१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चीनले दिएको कोरोना खोप प्रयोगमै नआई ‘डेट एक्सपायर’

संकेतिक तस्बिर।

चीन सरकारले अनुदान स्वरुप नेपाल सरकारलाई दिएको ४० लाख साइनोभ्याक खोप प्रयोगमै नआई ‘डेट एक्सपायर’ भएको छ।

चीनले दिएको उक्त खोप नेपालमा प्रयोगको लागि उपयुक्त नभएपछि खोप प्रयोग विहीन बनेको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए।

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले केही दिनभित्रै ती खोप नष्ट गर्ने तयारी गरेको छ। ‘खोपको प्रयोग अवधि पुस ७ गते सकिएपछि नष्ट गर्न तयारी गरेका हौं’ खोप शाखा प्रमुख गौतमले भने।

प्रमुख गौतमका अनुसार विज्ञहरुको राष्ट्रिय खोप सल्लाहकार समितिले सुझाव दिएपछि मात्र खोप शाखाले प्रयोग गर्ने प्रक्रिया रहेको छ। उक्त समितिले साइनोभ्याक खोप प्रयोगमा नल्याउन भनेपछि प्रयोग विहीन बनेको थियो।

चीन सरकारले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाकै कार्यकालमा अनुदान स्वरुप उक्त परिमाणको खोप पठाएको थियो। कोभिड १९ महामारीकै समयमा नेपाल सरकारले खोपको माग गरेता पनि माग अनुसार उत्पादन नहुँदा चीनले समयमै दिन सकेको थिएन।

पर्याप्त उत्पादन भएपछि मात्र सन् २०२२ मा माच ८ मा चीनले उपहार स्वरुप खोप पठाएको थियो।

खोप नेपाल आइपुगेपछि प्रक्रिया अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिले खोपबारे अध्ययन गरेको थियो। समितिको अध्ययनले उक्त खोप बुस्टर डोजको लागि प्रयोग गर्न नमिल्ने तर पहिलो र दोस्रो डोजको रुपमा प्रयोग गर्न मिल्ने निष्कर्ष निकाल्यो। सो बेलासम्म नेपालका लक्षित सय प्रतिशत समूहले अन्य खोपहरूको पहिलो र दोस्रो डोज लगाइसकेका थिए। योसँगै चीन सरकारले उपहार रुवरुप दिएको खोप नेपालमा प्रयोगमै आएन।

चीनले दिएको उक्त खोप नेपालमा प्रयोगको लागि उपयुक्त नभएपछि खोप सजिलै चीनलाई फिर्ता पठाउने स्थिति पनि नभएको डा. गौतमले बताए।

खोप प्रयोग हुन नसकेपछि स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले यसबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका थियो। मन्त्रालयले अरू देशमा उपयोग होस भनी विभिन्न देशमा पत्राचार समेत गर्‍यो। तर ती देशहरूबाट कुनै माग नआएपछि आपूर्ति महाशाखाको भण्डारणमै खोप थन्किएर रहेको थियो।

‘हामीले विभिन्न देशमा पहल गर्न मन्त्रालयलाई भन्यौँ, मन्त्रालयले पनि पत्राचार गर्‍यो, अरू देशहरूबाट पनि माग आएन’ आपूर्ति महाशाखा भण्डारण शाखाका प्रमुख सुरेन्द्र चौरासियाले भने।

भण्डारणमै थन्किएको खोपको प्रयोग अवधि सकिएपछि विज्ञहरूले बैठक बसी कसरी नष्ट गर्ने भन्ने सुझाव दिने र सोही प्रक्रिया अनुसार नष्ट गरिने प्रमुख चौरासियाले  बताए।

‘प्रयोग अवधि सकिएपछि राख्ने कुरै भएन, विज्ञहरुको सुझाव अनुसार नष्ट गर्छौ।’ उनले भने।

प्रकाशित: १७ पुस २०८० १७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App