२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

एचआइभीको सुरुमै नियमित औषधी सेवन गरे एड्स लाग्दैन

नेपालमा प्रति वर्ष ३ सय ४४ जनाको एड्सबाट मृत्यु

फाइल तस्बिर

असुरक्षित यौन सम्पर्क, लागूपदार्थ सेवनकर्ताहरू बिचमा हुने सुइँ साटासाट, रक्तदानबाट प्राप्त रगत, असुरक्षित सुइँ जस्ता माध्यमबाट एचआइभी एक व्यक्तिबाट अर्कोमा सर्छ। यसरी सरेको एचआइभी सुरुमै पहिचान गर्न सकेमा एड्स लागेर कुनै पनि मानिसले मृत्यु वरण गर्नु नपर्ने  र अरु दीर्घ रोगीले जस्तै लामो जीवनयापन गर्न सक्छन्। तर यी कुरामा ख्याल नगर्दा धेरै एचआइभी सङ्क्रमितहरू एड्स लागेर मृत्युवरण गर्नु परेको छ।

राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याकं अनुसार प्रति वर्ष ३ सय ४४ जनाको एड्सबाट मृत्यु हुने गर्छ। विज्ञका अनुसार कुनै पनि संक्रमितमा सुरुमा एचआइभी भाइरसको संक्रमण हुन्छ। तर समयमै उपचार नगरेमा त्यो भाइरस बढ्दै गएर एड्सको अवस्थामा पुग्छ। यो पुग्ने प्रक्रिया पहिलो,दोस्रो, तेस्रो हुँदै चौथो चरणमा पुगेपछि एड्सको अवस्थामा पुग्छन्। जुन अवस्थामा भाइरस सपे्रशन(दवाव) विरुद्धको औषधीले पनि लाभ मिल्दैन र मृत्यु हुन पुग्छ।

एचआइभी संक्रमितहरुमा ज्वरो आउने, तौल घट्ने, झाडापखाला लाग्ने सुरुका लक्षण हुन् भने यी लक्षण साथै विभिन्न अवसरवादी रोग लाग्नु एड्सको चरणको लक्षणहरू हुन्। सुरुका लक्षण हुने बित्तिकै  एचआइभी जाँच गरी पहिचान भएमा औषधी सेवन गर्नु पर्ने चिकित्सक सुझाउँछन्। 

समयमै एचआइभी पहिचान नहुनु,थाहा भएपछि नियमित औषधी सेवन नगर्नु, औषधी सुरु गरेपनि ठिक भइसक्यो भनेर बिचैमा औषधी छोड्ने जस्ता कारणले एचआइभी सङ्क्रमितहरू  एड्सको चरणमा पुग्छन्। एचआइभी संक्रमितहरुको लागि एआरभी –एन्टीरेट्रोभाइरल ) औषधी नियमित सेवन गर्नु पर्छ। यो औषधीले शरीरमा रहेको एचआइभी भाइरसलाई दबाएर राख्छ र भाइरस सक्रिय हुन पाउँदैनन्। नेपालमा अहिले पनि सामाजिक लाञ्छना, लाज,घृणा जस्ता कारणले जोखिम व्यक्तिहरू समयमै एचआइभी जाँच गर्न जाँदैनन। खुल्ला सिमाना,वैदेशिक रोजगारी,सामाजिक लाञ्छना, भेदभाव, घृणा नेपालमा एड्स नियन्त्रण अहिले पनि मुख्य चुनौती बनेको राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डे बताउँछन्।

पाण्डेका अनुसार विदेशमा गएका व्यक्तिले एचआइभी विरुद्धको औषधी पाउँदैनन्। नेपालमा औषधी लिएर गएका पनि सकिएपछि बिचैमा छोड्न बाध्य हुन्छन्। वैदेशिक रोजगारीमा हुनेको पनि ढिला गरी पहिचान हुँदा नै एड्स भइसकेको हुन्छ। यी चुनौतीको कारण सरकारले सन् २०२३ सम्ममा एड्स नियन्त्रण गर्ने लक्ष्य चुनौती बनेको छ। 

तथ्याकं अनुसार नेपालमा कुल ३० हजार संक्रमित मध्येमा २४ हजार ५ सय मात्र  एचआइभी संक्रमितहरुले नियमित रुपमा एआरभी सेवन गरिरहेका छन्। ती मध्येमा कुल ५ हजार  ५ सय उपचार बाहिरै रहेको केन्द्रले जनाएको छ। नेपाल सरकारले सन् २०२६ भित्रमा नेपालमा ९५ प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो अवस्थाबारे थाहा पाउने, ९५ प्रतिशत सङ्क्रमितहरू एआरभी औषधीको पहुँचमा हुने र औषधी सेवन गरेका ९५ प्रतिशतमा भाइरसको भार कम भएको अवस्थामा पु¥याउने लक्ष्य लिएको छ।

नेपालमा सन् २०१० देखि २०२२ को अन्त्यसम्ममा एचआइभी संक्रमणदर ७७ प्रतिशत घटेको छ। त्यसैगरी ८० प्रतिशत एड्सबाट हुने मृत्यु घटेको छ। हाल विद्यमान एड्सबाट हुने मृत्यु नियन्त्रण यो ३६ औ विश्व एड्स दिवसको अवसरमा ‘ समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारा अघि सारेको छ । उक्त नारालाई आत्मसाथ गर्दै एड्स नियन्त्रण कार्यक्रममा समुदायलाई सहभागी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अपिल गरे। दिवसकै अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहालले एड्सबाट मृत्यु हुनेहरू प्रति दुःख व्यक्त गर्दै एचआइभी संक्रमितहरुलाई स्वास्थ्य यापनको कामना गर्दै सबैलाई यो अभियानमा सरिक हुन अपिल गरेका छन्।

प्रकाशित: १५ मंसिर २०८० १४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App