१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ढिला उपचारले आँखामात्र होइन, ज्यानै जानसक्छ

काठमाडौं- कुनै कारणले आँखा रातो भएको छ ? आँखा दुखेको छ ? या आँखामा पीडा भएको छ ? अलिकति पनि ढिला नगरी राम्रो आँखा अस्पतालमा जानुहोस् ।  ढिला भएमा आँखामात्र हैन, ज्यानै गुम्ने खतरा हुन्छ ! बर्सेनि तराई र विकट जिल्लाका आँखा बिरामीहरू ढिला उपचारमा पुग्दा यस्ता समस्या झेलिरहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ ।  

आँखाका जटिल बिरामीमा आँखाको गेडा, पर्दा, दृष्टिनशा, आँसु ग्रन्थीलगायतका अंगहरूको क्यान्सर भएका, क्यान्सर भएर शरीरभरि फैलिसकेको रोगीहरू पर्छन् ।

अस्तालको तथ्यांकअनुसार तराई तथा विकट जिल्लाकाहरू आँखाका जटिल समस्या लिएर मात्र उपचारका लागि तिलगंगा अस्पताल पुग्ने गर्छन् । तराईबाट मात्र दैनिक औसत ५ जना आँखाका गम्भीर बिरामी आउँछन् । जन्मजात आँखाको क्यान्सर भएका सहित उपचारका लागि अयोग्य हुने अवस्थाका वर्षमा  सयजना उपचारमा आइपुग्छन् ।
‘कतिपयको आँखा निकालेर बचाउँछौं, कतिको आँखाको क्यान्सर शरीरभरि फैलिसकेको अवस्था हुन्छ र ज्यानै गुमाउन पुग्छन्,’ अस्पतालका अल्थोमा प्लास्टिक सर्जन डा. रोहित सैंजुले भने ।
आँखाका जटिल बिरामीमा आँखाको गेडा, पर्दा, दृष्टिनशा, आँसु ग्रन्थीलगायतका अंगहरूको क्यान्सर भएका, क्यान्सर भएर शरीरभरि फैलिसकेको रोगीहरू पर्छन् ।
रूपन्देहीका ४० वर्षीय सुमन थापाले (नाम थर परिवर्तन) ढिलागरी उपचारमा पुगेकै कारण आँखा गुमाउनुप¥यो  । उनको आँखाको क्यान्सरका कारण एउटा आँखा नै निकालेर उपचार गर्नुपरेको थियो ।  सोही समस्या भएर आएका हुन् धनगढीका ५० वर्षीय दुःखीराम चौधरी (नाम परिर्तन) यी दुवै पात्रका लागि आँखाको उपचार अयोग्य भयो । उनको पनि आँखाको क्यान्सर भएको थियो ।
थाइराइडका कारण आँखाको दृष्टिनशामा क्यान्सरले दृष्टि गुमेको थियो । रगतमा हर्मोनको तह कम भएकाले शल्यक्रिया गर्न मिलेन । उनको शल्यक्रिया गरेर क्यान्सर लागेको अंग निकाल्नुपर्ने थियो ।
बुधबार नै मुगुका २४ वर्षीय थमन शर्मा (नाम थर परिवर्तन) उपचारका लागि तिलगंगा पुगेका छन् । चिकित्सकका अनुसार उनको आँखाको गेडोको बीचको पत्रमा क्यान्सर भएको हो । उनले पनि दृष्टि गुमाउनुपर्छ नै । आँखा निकालेर नयाँ कृत्रिम आँखा राख्नुपर्छ ।  ‘शरीरका अन्य भागमा नफैलिएकाले उनको आँखामात्र निकाले पुग्छ ।
उनीहरू ढिलागरी उपचारमा पुगेकै कारण यस्तो नियति झेल्नुपरेको डा. संैजुले बताए । तराई र विकटका जिल्लाकाहरू आँखामा सुरुको अवस्थामा देखिने सानातिना उपचारमा बेलैमा ध्यान नदिने, स्थानीय औषधि पसलको औषधिका भरमा पर्ने तथा उपयुक्त अस्पतालमा नपुग्ने प्रवृत्ति र बिरामी आफ्नै लापरबाहीका कारण अन्तिम अवस्थामा मात्र उपचारमा पुगेको सैंजु बताउँछन् । विशेषगरी तराईबाट विपन्न आदिवासी, जनजाति तथा दलित समुदायकाहरू ढिला उपचारमा आउने गरेकामा बढी संख्यामा हुने गरेको उनको भनाइ छ । ‘धेरैजसो उपचारमै जाँदैनन् , गइहाले पनि ठीक अस्पताल पुगेका हुँदैनन्’ उनले भने ।
चिकित्सकका अनुसार तराईका पिछाडिएका समूहमा रोगप्रतिको चेतना कम हुनु, तराई तथा विकटका आँखा अस्पतालहरू आँखाको सामान्य उपचार गर्ने तहका हुनु र उचित स्वास्थ्य संस्थामा सिफारिस गर्ने चलनको कमीले पनि यी क्षेत्रका बिरामीहरू ढिलो उपचारमा पुगेका हुन् । ‘तराईकाहरू धेरै ठाउँमा देखाउँदै भौतारिन्छन्, समयमा आउँदैनन् । उपचार सम्भव नहुने अवस्थामा आइपुगेका हुन्छन्,’ डा.सैंजुले भने ।  आँखाको नानीमा घाउ भएर पनि  समयमा उपचार नगराउनु, राम्रो उपचार नहुँदा र ढिलो उपचार हुँदा आँखाको रोग जटिल बन्नेगर्छ । ‘आँखाभरि टन्न पिप भरिएको अवस्थामा आइपुग्छन्, पिप भरिनु भनेको आँखा नष्ट नै भइसकेको अवस्था हो,’ उनले भने ।
चिकित्सकका अनुसार आँखाको क्यान्सर शरीरका अन्य भागमा हुने क्यान्सरजस्तै शरीरको कोषमा वृद्धि भई असामान्य रूपमा बढेको मासुको डल्लो हो । जिनमा आउने असन्तुलनका कारण यस्ता कोषहरू वृद्धि हुन्छन् । जिनको कोषमा गडबडी हुँदा अनियन्त्रित भई शरीरका विभिन्न अंगहरू फोक्सो, कलेजो, मिर्गौला, रगतजस्ता अंगको क्यान्सर हुन्छन् । ती अंगबाट सुरु भएका क्यान्सर शरीरका अन्य भागमा समेत फैलिन्छन् । चर्को घाम, विकीरण, रासायनिक पदार्थको सम्पर्क हुने कार्सिनोजोनजन्य खानेकुराको सेवन गर्नाले पनि क्यान्सर हुन्छ ।
आँखा रातो हुनु, आँखामा सानातिना घाउ देखिनु, आँखाले उज्यालो हेर्न कठिन हुनु, आँखाको दृष्टि कम हुने जस्ता लक्षण देखिएमा आँखाको जटिल रोग सुरु भएको लक्षण भएकाले यी लक्षण देखिने बित्तिकै राम्रो आँखा अस्पतालमा उपचारका लागि जानुपर्ने चिकित्सकको सुझाव छ । यी लक्षणबाहेक आँखामा कुनै सानो या ठूलो चोटपटक लाग्ने बित्तिकै उपचारमा जाँदा आँखाको जटिल रोगबाट बच्न सकिन्छ । मुख्य त नियमित राम्रो आँखा अस्पतालमा आँखा जाँच गर्नु नै आँखाको कुनै पनि रोगबाट बच्ने उपाय भएको चिकित्सक सुझाउँछन् ।

आँखाको क्यान्सरका लक्षणहरू

– आँखाकाको डिल वरिपरि खटिरा आउनु
– आँखा वरिपरिका खटिराहरू लामो समय निको नहुनु
– आँखामा मासुका डल्लाहरू असमान्य रूपमा बढ्नु
–आँखाको डल्लो आफै बाहिर आउनु
– आँखाको दृष्टि कम हुनु ।

 

प्रकाशित: १६ पुस २०७४ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App