८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भरतपुरमा भयावह गर्भवती शल्यक्रिया

४४ प्रतिशत शिशु शल्यक्रियाबाटै जन्मन्छन्

भरतपुर महानगरपालिका ४ का सन्तोष लामाकी श्रीमतीलाई चिकित्सकले मंसिर १० गते सुत्केरी हुने समय दिए। चिकित्सकले दिएको समयमा व्यथा नलागेपछि उनी श्रीमतीलाई लिएर मंसिर ११ गते भरतपुर अस्पताल आए। अस्पताल आएको तीन दिनसम्म पनि सुत्केरी व्यथा लागेन। चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिए। मंसिर १४ गते शल्यक्रियामार्फत उनले छोरीको जन्म दिएकी छन्।

‘मेरो पहिलो बच्चा हो। डाक्टरको सल्लाहअनुसार शल्यक्रिया गर्नुपरेको छ,’ औषधी लिएर प्रसूति वार्डमा आएका लामाले भने, ‘छोरी स्वस्थ छिन्। अप्रेसन गरेको ठाउँमा रगत जमेर श्रीमतीको तीन पटकसम्म टाँका फुकाउँदै रगत झिक्नुपरेको छ।’ सुत्केरी भएको ११ दिनसम्म उनी अस्पतालमै छिन्। घर फिर्तीबारे उनलाई थाहा छैन।

यी महिला प्रतिनिधि पात्र मात्रै हुन्। भरतपुर अस्पताल प्रसूति विभागका प्रमुख सुनिलमणि पोख्रेलका अनुसार शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको संख्या बढ्दो छ। भरतपुर अस्पताल रिफरल अस्पताल भएकाले पनि शल्यक्रिया गर्नुपर्ने उनले बताए। ‘यहाँ बाहिरी जिल्लाबाट केस आउँछन्,’ उनले भने, ‘५० प्रतिशत त रिफरल केस नै हुन्छन्।’

उच्च प्रेसर र गाह्रो भएपछि अन्य अस्पतालले भरतपुर अस्पतालमा पठाउने गरेको उनले बताए। उनले सामान्य अवस्थामै बच्चा जन्माउन प्रेरित गर्ने बताए। सम्पन्न परिवारका महिला प्रसव पीडा खप्न नपरोस् भनेर शल्यक्रिया गरी शिशु जन्माउन चाहने बढी रहेका उनको भनाइ छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बढीमा १० प्रतिशतले शल्यक्रियामार्फत शिशु जन्माउनु सामान्य मानिन्छ। तर, भरतपुर अस्पतालमा भने ४४ प्रतिशत शिशुको जन्म शल्यक्रियामार्फत गरिन्छ। ‘यहाँ दैनिक ३० देखि ३५ जना सुत्केरी हुन्छन्,’ प्रसूति विभाग प्रमुख पोख्रेलले भने, ‘दैनिक १२ देखि १५ जनाको शल्यक्रिया हुन्छ।’

अस्पतालमा विभिन्न कारणले शल्यक्रियामार्फत शिशु जन्माउने महिलाको संख्या बढेको देखिन्छ। पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष शल्यक्रिया गर्ने महिलाको संख्या लगातार बढिरहेको छ। पाँच वर्षअघि शल्यक्रियामार्फत शिशु जन्माउने २८ प्रतिशत रहेकोमा अहिले बढेर ४४ प्रतिशत पुगेको अस्पतालका तथ्यांक शाखा प्रमुख नारायण रिजालले जानकारी दिए।

अस्पतालमा आर्थिक वर्ष २०७६-७७ मा १२ हजार ६ सय ३२ जना सुत्केरी भएकोमा तीन हजार ६ सय ३३ जनाको शल्यक्रिया भएको छ। यो तथ्यांक २८ दशमलव ७६ प्रतिशत हो। यो वर्ष आठ हजार सात सय १० जनाको प्राकृतिक गर्भधारण भएको थियो। त्यसपछिको आर्थिक वर्ष २०७७-७८ मा ६ प्रतिशतले बढेर ३४ दशमलव ९२ प्रतिशत पुग्यो। यो वर्ष नौ हजार नौ सय ७० जना सुत्केरी हुँदा तीन हजार तीन सय ९९ जनाको शल्यक्रिया भएको थियो।

आर्थिक वर्ष २०७८-७९ मा प्रतिशतमा शल्यक्रियामार्फत शिशु जन्माउनेको संख्या अघिल्लो वर्षसरह नै छ। यो वर्ष बाह्र हजार दुई सय २१ जना सुत्केरी हुँदा चार हजार दुई सय आठ जनाको शल्यक्रिया भएको देखिन्छ। आर्थिक वर्ष २०७९-८० मा यो दर बढेर ४० दशमलव ४४ प्रतिशत पुगेको छ। यो आर्थिक वर्ष ११ हजार आठ सय ९४ जना सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया भएको छ।

चालु आर्थिक वर्षको चार महिनामा ४४ दशमलव १२ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत शिशुको जन्म दिएका छन्। कात्तिक महिनासम्ममा तीन हजार सात सय ९८ सुत्केरी भएकोमा एक हजार ६ सय ७६ जनाको शल्यक्रिया भएको रिजालले जानकारी दिए।

‘प्राकृतिक गर्भधारण’ स्वास्थ्यका लागि राम्रो मानिन्छ। लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्रियाबाट बच्चा जन्माउने महिलाको संख्या बढेको बालरोग विशेषज्ञ डा. युवानिधि बर्सौलाले बताए।

‘तथ्यांक हेर्ने हो भने २५ देखि ३० प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माउँछन्,’ उनले भने, ‘यो प्रवृत्ति राम्रो होइन। निजी अस्पतालमा चिकित्सकले नै पैसाका लागि शल्यक्रिया गर्न जोड दिन्छन्। कति परिवारले पनि दबाब दिन्छन्।’

ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रका गर्भवती महिलाले शिशुलाई जन्म दिन प्राकृतिकभन्दा शल्यक्रिया नै रोज्ने गरेको उनले बताए। ‘ग्रामीण भेगका महिलाले प्राकृतिक प्रक्रियाबाटै बच्चा जन्माउने तर सहरमा सुविधायुक्त अस्पताल हुने हुनाले लामो समयसम्म पीडा सहन नपरोस् भनेर सहरी क्षेत्रका महिलाले बच्चा जन्माउँदा शल्यक्रिया नै रोजेको पाइन्छ,’ उनले भने।

प्राकृतिक गर्भधारण महिलाको स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सक पोख्रेलले बताए। ‘नर्मल डेलिभरी हुँदा आमा छिटो हिँड्न सक्छन्। घाउ हुने भएन। अस्पताल धेरै बस्न परेन। एन्टिबायोटिक दिन परेन। आमाले बच्चाको केयर छिटो गर्न सक्छन्।

फेरि अर्को शल्यक्रिया गर्न परेन,’ उनले भने, ‘शल्यक्रिया हुँदा आमाको स्वास्थ्यसमेत जोखिम हुन्छ। शल्यक्रियाले स्वभावतः प्राकृतिक गर्भधारणजस्तो सहज हुँदैन । त्यसैले गर्भावस्थामा जरुरी अवस्थाबाहेक शल्यक्रिया गर्नुहुँदैन ।’

उनले शल्यक्रियामार्फत शिशु जन्माउँदा आमाको मृत्युदर बढ्ने बताए। विश्वमा एक लाख जनामा एक सय ५१ जना आमाको मृत्यु सुत्केरी हुने क्रममा हुन्छ। नेपालमा सुत्केरी हुँदा मृत्यु हुने दर भने बढी रहेको उनले बताए।

प्राकृतिक गर्भधारणतर्फ आकर्षित गर्न अस्पतालले बर्थिङ स्विट्सको व्यवस्था गरेको उनले बताए। जोखिम कम भएका गर्भवतीलाई मध्यनजर गर्दै बर्थिङ स्विट्स रुमको व्यवस्था गरिएको उनले बताए। उनका अनुसार त्यहाँ पारिवारिक वातावरणमा सुत्केरी हुने व्यवस्था गरिएको छ। जहाँ श्रीमान् वा अन्य सदस्य पनि बस्न मिल्ने व्यवस्थाका साथै म्युजिक, भ्याकुमलगायतका सामग्री राखिएको छ।

भरतपुर अस्पतालमा गत वर्ष सुत्केरी हुने क्रममा पाँच जनाले ज्यान गुमाए। शिशु जन्माउने क्रममा एक र बच्चाको जन्म दिएपछि चार जनाको मृत्यु भएको अस्पतालको तथ्यांकमा उल्लेख छ। यस्तै चालु आर्थिक वर्षको चार महिनामा २६ शिशुको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७९-८० मा एक सय चार शिशुको मृत्यु भएको थियो। सो वर्ष जन्म भएपछि १६ र गर्भधारणका क्रममा ८८ शिशुको मृत्यु भएको अस्पतालको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २७ मंसिर २०८० ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App