१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको बताएका छन्।  

नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे आयोजना गरेको कार्यक्रममा उनले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारे।

दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गरे। साथै उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको आदान–प्रदानमार्फत आयुर्वेदमा सहकार्य प्रवर्द्धन गर्न चालिएका विविध पहलबारे जानकारी गराएका थिए। यस वर्षको आयुर्वेद दिवसमा मनाइने उत्सव भारतको अध्यक्षतामा सम्पन्न जी–२० सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम’सँग मेल खाने उपप्रमुख श्रीवास्तवको भनाइ थियो।

डाबर नेपालका व्यवसाय प्रमुख हरकिरतसिंह वेदीले डाबरले नेपालबाट जडीबुटी सङ्कलन गर्न आपूर्ति शृङ्खलाको विकास गर्नाको साथै स्थानीय समुदायका लागि दिगो जडीबुटी खेती गर्ने अवसर प्रदान गरेको बताए।  

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा. श्यामबाबु यादवले नेपालमा आयुर्वेद चिकित्साको प्रमुख अङ्ग भएको बताए। साथै उनले नेपालमा यसको समृद्ध इतिहासबारे जानकारी गराए।

भारत सरकार, आयुष मन्त्रालयले सन् २०१६ देखि हरेक वर्ष धनवन्तरी जयन्ती (धनतेरस)मा आयुर्वेद दिवस मनाउँदै आएको छ। सन् २०२३ नोभेम्बर १० मा मनाइने आठौँ आयुर्वेद दिवसको नारा ‘एक स्वास्थ्यका लागि आयुर्वेद–हरेकका लागि हरेक दिन आयुर्वेद’ रहेको छ।  

स्वस्थ भविष्यका लागि एक पृथ्वी एक स्वास्थ्य भावनामा केन्द्रित रही आयुर्वेदको प्रवर्द्धनमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउन भारतीय राजदूतावासले प्रतिबद्ध रहेको जनाएको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकार, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल आयुष उद्योगका प्रतिनिधि सहभागी थिए। रासस

प्रकाशित: १७ कार्तिक २०८० ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App