१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानका आन्दोलनरत शिक्षकहरूसँग तीन बुँदे सहमति, आजैदेखि काममा फर्कने

कर्मचारीसँग पनि ४ बुँदे सहमति

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विगत एक महिनादेखि आन्दोलनरत शिक्षक चिकित्सक र पदाधिकारीहरुबीच तीन बुँदे सहमति भएको छ।

प्रतिष्ठानको गेस्ट हाउसमा भएको वार्तामा पदाधिकारी र आन्दोलनरत शिक्षक चिकित्सकहरूबिच सहमति जुटेको हो। प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका मेयर हर्क साम्पाङको रोहबरमा भएको वार्तामा सहमति जुटेसँगै चिकित्सकहरू काममा फर्कने भएका छन्। अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै विगत एक महिनादेखि १७७ जना शिक्षक चिकित्सकहरू आन्दोलनमा थिए। उनीहरुले स्वास्थ्य मन्त्रीलाई भेटेर सामूहिक राजीनामा समेत बुझाएका थिए। माग सम्बोधन हुने गरी सहमति भएकोले आजैका मितिबाट काममा फर्कने शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए। शिक्षकहरूले पठनपाठन, परीक्षा र उपचार सेवा छोडेर आन्दोलनमा थिए । जसले उपचार सेवा प्रभावित भएको थियो।

हिजो आइतबार पनि साँझ साढे ६ बजेदेखि पदाधिकारी र आन्दोलनरत शिक्षकहरूबिच वार्ता भएको थियो। मेयर साम्पाङको उपस्थितिमा राती २ बजेसम्म वार्ता भएपनि सहमति पत्रमा हस्ताक्षर भएको थिएन। आन्दोलनको कारण पठनपाठन र परीक्षाबाट वञ्चित हुनुपरेका विद्यार्थीहरू वार्ता स्थलमा धर्नासमेत बसेका थिए। सोही वार्ताको निरन्तरता सोमबार (आज) बिहान पुनः ८ बजेदेखि भएको थियो।

प्रतिष्ठान रजिस्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले नियमावलीको सुनिश्चितताबारे लोकसेवा आयोगबाट स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय हुँदै प्रतिष्ठानमा नियमावली आएकोले गाँठो फुकिएको बताए। आइतबार रातीको वार्तामा मन्थन गर्दा समय लागेकोले निचोडमा पुग्न ढिलाई भएको र नियम, कानुन बमोजिम कानुनी सल्लाहकारसँग राय लिनुपर्ने भएकोले केही ढिलाई भएको डा.संग्रौलाले बताए। कर्मचारीहरूको मागबारे पनि सोही प्रक्रिया अनुसार जाने उनले बताए। ‘जुन प्रक्रिया शिक्षकहरूको भएको छ, त्यही प्रक्रिया कर्मचारीहरूको हकमा पनि लागु हुन्छ,’उनले भने।

वार्तामा भएको सहमति अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भएको शिक्षकको प्रस्तावित नियमावली २०७९ को मस्यौदालाई प्रतिष्ठानका शिक्षक कल्याण समाजलाई ७ दिन समय सीमा दिएर सुझाव संकलन गर्ने उल्लेख छ। साथै, सुझाव समावेश सम्बन्धमा आवश्यक प्रक्रिया अवलम्बन गरी उक्त नियमावली मस्यौदा प्रतिष्ठानको कार्यकारिणी समितिको सिफारिससहित सञ्चालक परिषदमा स्वीकृतिको लागि पेश गर्ने तथा शिक्षकहरूको स्थायी बढुवाका लागि २०७९ पुष २० गते र माघ २५ गते करार सेवाका लागि प्रकाशित विज्ञापन बमोजिम आवश्यक प्रक्रिया पुर्‍याई अन्तर्वार्ता हुन बाँकी रहेका शिक्षक पदहरूको अन्तर्वार्ता आगामी पुष २ गते सुरु गरी पुष १५ गतेसम्म सम्पन्न गर्ने सहमति भएको छ।

अन्तर्वार्ता सम्पन्न भएपश्चात् एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बस्न पहल गरी नतिजा प्रकाशन गर्ने पनि सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा आन्दोलनको कारण प्रतिष्ठानको व्यवस्थापनले शिक्षक समाज, समाजका सदस्य र कुनै पनि शिक्षकप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिबाट स्थगन गरेर आआफ्नो काममा संलग्न हुने पनि उल्लेख छ।

यसैबिच, कर्मचारीहरूको बढुवा प्रक्रिया सुचारु गर्नेबारे पनि पदाधिकारीहरूले ४ बुँदे सहमति गरेका छन्। करार सेवाका कर्मचारीहरूको अन्तर्वार्ता मंसिर १ गतेदेखि सुरु सुचारु गरी मंसिर महिनाभित्रै सम्पन्न गर्ने सहमति पत्रमा उल्लेख छ।

प्रकाशित: २० कार्तिक २०८० ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App