१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बिजुलीले जलेको जीवन

गुल्मी इस्माका ३५ वर्षीय मोती कुमाल ६ सातादेखि कीर्तिपुर अस्पतालको आइसियुमा जीवनका लागि संघर्षरत छन् । गत भदौ दोेस्रो साता डिस जोड्न बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेपछि उनको यो हविगत भएको हो । गाउँमा विस्तारित पोलमा डिस जोड्न चढेकै बेला बिजुलीको लाइन छाडिएपछि ढलेका उनलाई स्थानीय अस्पताल हुँदै काठमाडौंको कीर्तिपुर अस्पतालसम्म ल्याइपु¥याइएको हो । करेन्टले उनका कान, घाँटी, ढाडलगायत अंग जलेका छन् । करेन्टले जलेको दायाँ हात चिकित्सकले काटेर फालेका छन् । ‘कानको प्वाल मात्र बाँकी छ, घाँटी पनि जलेको छ,’ मोतीकी पत्नी मुगा कुमालले भनिन् । यो अवधिमा उनको उपचारका लागि चिकित्सकले पटकपटक शल्यक्रिया गरिसके पनि खासै सुधार आउन सकेको छैन । उनी उठेर हिँड्न सकेका छैनन् । थप उपचारका लागि कति समय लाग्छ भन्ने पनि निश्चित छैन ।

मोती विद्युत् प्राधिकरणका ज्यालादारी कर्मचारी हुन् । त्यसकारण उनले न क्षतिपूर्ति पाउँछन् न पेन्सन र भत्ता । तर अहिलेसम्मको उनको उपचार खर्च भने प्राधिकरणले बेहोरेको मुगाले बताइन् । मुगाका काखमा आठ महिनाका छोरासहित अरू दुई सन्तान छन् ।  

मोती अपांगताको सिकार भएपछि बालबच्चाको हेरचाह र पालनपोषणको सबै जिम्मेवारी मुगाको काँधमा थपिएको छ । कमाइ गर्ने मूल खम्बा ढलेपछि उनीसामु चुनौतीको पहाड उभिएको छ । ‘अब मैले यी छोराछोरी कसरी हुर्काउनु ? हामीलाई प्राधिकरणले केही राहत दिए छोराछोरी हुर्काउँथें,’ उनले नागरिकसँग भनिन् ।  

त्यसैगरी कीर्तिपुर अस्पतालमै उपचार गरिरहेका दैलेखका १७ वर्षीय रेशम विक पनि गत भदौमा करेन्ट लागेर घाइते भएका हुन् । उनी जंगलमा बाख्रा चराउन गएका थिए । चार लाइनको बिजुलीको नांगो तार भुइँमा लत्रेको रहेछ । करेन्ट लागेर उनी जंगलमै ढले । करेन्टले उनको शरीरको भाग, खुट्टाहात जलेका छन् । करेन्टले खाएको हात उपचारका क्रममा काट्नुपर्यो। शल्यक्रियापछि हातको घाउबाट पिप आउन नछाड्दा चिकित्सकले थप भाग काट्नुपर्ने बताएका छन् ।  

कक्षा १० मा पढ्दै गरेका रेशम आफ्नो हविगत हेरेर टोलाइरहेको अवस्थामा भेटिन्छन् । उता अभिभावक पूर्णबहादुर घरी छोरा हेरेर टोलाउँछन् घरी केही सोचेर गम्भीर बन्छन् ।  

गाउँपालिकाले उपचार खर्च एक लाख दिने भने पनि ५० हजार मात्र दिएको थियो । त्यो पनि जहाज भाडा तिर्दा र अरू खर्च गर्दा बाटामै सकियो । करिब ३ लाख उपचार खर्च ऋणकै भरमा गरेको पूर्णबहादुर विकले सुनाए । ‘विद्युत् प्राधिकरणले पनि अहिलेसम्म कुनै क्षतिपूर्ति दिएको छैन,’ उनले भने । रेशमको थप उपचार कहिले सकिन्छ, यकिन छैन । उनीहरूमा आर्थिक अभावले अर्को छटपटी बढाएको छ । प्राधिकरणलाई फोन गरेर क्षतिपूर्ति माग्दा त्यहाँका कर्मचारीले प्राधिकरणको गल्ती नभएको दाबी गरेर स्थानीय निकायलाई दोष देखाई उपचार खर्च उतै माग्न भनेको पूर्णबहादुरले सुनाए ।  

रोल्पाका ४५ वर्षीय सोमराज विक पनि घाइते अवस्थामा सोेही अस्पतालमा भेटिए । उनलाई पनि गत भदौमै विद्युत् मर्मत गर्न जाने क्रममा बिजुलीको पोलमा करेन्ट लागेको थियो । उनका अनुसार गाउँमा बिजुली लाइनमा समस्या आएको थियो । उनी बिजुलीको पोलमा चढेर बिजुली मर्मत गर्दै थिए । सोही क्रममा लाइन काट्न गएका कर्मचारीले बीचैमा लाइन छाडिदिए । उनी करेन्ट लागेर पोलमै बेहोस भए । त्यसपछि उनलाई बेहोस अवस्थामा सुर्खेत अस्पताल पु¥याइयो । त्यहाँबाट दाङ हुँदै कीर्तिपुर अस्पताल ल्याइएको हो ।  

करेन्टले तल्लो भाग र हात पुरै जलेका छन् । पोलमा चढ्दा सुरक्षा कवच लगाएका कारण भुइँमा नखसेको र अरू कर्मचारीले उद्धार गरेको उनले बताए । तर उनी निको भएर पहिला जस्तै सामान्य अवस्थमा फर्किने स्थिति छैन । ‘मरेर बाँचें तर अब गरिखान सक्ने स्थिति छैन,’ उनले भने । सोमराज प्राधिकरणको ज्यालादारी कर्मचारी भएकाले उपचार खर्चबाहेक अन्य उपदान मिल्ने स्थिति छैन । अपांगता भएपछि कसरी बाँकी जिन्दगी चलाउने भन्ने चिन्तामा उनी देखिन्छन् । ‘प्राधिकरणले केही राहत दिए त व्यवसाय गरेर जिन्दगी चलाउँथे,’ उनले भने । उनीको काँधमा चार सन्तानको पालनपोषण र हेरचाहको जिम्मेवारी छ । ‘स्थायी कर्मचारी भएको भए जीवनभरिका लागि क्षतिपूर्ति पाउँथें,’ उनले पुन घोत्लिँदैै भने, ‘तर अब कसरी घर चलाउने भन्ने पिरलो छ ।’

सोही अस्पतालमा भेटिए विद्युतीय जलनले घाइते तेज कटुवाल । उदयपुरका उनले २० दिनको उपचार गरिसकेका छन् । फलोअपमा अस्पताल आएका बेला उनी भेटिएका हुन् । यही असोज पहिलो साता ललितपुरको ग्वार्कोमा घर बनाउँदा करेन्ट लागेर उनी घाइते बनेका हुन् । निर्माणाधीन घर र हाइटेन्सनको लाइन नजिकै थिए । घरको माथिबाट इँटा सफा गर्ने मेसिनको तार तल फाल्दा हाइटेन्सनको लाइन छोइएपछि उनलाई करेन्ट लागेको हो । करेन्टले उनका दुवै हात र खुट्टासँगै शरीरका अन्य केही भागमा पनि क्षति पुगेको छ । करेन्टको क्षतिले उनी राम्रोसँग हिँड्न सक्दैनन् भने हातखुट्टा बांगा भएका छन् ।

हाइटेन्सननजिकै भएकाले सतर्क भएर काम गर्नू भनेको कसैला सुनेका त थिए तर तार यसरी त्यही पुगेर आफैंलाई जलाउला भन्ने हेक्का उनमा भएन । करेन्टले जलेपछि उनलाई काम लगाउने ठेकेदारले उपचारका लागि भन्दै केही रकम दिए पनि निकै अपुग भयो । तीन साताको अन्तरालमा २ लाख ५० हजार रूपैयाँ ऋण खोजेरै उपचार गरेको उनले सुनाए । घरवालालाई सुनाउँदा ठेकेदारलाई माग्न भनेको उनले बताए । ‘कसैले पूरा पैसा दिएनन्, अब यो ऋण कसरी तिर्ने ?’ उनले भने । दुवै मिर्गौला पाँच वर्षदेखि बिग्रिएर डायलोसिस गराइरहेका कटुवालमाथि विद्युतीय जलनले अर्को विपत्ति आइलागेको छ । न साथमा पैसा न शरीर गतिलो अब जीवन कसरी चलाउने ?’ उनका सामु यही प्रश्न उभिएको छ । ‘गाउँको घरजग्गा बेचूँ पनि पैसा पर्ने खालका छैनन्, सहरमा हाम्रो केही छैन,’ उनले भने ।

कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका दाङका पे्रमलाल थारू पनि विद्युतीय जलनका बिरामी हुन् । यही असोजको पहिलो साता भक्तपुरको पलाँसेमा सडकको पर्खाल उठाउने क्रममा वालनजिकै रहेको बिजुलीको खम्बा छोइएर उनको खुट्टामा करेन्ट लागेको हो । अरूले होसियारीपूर्वक काम गर्न सुझाए पनि कतिखेर खुट्टामा करेन्टले छोयो उनले पत्तै पाएनन् । उनको उपचार खर्च ठकेदार कम्पनीले गरिरहेको छ । उनको करेन्टले दुवै खुट्टा जलेका छन् । उठेर हिँड्न सक्ने अवस्था छैन । आफू घाइते बनेपछि दुई छोरी र पत्नीसहितको परिवार कसरी चलाउने भन्ने चिन्ता उनमा थपिएको छ । ‘मलाई क्षतिपुर्ति दिए परिवार पाल्थें,’ उनले भने ।

नेपाल तथा विकासोन्मुख देशमा विद्युतीय जलन बढी माथिका घटना प्रतिनिधि उदाहरण मात्र हुन् । बिजुलीले जलेर अस्पताल ल्याइए पनि पुरै अपांगता हुने र जीवन गुमाउनेको संख्या धेरै छ । कीर्तिपुर अस्पतालका अनुसार कुल जलनका बिरामीको १५ प्रतिशत विद्युतीय जलनका मात्र हुन्छन् । जलनका कारण मृत्यु हुनेमा २० प्रतिशत विद्युतीयका हुन्छन् । चिकित्सकका अनुसार नेपाल तथा नेपालजस्ता विकासोन्मुख देशमा विकसित देशको तुलनामा बढी विद्युतीय जलनका घटना छन् ।

नेपालमा विद्युतको प्रयोग र विस्तारसँगै विद्युतीय जलनको समस्या पनि बढिरहेको अस्पतालका बर्न प्लास्टिक सर्जन किरण नकर्मी बताउँछन् । ‘उपचारमा आउने बिरामीको स्थिति हेर्दा विद्युतीय जलन घटेको देखिँदैन तर कहिलेदेखि बढ्यो भनेर अध्ययन भइसकेको छैन,’ उनले भने । नेपालमा पहाडी भेगमा विद्युत् विस्तारसँगै करेन्ट लाग्ने घटना बढेको वीर अस्पतालका बर्न प्लास्टिक सर्जन डा. पीयूष दाहाल बताउँछन् । उनका अनुसार नेपालमा जलनका बिरामीमा ६० प्रतिशत आगो, २२ प्रतिशत तातो पानी र १५ प्रतिशत बिजुलीका हुने गरेका छन् । जलनले हुने कुल मृत्युमध्ये २० प्रतिशत विद्युतीयको हुने गर्छ ।  

चिकित्सकका अनुसार अन्य जलनको तुलनामा विद्युतीय जलनले शरीरको बाहिरी भागमा भन्दा भित्री भागमा बढी क्षति पु¥याउने कारण पनि अन्य जलनको तुलनामा विद्युतीय जलन खतरनाक मानिन्छ । करेन्ट शरीरभित्र छिर्दा बाहिर सानो घाउ देखिए पनि भित्री भागमा भने विभिन्न भागमा मासु नष्ट हुन्छ । करेन्टले मासुको भागका साथै मिर्गौला, मुटु र नसासमेत नष्ट गर्छ । मिर्गौलामा मासु जलेपछि मायाग्लोबिन भन्ने तŒव रगतमा पुगेर मिर्गौलामा फिल्टर हुनुपर्नेमा त्यसो हुन नसकेर मिर्गौला फेल हुन सक्छ ।

अधिकांश करारका कर्मचारी बिजुलीको पोलमा काम गर्ने क्रममा घाइते बनेपछि पाउनुपर्ने राहत नपाउँदा पीडित दोहोरो पीडामा पर्ने गरेको कीर्तिपुर अस्पतालमा कार्यरत परामर्शदाता जेनी खड्काले बताइन् । ‘विद्युतीय जलनले कुनै न कुनै अंगलाई खत्तम बनाउँछ । ज्याला मजदुरी गरेर जीवन चलाउनेलाई अप्ठेरो पार्छ । विद्युतीय जलन भएर आउनेमा ज्यालामजदुरी गर्ने बढी पर्छन् । तर उनीहरूका लागि राहत हुँदैन,’ उनले भनिन् । केही राहतको व्यवस्था हुने हो भने उपचारपछिको त्यस्ता व्यक्तिको जीवन सहज हुने उनले बताइन् ।  

विद्युतीय जलनमा कस्ता व्यक्ति बढी पर्छन् ?  

धेरैजसो विद्युतीय जलन हाइटेन्सननजिकै सामान झिक्दा, विद्युत् विस्तारको काम गर्दा, हाइटेन्सनमा लुगा छोइँदा, बिजुलीको पोलमा बालबालिका चढ्दा, इन्टरनेट जोड्ने कर्मचारीहरू काम गर्दा विद्युतीय जलनमा घटना बढी हुन्छन् । चिकित्सकका अनुसार जोखिमपूर्ण काम गर्नेहरू बढी जलनमा पर्ने गरेका छन् । विशेष गरी घर निर्माणमा वायरिङ गर्र्दा, बिजुली मर्मत गर्दा, विद्युत प्राधिकरणका कर्मचारीले बिजसलीसम्बन्धी काम गर्दा, पानी तान्ने मोटर चलाउँदा, बिजुलीबाट सञ्चालित हुने ठुला कारखानामा काम गर्दा विद्युतीय जलनको जोखिम बढी हुन्छन् । मुख्य लाइनबाट हुकिङ गरेर बिजुली तान्ने, विद्युत विस्तार भएका पहाडी भागहरूमा काम गर्ने, विद्युत् प्राधिकरण आफैंले सुरक्षित गरी पोल नराख्नेहरू यस्ता घटनामा बढी पर्ने चिकित्सकहरू बताउँछन् ।  

किन सुरक्षित छैन विद्युत् ?  

वीर अस्पतालका डा. पीयूष दाहालका अनुसार नेपालमा विद्युत्को सुरक्षित प्रयोगमा मुख्य कमजोरी विद्युत प्राधिकरणको छ । विस्तारित लाइनमा हुने कमजोरीका घटनालाई संवेदनशील रूपमा नहेर्नु, सुरक्षित पोल नराख्नु जस्ता कमजोरी छन् । ‘कपितय ठाउँमा नांगा तार बस्तीनजिकै भेटिन्छन्,’ उनले भने ।  

प्राधिकरणको कमजोरी, आफैं या साथीभाइबाट हुने लापबाहीले हुने जलनलाई हल्का रूपमा लिने प्रवृत्तिले पनि विद्युतीय जलनका घटनामा कमी आउन नसकेको डा. दाहालको बसझाइ छ । उनका अनुसार स्टेसनमा बसेर पूर्ण सूचनाबिना करेन्ट छाड्ने कर्मचारीलाई कारबाही नगरी हल्का रूपमा लिने चलनले पनि समस्या घट्न नसकेको हो । प्रयोगकर्ता र कर्मचारीमा सुरक्षित विद्युत् प्रयोगबारे चेतना कमी हुँदा पनि विद्युतीय जलन बढी हुने गरेको डा. नकर्मी बताउँछन् ।

करेन्टबाट बच्न के गर्ने ?  

कीर्तिपुर अस्पतालनका बर्न प्लास्टिक सर्जन डा. नकर्मीका अनुसार विद्युतीय जलनबाट बच्नबचाउन एउटा निकायको भूमिकाले सम्भव हुन्न । करेन्ट लागेर कर्मचारीहरूको अकालमै भइरहेको मृत्युबारे संवेदनशील भएर विद्युत् प्राधिकरणले सेवालाई सुरक्षित बनाउनुपर्ने उनी बताउँछन् । सुरक्षाको जिम्मेवारी प्राधिकरणदेखि स्थानीय सरकारको समेत रहेको वीर अस्पतालका बर्न प्लास्टिक सर्जन डा. दाहाल बताउँछन् । उनका अनुसार नेपालमा यस्ता घटनामा परेकाहरूमा ‘एकपटक भइहाल्यो’ भन्ने मानसिकता कायम रहेकाले घटना दोहोरिएको डा. दाहालको भनाइ छ । ‘हरेक व्यक्तिले आफैले सुरक्षा कवच नअपनाएका कारण घटना भएको हो भन्ने अनुभूति गर्नुप¥यो,’ उनले भने । विद्युतमा काम गर्ने हरेक कर्मचारीले सुरक्षा कवच अनिवार्य रूपमा लगाउनुपर्नेमा उनी जोड दिन्छन् ।

विद्युत् मर्मत गर्न पोलमा कामदार गएका बेला विद्युत् स्टेसनबाट करेन्ट बीचैमा छाडिएका कारणले पनि धेरै कामदार जलेका छन् । यस्तो घटनामा गल्ती गर्ने कर्मचारीलाई कडा कारबाही नभए लापबाही दोहोरिइरहने डा. दाहाल बताउँछन् । ‘उनीहरूमाथि कुनै पनि हिसाबले कडा कारबाही हुनुपर्छ, कारबाही नभए गल्ती दोहोरिन्छ,’ उनले भने । विद्युत् सुरक्षा प्राधिकरण नेतृत्वको मुख्य दायित्व हुनुपर्ने डा. नकर्मी बताउँछन् । ‘बिजुली विस्तार, मर्मत, प्रयोग सुरक्षित गराउनुपर्ने विषय प्राधिकरणको नेतृत्वलाई थाहा हुनुपर्यो,’ उनले भने । विद्युत् प्रयोगबारे प्रयोगकर्ता तथा कर्मचारीमा पर्याप्त जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि चिकित्सकहरू दिन्छन् । यसका लागि बर्न प्लास्टिक अस्पतालहरू सरकार तथा प्राधिकरणसँग समन्वय गरेर प्रयोगबारे सूचना पम्प्लेट छपाएर तथा भिडियो बनाएर गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको नेटवर्कमार्फत सबैतिर पुग्नेगरी फैलाउनुपर्ने सुझाव डा. नकर्मीको छ ।

प्रकाशित: २८ आश्विन २०८० ००:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App