा काम नपाइने, गाउँमा जाँदा परिवार र समाजको अघि पहिचानसहित खुल्दा अस्वीकार र मानसिक यातना भोग्नुपर्ने कारण उनीहरू डिपे्रसनमा पुगेर आत्महत्या गरेको पाइएको सोसाइटीकी अध्यक्ष गुरुङले बताइन्।

मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलान पनि यो समुदायमा बढी मात्रामा डिप्रेसन र चिन्ताको रोग बढी छ। जानकारीमा आएका घटनालाई मितिनी नेपालले मानसिक रोगको उपचारमा पुर्‍याउन सहयोग गर्छ। यही सहयोग नेपाल ब्लु डाइमन्ड सोसाइटीले पुर्‍याउँछ।

डिप्रेसनको समस्या भएको जानकारी पाए सोसाइटीले मानसिक रोग परामर्शदातासमक्ष जान सल्लाह दिन्छ। अध्यक्ष गुरुङका अनुसार सम्पर्कमा आएकाहरू समयमै परामर्श र सहयोग पाउँदा आत्महत्याबाट बचेका छन् भने मानसिक समस्या परेका बखत सम्पर्कमा नआएकाहरूले आत्महत्या पनि गर्ने गरेका छन्।

मानसिक समस्या बढ्नुको कारण

लामो समयदेखि यौनिक तथा लैगिक अल्पसंख्यकहरूका विभिन्न अधिकारका लागि लड्दै आएको नेपाल ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष गुरुङ यो समुदायमाथि हुने विभेद र हिंंसा मुख्य कारणले मानसिक समस्या देखिने बताउँछिन्।

उनका अनुसार लैंगिक तथा यौनिक पहिचानलाई परिवारले अस्वीकार गर्नु, समाजले लाञ्छना लगाउनु र राष्ट्रले समयमै उनीहरूको अधिकारका लागि कानुनी प्रावधान निर्माण र लागु गर्न ढिलाइ गर्नुले मानसिक रोगको सिकार भई अप्रिय घटना निम्तिने गर्छ।

यौनिकताबारे थाहा पाएपछि स्कुलमा विभेद सुरु हुन्छ। घृणाकै कारण बीचैमा स्कुल छाड्छन्। भेदभाव र घृणाकै कारण पढाइ छाडेका यो समूह घरबाट पनि अस्वीकार भएपछि अन्यत्रै स्वतन्त्र रूपमा आफ्नो पहिचानसहित बाँच्न चाहन्छन्।

सबैतिरको घृणाको कारण अपरिचित ठाउँ सहरमा पस्छन्। त्यहाँ पनि समस्या निम्तिन्छ। राम्रा कामका लागि दक्षता हुन्न र काम पाइन्न। अरू कार्यक्षेत्रमा लागे पनि त्यहाँ हुने लाञ्छना र विभेद सहनुपर्छ। सहन नसक्नेहरू मानसिक समस्यातर्फ उन्मुख हुन्छन्।

 ‘कतिपय त यौन पेसामा लाग्छन्। कति बेरोजगार नै हुन्छन्,’ अध्यक्ष गुरुङले भनिन्। शैक्षिक, आर्थिक, आत्मसम्मानजस्ता विषयमा असुरक्षा भएपछि उनीहरू एक्लिएका हुन्छन्। कतिपय एक्लोपनाका कारण त कतिपय आर्थिक अभावका कारण मानसिक समस्यामा पर्छन्। यस्तो समस्या झेल्ने यौनिक तथा लौगिक अल्पसंख्यक धेरै रहेको अध्यक्ष गुरुङ बताउँछिन्।

लामो समयदेखि काम लैगिक तथा यौनिक अल्पसंख्यकको मनो समस्यासम्बन्धी क्षेत्रमा काम गर्दै आएकी मनोविद् करुणा कुँवर यो समुदायमा बढी मानसिक समस्या हुनुको पछि लामो समय झेल्नुपरेको जटिल जीवन संघर्ष मुख्य कारण हो।

उनीहरूको पहिचानलाई परिवार र समाजले गर्ने अस्वीकार र घृणा, घरबाट निस्केपछि झेल्नुपर्ने आर्थिक संकट मुख्य हुन्। यसबाहेक पे्रम भए पनि समयमै विवाहले वैधानिकता नपाउनु, प्रेम वियोगमा पर्नु, साथीसँगको झैझगडा पनि मानसिक समस्याका कारण हुन्।

‘न रोजगारीको अवसर छ न परिवारमा सम्मानित सम्बन्ध छ। यी कारणले पनि उनीहरू जटिल मनो समस्यामा पर्छन्,’ मनोविद् कुँवरले भनिन्। समाजमा पहिचान र आत्मसम्मापूर्वक बाँच्न नपाउनू, सामान्य मानिसको भन्दा भिन्न जैविक स्थिति, जीवन अस्तित्वको लामो संघर्ष, सामाजिक लाञ्छनाजस्ता कारणले यो समुदायका मानिसहरूमा अलि बढी मानसिक समस्या देखिने गरेको मनोचिकित्सक डा. अधिकारी बताउँछन्।

उनका अनुसार जैविक रूपमा पनि भिन्न र सामाजिक रूपमा पनि हुने अस्वीकृतिले उनीहरू समस्यामा पर्ने गरेका हुन्।  

प्रकाशित: २८ पुस २०८० ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App