८ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

महानगरमै भेटियो कुपोषित बालबालिका

विराटनगर महानगरपालिकाको ४ वटा वडामा कुपोषित बालबालिका फेला परेका छन्। विराटनगर महानगरपालिकाले आयोजनामा गरेको बाल स्वास्थ्य विशेष कार्यक्रमअन्तर्गत गरिएको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।

महानगरले ५ वर्षमुनिका १२, १४ १८ र १९ नम्बर वडाका १ हजार ५ सय बढी बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा ७० जना कुपोषण भएको भेटिएका छन्।

स्वास्थ्य शिविर सबै वडामा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले कुपोषित बालबालिकाकाे लागि पोषण प्याकेज कार्यक्रम सञ्चालन गरेको छ। पोषण प्याकेज कार्यक्रमअन्तर्गत चामल, दाल, भटमास, अण्डा, दूध र फलफूल प्रदान गरेको छ।

कुपोषित बालबालिकाका लागि निःशुल्क उपचारको पनि व्यवस्था गरिएको छ। उपचारका लागि कोशी अस्पतालमा पहिलो चरणमा पठाइने र त्यहाँ निको नभएमा विराटनगरकै एक निजी अस्पतालमा उपचारको व्यवस्थापन मिलाएको बताइएको छ।

महानगरपालिका क्षेत्रभित्र कुपोषित अर्थात् पोषणयुक्त खाना नपाएर वृत्ति विकास हुन नसकेका बालबालिकाको पहिचान र खोजी कार्यका लागि बाल स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन गरेको बताउँदै, महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले भने, ‘महानगर भन्ने बित्तिकै सबै बासिन्दा सम्पन्न छैनन्। महानगरको विभिन्न भागमा गरिब, आर्थिक अवस्था कमजोर भएकाहरू पनि बस्दछन् । उनीहरूको आर्थिक अवस्थाले गर्दा सबैले पोषणयुक्त खाना र बालबालिका मैत्री वातावरण नहुँदा कुपोषित हुन परेको हो।’

उनले महानगर क्षेत्रभित्र विभिन्न किसिमका स्वास्थ्य कार्यक्रम अझ महिला र बालबालिकाका लागि विशेष योजना बनाएर अघि बढेको बताए। अहिले महानगरका सबै वडामा बाल स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन गरेर त्यहाँ रहेका बालबालिका स्वास्थ्य अवस्थाबारे जान्ने र खोज्ने काम गर्न थालेको बताउँदै, महाशाखा प्रमुख अलीले भने, ‘सामान्य प्रकारका बिरामी भएका बालबालिकालाई त्यहाँ नै चिकित्सकले औषधि दिइने र अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बालबालिकाहरूलाई भर्ना गरेर थप उपचारको व्यवस्था मिलाएका छौँ।’

गाउँ–गाउँमा स्वास्थ्य स्वयम् सेविकामार्फत गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण, पोषयुक्ता खाना, बच्चा जन्मिएपछि आमा र बच्चाको नियमित स्वास्थ्य परीक्षण र उनीहरुले खानु पर्ने पोषणयुक्त खानाका बारेमा जानकारी गराउँदै आएको स्वास्थ्य महाशाखा प्रमुख अलीले बताए।

बालबालिकालाई लक्षित गरेर स्वास्थ्य परीक्षण गरी कुपोषित बालबालिकाहरूको खोज गर्दै उनीहरुका अभिभावकलाई पोषणयुक्त खानेकुराका साथै बालमैत्री वातावरण कसरी बनाउने जानकारी दिइने बताउँदै, अलीले भने, ‘त्यस्ता कुपोषित बालबालिकाहरूलाई निःशुल्क उपचारकाको व्यवस्था महानगरले मिलाएको छ । यस कार्यक्रममा पहिचान भई उपचारपछि केहीमा सुधार आएर अन्य बालबालिकाको जस्ता स्वास्थ्य अवस्था भएका छन्।’

१८ नम्बर वडामा भएको स्वास्थ्य शिविरमा बच्चा लिएर आएका २७ वर्षीय अरविन्दकुमार अमातले १८ महिने आफ्नो बच्चालाई देखाउँदे भने, ‘१८ महिनाको भइसक्दा पनि ५÷६ महिनाको जस्तो देखिन्छ। मेरो स्वास्थ्य स्वयंसेविका भएकाले पनि श्रीमतीलाई मासिक रुपमा विराटनगरको एक निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएको थिएँ।’ गर्भावस्थाको ८ औं महिनामा डाक्टरले बच्चाको तौल घट्दै गएको बताए। ९ महिनामा बच्चा जन्मँदा १ केजी १ सय ग्रामको जन्मिएको थियो।

बच्चा जन्मिएदेखि नै १ महिनासम्म एनआइसियूमा राखेर उपचार गरेको बताउँदै, अमातले भने, ‘खै कसरी भयो यस्तो। श्रीमतीको नियमित स्वास्थ्य परीक्षणका साथै खानेकुरा राम्रोसँगै खाएकी थिइन्। विराटनगरको सरकारी र निजी अस्पतालमा उपचार गराउँदै आए पनि सुधार भएको छैन। हप्तैपिछे अस्पताल लैजानु पर्छ। रुघाखोकी र ज्वरो आइरहन्छ। जन्मिएको एक महिनापछि मात्रै थाहा भयो बच्चाको दुवै किड्नीमा ४–४ एमएमको पत्थरी छ भनेर। आमाको दूध र थोरै घरमा बनाएको लिटो मात्रै खान्छ।’

प्रकाशित: १७ कार्तिक २०८० ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App