२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

आज विश्व एड्स दिवस, नेपालका १३ सयभन्दा बढी बालबालिका एचआइभी सङ्क्रमित

आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष डिसेम्बर १ तारिखका दिन मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सलाई अन्त्य गरौं’ तय गरिएको छ।

३५ औँं विश्व एड्स दिवसको अवसरमा नेपाल सरकारले विभिन्न सचेतना मुलुक कार्यक्रमको आयोजना गरेको छ।

यस वर्षको विश्व एड्स दिवसको नाराको मूख्य उद्देश्य विश्वव्यापी रुपमा एड्सलाई अन्त्य गर्न समुदायलाई नेतृत्व प्रदान गरी उनिहरूलाई नै सहभागि गराउनु रहेको छ। अर्थात् यस वर्षको विश्व एड्स दिवसको नाराले विगतका वर्षहरूमा देखिएको एचआइभी/एड्सबाट सङ्क्रमित तथा मृत्युको भयावह स्थितिलाई ध्यानमा राखी सन् २०३० सम्ममा विश्वबाटै एड्सलाई अन्त्य गर्न समस्त समुदायलाई अगाडि सार्ने सन्देश दिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२२ को अन्त्यसम्म विश्वभर एचआईभीबाट ३ करोड ९० लाखजति सङ्क्रमित भएका छन्। तीमध्ये ३ करोड ७५ लाख १५ वर्षमाथिका वयश्क छन् भने १ करोड ३० लाख नयाँ सङ्क्रमित रहेका छन्। जसमा झण्डै २ करोड ९० लाख एड्सको उपचार सुविधा पाएका छन् भने ६ लाख ३० हजारजति एड्ससँग सम्बन्धित स्वास्थ्य समस्याबाट मृत्यु भएका छन्, तीमध्ये १ लाख ५० हजार जन्मेदेखि १४ वर्षसम्मका बालबालिकाको समेत मृत्यु भएको छ।  

स्वास्थ्य सेवा विभागको २०७७/७८ को प्रतिवेदन अनुसार नेपालका ३१ हजारभन्दा बढी तथा १४ वर्षसम्मका १ हजार ३ सयभन्दा बढी बालबालिका एचआइभी सङ्क्रमित व्यक्तिले जीवन यापन गरिरहेको अनुमान गरिएको छ। 

नेपालमा सबैभन्दा बढी सङ्क्रमितमध्ये १५ देखि ४९ वर्ष उमेरका झण्डै ७२ प्रतिशत पाइएका छन्। नेपालका १५ वर्षदेखि ४९ वर्षसम्मका वयश्कमध्ये ०.१२ प्रतिशत नयाँ तथा पुराना एचआईभी सङ्क्रमित भएका छन्। सुदूरपश्चिममा ३ वर्षमा २ सय २६ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। १९ हजारभन्दा बढी एचआइभी/एड्स पीडित व्यक्तिले औषधि एन्टिरेट्रोभाइरल  सेवन गरिरहेका छन्। २०७७/७८ मा नेपालमा यौनरोगका बिरामीको संख्या १२ हजारभन्दा बढी छ भने झण्डै ३४ हजार एचआइभी/एड्स पीडितले एन्टिरेट्रोभाइरल थेरापी सेवन गरिरहेका छन्।

मानवको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने जिवाणु (ह्युमन इम्युनी डेफिसेन्सी भाइरस) कुनै माध्यमबाट शरीरमा प्रवेश गरेमा रगतमा यसको बृद्धि विकास हुनु नै एचआइभी सङ्क्रमण हो। एचआइभीले मानव शरीरको रोगसँग लड्नसक्ने क्षमतालाई कमजोर बनाउदै लगेपछि जुनसुकै रोगले पनि आक्रमण गरी रोगी तुल्याउन सक्ने अवस्था नै एड्स हो।

प्रकाशित: १५ मंसिर २०८० ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App