२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

९० लाख खर्चेर नेत्रज्योति संघको भवन निर्माण

नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले करिब ९० लाख रुपैयाँको लागतमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन निर्माण तथा प्रबलीकरण गरिदिएको छ। भ्याटसहित ८८ लाख ११ हजार ६ सय ५२ रुपैयाँको लागतमा भवन निर्माण तथा प्रबलीकरण गरिएको ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईंले जानकारी दिए।

ताप्लेजुङ विकास मञ्चले भवन निर्माणका विषयमा सरोकारवालाको उपस्थितिमा सामाजिक परीक्षण गरेको थियो। नेपाल मेडिकल सपोर्ट जर्मनीका अगुवा जर्मनी नागरिक उर्सुला मारिया इयुग्नीको अगुवाइमा विभिन्न दातामार्फत उक्त रकम ताप्लेजुङ विकास मञ्चलाई प्राप्त भएको थियो।

नेपालका विभिन्न जिल्ला सहयोग गर्ने उर्सुलालाई नेपालीले भने श्रद्धाले ‘उस्सी दिदी’ भन्ने गर्छन्। सेवानिवृत्त जर्मनी चिकित्सक उनको अगुवाइमा नेपाल मेडिकल सपोर्ट जर्मनीमार्फत नेपालका स्वास्थ्य संस्थाहरूमा भौतिक तथा अन्य उपकरणका लागि सहयोग हुँदै आएको छ।

ताप्लेजुङमा भइरहेका कार्यहरूमा नेपाल मेडिकल सपोर्ट जर्मनीले ताप्लेजुङ विकास मञ्चलाई कार्यान्वयन संस्थाका रूपमा जिम्मेवारी दिएको छ। कार्य प्रारम्भका लागि नेपाल नेत्रज्योति संघ ताप्लेजुङसँग २०७९ साल असोज ७ गते सम्झौता गरेको ताप्लेजुङ विकास मञ्चले सोही वर्षको माघ मसान्तबाट निर्माण तथा प्रबलीकरण कार्य थालेको थियो। अध्यक्ष प्रसाईंका अनुसार गत पुस १ गते सम्झौताअनुसार कार्य पूरा भएको छ।

समाज कल्याण परिषदबाट प्रगति निरीक्षणपछि उक्त भवन नेपाल नेत्रज्योति संघ ताप्लेजुङलाई हस्तान्तरण गर्ने तयारी भइरहेको प्रसाईंले जानकारी दिए। यसअघि नेपाल मेडिकल सपोर्ट जर्मनीकै सहयोगमा मञ्चले ताप्लेजुङ जिल्ला अस्पतालको भवन निर्माण तथा प्रबलीकरण कार्य गरेको थियो। उसले अस्पतालमा अत्यावश्यक उपकरणमा समेत सहयोग गरेको थियो।  

भवनमा उपचार केन्द्रलाई आवश्यक पर्ने कोठा, बिरामी विश्रामस्थल, फर्निचर सामग्री, शौचालय र कम्पाउन्डसहितका निर्माण कार्य पूरा भएको ताप्लेजुङ विकास मञ्चले जनाएको छ। सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा फुङलिङ नगर प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, जिल्ला समन्वय समिति सदस्य विष्णु तिवारी, फुङलिङ नगरपालिका वडा नं ४, ५ र ६ का वडाध्यक्षसहितका जनप्रतिनिधि, नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङसहितका पदाधिकारी एवम् सदस्य, गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघसहितका संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

प्रकाशित: १९ पुस २०८० ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App