२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनियाँविरुद्ध निःशुल्क खोप

ललितपुर महानगरले नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने तयारी गरेको छ। महानगरका प्रवक्ता राजु महर्जनका अनुसार खोप खरिदको लागि बोलपत्र आह्वान भएको छ।

जाडो महिनामा जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाँको जोखिमबाट बचाउनको लागि निमोनियाँ विरुद्धको खोप दिन लागेको ललितपुर महानगरकी स्वास्थ्य शाखाकी प्रमुख सरिता महर्जनले बताइन्। उनका अनुसार यो वर्ष २४ सय जना ज्येष्ठ नागरिकलाई खोप तयारी भएको छ। कोभिड १९ पछि निमोनियाँ विरुद्धको खोपको बढी माग भएका कारण उत्पादक कम्पनीमै खोप कम हुँदा समयमै खोप ल्याउन नसकेको उनको भनाइ छ। ‘जाडो महिना सुरु नहुँदै दिनु पर्ने हो, खोप  सुरुमै लिन सकेनौ’ उनले भनिन्। खोप लिनको लागि मङ्गलवार टेन्डर प्रक्रिया सकिएको छ।

२०७७ साल देखि ज्येष्ठ नागरिकलाई निःशुल्क दिन सुरु गरिएको यो खोप यो अवधिमा ५ हजार २ सय ५६ जनालाई प्रदान गरिसकेको छ। ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने पहिलो स्थानीय निकाय हो। खोप दिनको लागि महानगरले प्रदेश र संघीय सरकारसँग समन्वय गरेको थियो। खोप लिनको लागि हरेक वडा कार्यालयमा ज्येष्ठ नागरिकको व्यक्तिगत विवरण दर्ता हुनु पर्छ। यो प्रक्रियाबाट आएका ज्येष्ठ नागरिकलाई मात्र निःशुल्क निमोनिया विरुद्धको खोप दिन सुरु गरेको महानगरले जनाएको छ। यो खोप खुद्रा मूल्यमा ५ हजार ८ सय पर्न आउँछ। निमोनियाँको खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनियाँको सङ्क्रमणबाट बचाउन सकिने स्वास्थ्य शाखा प्रमुख महर्जनको भनाइ छ। वडामा दर्ता भएका ६८ वर्ष माथिका ज्येष्ठ नागरिकले यो निःशुल्क निमोनियाँ विरुद्धको खोप लगाउने अवसर पाउनेछन्। 

नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा, समाजमा ज्येष्ठ नागरिकले पु¥याएको योगदानको सम्मान स्वरूप ललितपुर महानगरले ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य कार्यक्रमहरू मेयर चिरिवावु श्रेष्ठको पहलमा सुरु भएको महर्जनले बताइन।

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरमै उपचार  

ललितपुर महानगरपालिकाले जारी गरेको ‘ज्येष्ठ नागरिक तथा अपांङ्गतासंग महानगर’  कार्यक्रम यो आर्थिक वर्षदेखि सुरु भएको ललितपुर महानगरपालिकाले जनाएको छ। असारको अन्तिम सातादेखि महानगरले ज्येष्ठ नागरिक तथा अपाङ्गताको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो।

हालसम्म यो कार्यक्रम यो आर्थिक वर्षभित्र महानगरपालिका भित्रका वडा नम्बर ५, ६, ७, ८, ११, १२ र १६ वडामा पुगिसकेको छ। स्वास्थ्य परिक्षणपछि औषधी सते निःशुल्क प्रदान गरेको उपमहानगरका प्रवक्ता राजु महर्जनले बताए।

यो कार्यक्रम अन्तर्गत हालसम्म २ हजार जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सेवा दिइसकेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। महानगरबाट खटेका चिकित्सक डा. शविन्द्र गैरे, नर्स,स्वयंसेवक तथा समाजसेवी सहितको टोली ज्येष्ठ नागरिकको घरमा पुगेर नसर्ने मुख्य रोगहरू दम, मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको जाँच गरिन्छ। घरमै हुन सक्ने उपचारमा औषधीको अपडेट गर्ने, थप उपचार आवश्यक भएकालाई नगरपालिकाकै पहलमा मिर्गौलाको लागि डा. क्रषि कुमार काफ्लेको सहयोगमा मेडिसिटी अस्पतालको नेफ्रोलोजी विभागमा, मुटुको समस्या भएकालाई इसिजी, हार्ट क्लिनिकको सहयोगमा इसिजी, इको गरेपछि थप उपचार आवश्यक भएमा गङ्गालाल हृदय केन्द्रमा रेफर गर्ने प्रबन्ध मिलाइएको छ।

हालसम्म ३२ सय जनाको पिसाबको परीक्षण गरेकोमा १ सय ८० जनामा पिसाबमा समस्या देखिएको, ७ सय ५०जनाको इसिजी  र ३ सय ७५ जनाको इको गरिएकोमा ८ जनामा मुटुको समस्या देखिएपछि गङ्गालाल रेफर गरिएको थियो। यो कार्यक्रम मार्फत ज्येष्ठ नागरिकलाई हुने नसर्ने रोगको व्यवस्थापनमा लाभ मिलेको डा. गैरेले बताए। ‘सबैको घरमा हेरचाह गर्ने मानिस हुँदैनन्, यो कार्यक्रमले लाभ मिलेको छ’ उनले भने।

घरमै आवश्यक नमुना संकलन गरेपछि रिपोर्ट तथा उपचार औषधीको रेकर्ड डिजिटल प्रणालीमा संकलन गरी राख्ने व्यवस्था समेत मिलाएको महानगरका डा.गैरले बताए। ‘ज्येष्ठ नागरिक र अपाङ्गतासँग महानगर’ कार्यक्रम अन्तर्गत नै महानगरले हरेक दसैँमा १० हजार रुपैयाँ वितरण गर्दै आएको छ।

प्रकाशित: २७ मंसिर २०८० ०७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App