६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा गर्भवतीमध्ये २१ प्रतिशत बालिका

कर्णालीमा गर्भवती भएकामध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ। नेपालमै सबैभन्दा बढी कर्णालीमा १९ वर्षमुनिका गर्भवती हुने गरेको पाइएको हो।

कर्णालीमा १९ वर्षमुनिका बालिका २१ प्रतिशत गर्भवती हुने गरेको २०२२ भएको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले देखाएको हो। स्वास्थ्य सेवा कार्यालयहरूबाट लिएको तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सबैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिका बाल विवाह गरेर गर्भवती हुने गर्दछन्। 

बाल विवाह सबैभन्दा बढी दलित समुदायमा हुने गरेको अधिकारकर्मी बताउँछन्, जसमा बादी समुदायमा बढी बाल विवाह हुने गरेको छ। दलितपछि बाहुन, क्षेत्री र जनजातिमा बढी बाल विवाह हुने गरेको लामो समयदेखि बाल अधिकारका क्षेत्रमा खटिएका अधिकारकर्मी चेतन गिरीले बताए।

प्रदेश, स्थानीय सरकारले ठोस कार्यक्रम नल्याउँदा बाल विवाहको अवस्था झन् भयानक रूप लिइरहेको अधिकारकर्मी गिरीले बताए। बाल विवाहविरुद्ध साझा अभियान सञ्जालले आयोजना गरेको कार्यक्रममा कर्णालीमा बाल विवाहको अवस्था दयनीय भएको पाइएको छ। 

बाल विवाह नरोकिनुको प्रमुख कारण सरकारी निकायबाट कानुनको प्रभावकारी कार्यान्वयन नगर्नु नै मुख्य कारण रहेको छ। सरकारी निकायले बाल विवाहको उजुरी दर्ता गर्ने, आवश्यक अनुसन्धान गर्ने, अभियोजन गर्ने र दोषीलाई दण्डित गर्ने काम हुन नसक्दा बाल विवाहलाई प्रोत्साहन मिलेको अधिकारकर्मी बताउँछन्।

देखासिकी, बालमैत्री वातावरणको कमी, अशिक्षा, सामाजिक सञ्जालको नकारात्मक प्रभावलगायतका कारणले बाल विवाह हुने गरेको पाइएको छ।

त्यस्तै बाल विवाहपछि बाल विवाहले मातृ मृत्यु र शिशु मृत्युदर बढाउने, पारिवारिक द्वन्द्व, सम्बन्धविच्छेद, बहुविवाहदेखि आत्महत्यासम्मका घटना देखिन थालेका छन्।

अन्य प्रदेशमा बालविवाह न्यूनीकरणसम्बन्धी थुप्रै कार्यक्रम भए पनि कर्णाली प्रदेशमा बैंक खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने कार्यक्रम ल्याए पनि दुई वर्षदेखि बजेट नहुँदा कार्यक्रम हुन सकेको छैन।

नीति तथा कार्यक्रमहरूमा प्रदेश सरकारको प्राथमिकता नपर्दा कर्णालीमा बाल विवाह न्यूनीकरणसम्बन्धी चेतनाका कार्यक्रम हुने गरेका छैनन्। केही गैरसरकारी संस्थाले सामान्य कार्यक्रम गरे पनि सिंगो कर्णालीमा बाल विवाहको दर भयानक रूपमा जडिएको छ।

प्रकाशित: १४ पुस २०८० ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App