२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भूकम्पपछि स्वास्थ्य चौकीमा बिरामीको भीड

जाजरकोटको बारेकाट गाउँपालिका–१ को रामीडाँडा स्वास्थ्य चौकीमा आजभोलि बिरामीको भीड लाग्छ। अरू बेला दिनमा चार–पाँच जना विरामीहरू स्वास्थ्य चौकीमा आउँथे। आज–भोलि दिनमै ५० जनाभन्दा बढी बिरामी स्वास्थ्य चौकीमा आउँछन्। ‘उपचारका लागि आउने अधिकांशमा ज्वरो आउने, वान्ता हुने समस्या देखिएको छ,’ स्वास्थ्यकर्मी सपना बुढाले भनिन्, ‘दैनिक बिरामीको संख्या यसैगरी बढ्न थाले हामीलाई थेग्न गारो हुने अवस्था छ।’

रामीडाँडा भूकम्पको केन्द्रबिन्दु हो। यहाँ अत्याधिक चिसो छ। लेकतिर हिउँ परिरहेको छ। भूकम्पले घर भत्किएर बारीको बास भएपछि स्थानीय बिरामी हुन थालेका हुन्। रामीडाँडाकी कमला ज्योति स्वास्थ्य चौकीमा कार्यालय सहयोगी छिन्।

भूकम्पले घर भत्काएपछि उनको पाँच जनाको परिवार पालमुनि छ। अत्याधिक चिसोमा पालमुनि बासले पूरै परिवार थलिएको छ। सबै थलिएपछि खाना पकाएर दिने मानिस पनि उनको परिवारमा छैनन्। ‘त्रिपालमुनि सुत्दा माथिबाट सित झर्छ, ओछ्याउने र ओढ्ने प्रयाप्त कपडा छैनन्,’ उनले भनिन्, ‘यहाँ म र मेरो परिवार मात्रै होइन् सबै बिरामी छन्।’

चिसोले सुत्केरी, गर्भवती, बालबालिका र वृद्धवृद्धा मारमा परेका छन्। स्वास्थ्यकर्मी बुढाले बिरामीको संख्या बढ्दै गएकाले औषधि र स्वास्थ्यकर्मीको तत्काल व्यवस्था गर्नुपर्ने बताइन्। ‘चिसोका कारण वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती बढी प्रभावित भएका छन्, सिंगो गाउँनै थलिने अवस्था छ,’ उनले भनिन्, ‘समयमै स्वास्थ्यकर्मी र औषधिसहित हेल्थ डेक्स राख्न आवश्यक छ।’ उनले अहिले स्वास्थ्य चौकीमा रहेको औषधिका एक–दुई दिनलाई धान्ने बताइन्।

कुशे गाउँपालिकाको उपल्लो भाग धनराशिमा पनि रामीडाँडाकै अवस्था छ। स्वास्थ्य चौकी धनराशिमा बिरामीको भीड लाग्न थालेको छ। भूकम्पले गाउँका सात जना सदस्य गुमाएको यो गाउँका घाइते भएका पाँचजना अझै नेपालगञ्ज र सुर्खेतमा उपचार गराइरहेका छन्।

भूकम्पले घर गुमाएर एकसरो पालमुनि आइपुगेकाहरू अहिले झन् समस्यामा छन्। परिवारको संख्या नहेरेर सरकारले ओत लाग्नका लागि दिएको एकसरो पालभित्र एलिशा शाहीको परिवार अट्दैन। ‘सरकारले दिएको पालमुनि मुस्किलले दुई जना अटाउँछौं, मेरो परिवारमा आठ जना छौं,’ उनले भनिन्, ‘भूकम्पले कोही घाइते भएर हेलिकोप्टरले नेपालगञ्ज र सुर्खेत पुर्‍याएकाहरू उपचार गराइरहेका छन्, पालमुनि भएका हामीहरू बिरामी पर्न थालेका छौं।’

प्रकाशित: १ मंसिर २०८० ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App