१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट जेएन वान पुष्टि ,पहिला जस्तै मास्क प्रयोग गर्न र भीडमा नजान इपिडिमियोलोजी महाशाखाको आग्रह

कोरोना भाइरसको नयाँ उपभेरियन्ट जेएन वान नेपालमा पुष्टि भएसँगै राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै निजी अस्पतालहरूलाई कोरोनाको स्थिति रिपोर्ट नियमित पठाउन निर्देशन दिएको छ।

मंगलवार सरकारी तथा निजी अस्पतालहरूलाई सो रिपोर्ट पठाउन निर्देशन दिइसकेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीले बताए। ‘सबै अस्पतालहरूलाई अव पहिलेको जस्तो रिपोर्ट पठाउनको लागि सूचना पठाइसकेका छौ’ उनले भने।  नेपालमा पहिलो पटक जेएन वान गत सोमवार पुष्टि भएको हाे।

सीमा नाकाबाट आउनेहरूको परीक्षण तथा निगरानी गर्न निर्देशन पहिला नै दिइसकेको निर्देशक मरासिनीले बताए। उनका अनुसार कोभिड १९ महामारी भएपछि नियमित भएको रिपोर्ट संकलन बिचमा रोकिएकाे थियो।

मरासिनीका अनुसार  यो भाइरस ओमिक्रोनकै नयाँ उपभेरियन्ट भएको र धेरैमा सर्ने दर भएकोले सकेसम्म समुदायमा धेरैलाई नफैलियोस् भनेर सचेत गर्न आग्रह गरिएको हो। उनले भने,‘ यो उपभेरियन्ट त्यति खतरा नभए पनि गम्भीर खालका दीर्घ रोगी र बृद्धाहरुको लागि जोखिम रहेकोले उनीहरूलाई सङ्क्रमणबाट बचाउनु पर्छ’।

जोखिम समूहलाई बचाउनको लागि सबै सदस्यहरूले घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्ने र  भौतिक दुरी कायम राख्नु नै मुख्य उपाय भएको उनको सुझाव छ। ‘ पहिला जस्तै मास्क प्रयोग गर्ने र भीडमा नजानु नै मुख्य उपाय हो’ उनले भने।

प्रकाशित: २५ पुस २०८० १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App