१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रोग र औषधिको भेट भयो भने सञ्चो हुन्छ कि ?

चौकुने गाउँपालिका १ पगकी ७७ वर्षीया सुमित्रा थापा क्षेत्री वर्षौंदेखि तल्लो पेट दुख्ने समस्याबाट पीडित छिन्। उनलाई हिँडडुल गर्न गाह्रो हुन्छ। उपचारका लागि धनराशीबाट प्रदेश राजधानी वीरेन्द्रनगर आइपुग्न दुई दिन लाग्छ। सामान्य स्वास्थ्य जाँचका लागि पनि १५–२० हजारको जोहो नगरी हुँदैन। ‘देखिने बिमार भए त छोरा–छोरीले सुर्खेत (वीरेन्द्रनगर) लिन्थे कि ?’, उनले भनिन्, ‘बैकिनी (महिला) को भित्त (भित्री) समस्या भएकाले कसैलाई भनेकी थिइनँ।’

चौकुने १, २ र ३ सुदूरपश्चिमको डोटी जिल्लासँग नजिकका क्षेत्र हुन्। कर्णालीमा पुल नहुँदा दूरी नजिक भएर पनि सम्पर्क टाढाको जस्तो छ। यही ठाउँमा नेपाली सेनाको कालीबहादुर गणले आइतबार विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर आयोजना गर्‍यो।

सुमित्रा सेनाका डाक्टरसँग जचाउन पगबाट शनिबार नै तल्लो लगाम आइपुगेकी थिइन्। ‘सेनाकी डाक्टर्नीले औषधि लेखेर दिइन्’, चेकजाँचपछि उनले भनिन्, ‘अब मेरो बिमार सञ्चो हुन्छ कि भन्ने आशा जागेको छ।’

धनरासकी रत्नकला थापालाई तल्लो पेट दुख्ने समस्या छ। ६२ वर्षकी उनले पाँच छोरी र चार छोरालाई जन्म दिइन्। उपचारका लागि नजिकका अस्पतालहरूमा पुगिन्। तल्लो पेट दुख्ने समस्या कम भएन्। सेनाले निःशुल्क स्वास्थ्य शिविर गरेको थाहा पाएपछि रत्नकला पनि धनराशीबाट तल्लो लगाम झरिन्। महिलाका लागि सेनाका महिला डाक्टर थिए। ‘डाक्टर्नीले जे–जे सोधिन् सबैको उत्तर दिएँ’, रत्नकलाले भनिन्, ‘दबाई (औषधि) र बिरामको भेट भयो भने त ठिक होला नि ?’

चौकुने २ इचडाका वीरबहादुर भण्डारीले गाउँमै पहिलोपटक विशेषज्ञ सेवा पाएको बताए। ‘ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म आएका सबैलाई सेनाले चेकजाँच ग¥यो, औषधि दियो’, उनले भने, ‘यस्तै सेवा बेलाबेला भइदिए हामीलाई धेरै राहत हुन्थ्यो।’ उनले बिरामी हुँदा गाउँमा ज्यान बचाउनै मुस्किल हुने गरेको बताए। ‘मेरा बुबा–आमाले पनि उपचारनै नपाएर ज्यान गुमाए, गाडी चल्दैनन्, चार दिनसम्म बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता छ’, उनले भने, ‘गाउँमा बिरामीको ज्यान बचाउनै मुस्किल हुन्छ।’

चौकुने गाउँपालिका १ साँताकी रत्ना कठायत महिला स्वास्थ्य स्वयम्सेवीका हुन्। उनी पुरुषलाई भन्दा महिलालाई गाउँमा झन् समस्या रहेको बताउँछिन्। ‘यहाँका अधिकांश महिलामा पाठेघरसम्बन्धी समस्या छ, तल्लो पेट दुख्ने समस्या नभएको घर नै छैन’, उनले भनिन्, ‘उपचार गराउने नजिकमा ठाउँ नहुँदा समस्या दबाएरै बस्नु यहाँका महिलाको बाध्यता हो।’

चौकुने १ का गाउँहरूबाट गाडी चढ्न चौकुने २ को लगाम पुग्नुपर्छ। साँताबाट लगाम पुग्न पाँचदेखि सात घन्टाको समय लाग्छ। ‘बिहान ८ बजे एउटा गाडी मात्रै चल्छ, त्यो गाडी भेटाउनका लागि मध्य राति उठेर जान्छौं’, उनले गाउँको पीडा सम्झाउन खोज्दै भनिन्, ‘अब आफैं अनुमान गर्नुहोस्, गाउँमा कोही बिरामी परे ज्यान कसरी बचाउन सकिन्छ ?’ सडक राम्रो नहुँदा लगामबाट सदरमुकाम वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पताल पुग्न गाडीमै एक दिन समय लाग्छ।  

उपसेनानी डा. मोनिमा महर्जनले पाठेघर र हाडजोर्नीसम्वन्धी समस्याका बिरामी धेरै पाइएको बताइन्। ‘दुर्गम ठाउँ भएकाले धेरै जना अस्पतालसम्म आउन नसक्नुभएको पाइयो’, उनले भनिन्, ‘चेकजाँच गरेकामध्ये अधिकांश महिलामा पाठेघर र हाडजोर्नीको समस्या पाइएको छ।’ शिविरमा स्त्री तथा प्रसूति रोग, आँखासम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको थियो।  

शिविरमा आएका बिरामीलाई कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल सर्जन डा. उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. रोजी यादव, डा. दर्पण नेपाली, सुर्खेत आँखा अस्पतालका ओपिडी इन्चार्ज अरुण गुप्ताले सेवा दिएका थिए।  

प्रमुख सेनानी शैलेन्द्र सिलवालले सामाजिक सेवाअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए। ‘स्वास्थ्य सेवाको पहुँच नभएको गाउँ रोजेर यहाँ स्वास्थ्य शिविरको आयोजना गरेका हौं’, उनले भने, ‘यस्ता कार्यले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध पनि सुधार हुन्छ।’

सिलवालका अनुसार चौकुने १, २ र ३ का माथिल्लो लगाम, तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीबन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली, गहुँखाडा गाउँका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए। स्वास्थ्य शिविरमा चार सय जनाको चेकजाँच गरिएको थियो भने गम्भीर समस्या देखिएका ४० जनालाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष खड्क विकले दुर्गम गाउँमा सेनाले पहिलोपटक शिविर चलाएको बताए। ‘सुरुमा हामीले गाउँमा जानकारी गराउँदा यस्तो दुर्गम ठाउँमा पनि सेना आएर शिविर चलाउला र भन्दै प्रश्न गर्थे’, उनले भने, ‘सेना नै आएर शिविर चलाएपछि यहाँका सबै नागरिक खुसी भएका छन्।’ शिविर सञ्चालन गर्न श्री ज्योति फाउन्डेसन, स्वास्थ्य महाशाखा, कर्णाली प्रदेश अस्पताल, सुर्खेत आँखा अस्पताल र नम्वर ४ फिए गुल्मले सहयोग गरेका थिए।

प्रकाशित: ९ पुस २०८० ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App