२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

शिक्षकको आन्दोलनले वीपीको पठनपाठन प्रभावित, परीक्षाकाको माग गर्दै विद्यार्थी पनि आन्दोलनमा

वीपी प्रतिष्ठानका विद्यार्थीहरूले पठनपाठन सुचारुको माग गर्दै निकालेको र्‍याली र प्रदर्शन। तस्बिरः रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरूले पठनपाठन र परीक्षाका कार्यक्रमहरू सुचारु गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

शिक्षकहरूको आन्दोलनले पठनपाठन तथा परीक्षाका कार्यक्रमहरू प्रभावित भएको भन्दै विद्यार्थीहरूले शुक्रबार प्रतिष्ठानमा र्‍याली निकाल्दै प्रदर्शन गरेका हुन्। 

अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्ने सम्झौता कार्यान्वयन नभएको भन्दै सोमबारदेखि प्रतिष्ठानका शिक्षकहरू आन्दोलनमा छन्। सोमबारदेखि उनीहरुले पठनपाठन, परीक्षा तथा उपचार सेवा पनि छोडेर सामूहिक राजीनामा पत्र बुझाउन काठमाण्डौं गएका थिए।

शिक्षकको आन्दोलनले डेन्टल तेस्रो वर्षको वार्षिक परीक्षाबाहेक अन्य सम्पूर्ण शैक्षिक तथा परीक्षाका कार्यक्रमहरू ठप्प छ। विद्यार्थीहरुको भविष्यलाई गम्भीर असर पुग्ने भएकोले विद्यार्थीहरूले पढ्ने र शिक्षकहरूलाई पढाउने वातावरण तयार गर्न माग गर्दै प्रदर्शन गरिएको विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले बताए। ‘पढाई भइरहेको छैन। वार्षिक परीक्षाबाहेक आन्तरिक परीक्षा सबै रोकिएको छ। यो हाम्रो लागि ज्यादै चिन्ताको विषय हो,’उनले भने,‘सयौँ विद्यार्थीहरुको भविष्यसँग जोडिएको कारण पनि हामीले पढ्न पाउने र शिक्षकहरूले पढाउने वातावरण बन्नुपर्छ भनेका हौँ।’

मन्त्रीलाई राजीनामा बुझाएर पक्रिए शिक्षकहरू

विद्यार्थीहरूले पठनपाठन सुचारु गर्न माग गर्दै प्रदर्शन गरिरहँदा शिक्षकहरूको एक समूह भने काठमाण्डौंमा सहकुलपति एवं स्वास्थ्य मन्त्रीलाई राजीनामा बुझाएर फर्किएका छन्।

सोमबार काठमाण्डौं प्रस्थान गरेका शिक्षकहरूले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर संयुक्तरुपमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा डेढ सयको संख्यामा एसोसियट प्रोफेसर, एडिस्नल प्रोफेसर र असिस्टेन्ट प्रोफेसरहरूको हस्ताक्षर रहेको शिक्षक कल्याण समाजका पुर्वमहासचिव डा.सन्दिप साहले जानकारी दिए। उनका अनुसार काठमाण्डौं गएको टोली बिहिबार धरान फर्किएको छ भने अर्को टोली आज (शुक्रबार) धरान फर्कदैछ।

शिक्षकहरूको टोलीले सहकुलपति एवं स्वास्थ्य मन्त्री बस्नेत, कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, प्रतिष्ठानका पुर्वउपकुलति एवं काँग्रेस नेता डा.शेखर कोइरालालगायतलाई पनि भेटेर समस्या राखेका थिए। मन्त्री बस्नेतले प्रतिष्ठानका पदाधिकारीहरुलाई सँगै राखेर समस्या समाधान गर्न निर्देशन दिइसकेको जानकारी गराएको खुलाउँदै प्रतिष्ठानका एडिस्नल प्रोफेसर डा.रविन मास्केले चाँडो निकास पाउनेमा आफुहरु आशावादी रहेको बताए। 

शिक्षकहरू काठमाण्डौंबाट फर्किए पनि उपचार, पठनपाठनमा भने संलग्न नरहने प्रष्ट पारेका छन्। डा.मास्केले भने,‘हामीले राजीनामा बुझाइसकेका छौँ। त्यसैले उपचार, पठनपाठन गर्न मिल्दैन। त्यसको लागि पदाधिकारीहरूले नै माग सम्बोधन गरेर वातावरण तयार गर्नुपर्छ।’ शिक्षक कल्याण समाजको साधारण सभा बसेर कसरी आन्दोलन अघि बढाउने भनेर निर्णय लिने पनि उनले बताए।

प्रतिष्ठानमा १७० को हाराहारीमा रहेको एसोसियट प्रोफेसर, एडिस्नल प्रोफेसर र असिस्टेन्ट प्रोफेसरहरूको बढुवा विगत ७ वर्षदेखि रोकिदा वृत्ति विकासमा अवरोध पुगेको छ। प्रतिष्ठानकै कतिपय विभागहरू पनि प्रोफेसरविहीन छ भने वृत्ति विकास नहुँदा निराश भएर ५० जनाको हाराहारीमा पछिल्लो २ वर्षमा दक्ष चिकित्सकहरूले प्रतिष्ठान छोडेर अन्त्र गएका छन्। हाल निलम्बनमा परेका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको पालामा बढुवा प्रक्रिया सुरु भएको थियो। तर, वर्तमान कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले उक्त बढुवा प्रक्रिया रोकेपछि शिक्षकहरू आन्दोलनमा छन्। 

उपचार सेवा पनि प्रभावित

शिक्षकहरूको आन्दोलनले प्रतिष्ठानको उपचार सेवा पनि प्रभावित भएको छ। प्राध्यापक, सिनियर रेसिडेन्ट, जुनियर रेसिडेन्टको मात्र भरमा ओपिडी सेवा सुचारु भएपनि कतिपय विभागमा कोटा तोकिएको छ। जसले गर्दा बिहान चाँडो ओपिडी बिल काउन्टरमा आएका बिरामीहरूले मात्र उपचार पाउने गरेका छन्। 

टाढाबाट ढिला गरी आएका बिरामीहरूले समयमा नै ओपिडी कार्ड नै काट्न भ्याउँदैनन्, र दुःख पाउने गरेको एक कर्मचारीले बताए। पहिल्यै अप्रेसनको लागि समय तोकिएका बिरामीहरूको पनि अप्रेसन भएको छैन। प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले सूचना जारी गर्दै शिक्षकहरू अनुपस्थित हुँदा आकस्मिक, आइसियु, अन्तरङ्ग तथा बहिरङ्गका सम्पूर्ण सेवाहरूमा प्रतिकुल असर पर्न जाने र पूर्ण क्षमतामा अस्पतालको सेवाहरु प्रवाह गर्न नसकिने जनाएका छन्। 

डेपुटी अस्पताल निर्देशक डा.इन्द्र लिम्बुले भने केही विभागहरूमा ओपिडीका बिरामीहरूको कोटा तोकिएको भएपनि टाढाबाट आएका बिरामीलाई उपचार गराउने प्रबन्ध गरिरहेको बताए। साथै उनले रुटिन ओटी (शल्यक्रिया) सोमबारदेखि नै ठप्प भएपनि इमर्जेन्सी अप्रेसन भने नरोकिएको बताए। ‘ओपिडी सुचारु नै छ, रुटिन ओटबाहेकका अन्य सेवाहरु पनि रोकिएको छैन,’उनले भने।

प्रकाशित: २६ आश्विन २०८० ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App