१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जम्मा ९ वटा आईभिएफ सेन्टरलाई अनुमति, बाँकी मापदण्ड विपरित सञ्चालनमा

देश भरका अधिकांश आईभीएफ सेन्टर अवैध रुपमा सञ्चालन भइरहेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन (आईभिएफ) अर्थात टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन्।

अहिले काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा ५० भन्दा बढी आईभिएफ सेन्टर सञ्चालनमा रहेका छन्। सङ्घीय राजधानी काठमाडौंमा नै धेरै आईभिएफ सेवा दिइरहेका सेन्टरहरू ईजाजत नलिइ गैरकानूनी तरिकाले सञ्चालन भइरहेका छन्।  

स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.मदन उपाध्यायले देशभर सञ्चालनमा रहेका मध्य नौ वटा संस्थाले मात्र मापदण्ड पूरा गरेर सञ्चालन अनुमति प्राप्त गरेको बताए। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार वात्सल्य नेचुरल आईभिएफ काठमाडौं क्रियटर्स आईभिएफ नेपाल काठमाडौं, वरदान फर्टिलिटी सेन्टर काठमाडौं, नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौं, मनमोहन आईभिएफ सेन्टर, नेपाल इन्टरनेशनल एण्ड ल्याप्रोस्कोपी, स्नेह फर्टिलिटी सेन्टर,एञ्जल फर्टिलिटी सेन्टर काठमाडौं र ह्यम्स अस्पतालले सञ्चालनको अनुमति पाएका छन्।

देशका विभिन्न सहरमा अनुमति नलिएका तर आईभिएफ सेन्टर सञ्चालन गरिरहेका संस्थाहरू पनि छन्। ३८ वटा आईभिएफ सेन्टर अनुमतिको प्रक्रियामा रहेका तर आईभिएफ सेन्टर सञ्चालन गरिरहेका संस्थाहरू पनि छन्। अनुमतिको प्रक्रियामा रहेका सेन्टरहरूमा काठमाडौं फर्टिलिटी सेन्टर, चितवन फर्टिलिटी सेन्टर, काठमाडौंस्थित सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, काठमाडौंस्थित होप एण्ड जोय आईभिएफ एण्ड फर्टिलिटी क्लिनिक, काठमाडौंस्थित ग्राण्डीसिटी हस्पिटल आईभिएफ सेन्टर, माया आईभिएफ क्लिनिक काठमाडौं, भेनस आईभिएफ सेन्टर काठमाडौं लगायत रहेका छन्।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ अनुसार निजी, गैरसरकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्थाका लागि टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न इजाजत लिनुपर्ने प्रावधान छ। अनुमति नलिइ सञ्चालन गर्नु गैरकानूनी मानिन्छ। यसरी सञ्चालनमा आएका आईभिएफ सेन्टरले सेवाग्राहीबाट मनपरी शुल्क असुल्ने गरेको गुनासो पनि आइरहेको छ। सरकारले आईभिएफ शुल्कबारे स्पष्ट व्यवस्था नगर्दा र मापदण्ड नतोक्दा सेवाग्राही ठगिनेको संख्या बढेको छ।

डा.उपाध्यायले स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनका क्रममा स्त्री रोग सेवा, बहिरंग सेवा, युएसजी सेवा, अप्रेसन थियटर, इम्ब्रोलोजी प्रयोगशाला जस्ता न्युनतम आधारभुत पूर्वाधार नभएका आईभिएफ सेन्टर सञ्चालनमा रहेको पाइएको बताए। अनुमति लिएका अधिकांशले पनि   आवश्यक मापदण्ड पूरा नगरेको भेटिएको बताए। अनुगमन गर्दा धेरै जसोको पूर्वाधार नपुगेको र उपकरण पर्याप्त नभएको पाइएको उनले उल्लेख गरे। उनले आईभिएफ सेवा सञ्चालनका लागि ईजाजत पूर्व गुणस्तर सुनिश्चित गरेर मात्रै सञ्चालन अनुमति दिइने बताए।

डा.उपाध्यायले जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ आएपछि आईभिएफलाई विशिष्टीकृत सेवाका रुपमा वर्गिकरण गरिएको जानकारी दिए। उनले वर्गिकरण गरेपछि मन्त्रालयले दुई पटक परिपत्र गरेर सम्बन्धित संस्थाहरूलाई सञ्चालन अनुमति लिएर मात्रै सेवा सञ्चालन गर्न आग्रह गरिएको बताए। उनले आईभिएफ सेवालाई व्यवस्थित गर्न निर्देशिका  र प्रोटोकल बानाउन लागेको जानकारी दिए।

ऐन र नियमावली आउनुभन्दा पहिले आईभिएफ सेवालाई अस्पतालको भिन्न सेवाका रुपमा  लिने गरीएको बताए। सेवा बिस्तारको रुपमा अधिकांश अस्पतालहरूले आईभिएफ सेवा प्रदान गर्दै आएपनि ऐन र नियमावली आइसकेपछि छुट्टै अनुसूचि अनुसार निवेदन दिएर अनुमति प्राप्त गर्नुपर्ने व्यवस्था छ। सञ्चालन अनुमति लिएर मात्रै सेवा सञ्चालन गर्न पाइने प्रावधान रहेको बताए। आईभिएफ सेवा काठमाडौंसहित भरतपुर, पोखरा, विराटनगर, भैरहवा, बुटवल लगायतका थुप्रै ठाउँमा विस्तार भएको छ।

निःसन्तान रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी आईभिएफ सेवा निःसन्तान दम्पतीका लागि वरदान जस्तो भएपनि खर्चिलो भएको बताए। उनले आईभिएफ सेवा खर्चिलो भएको र सेवा सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्ने बताए। आईभिएफ सेवाको समग्रमा सफलता दर विश्वमै ३० देखि ३५ प्रतिशत रहेको बताए। तर, केही आईभिएफ सेन्टरहरुले सफलतादर शतप्रतिशत भन्दै प्रचार गरिरहेका छन्। उनले ल्याबको गुणस्तरलाई अझ प्रभावकारी गराउन सके सफलतादर बढ्ने सम्भावना रहेको बताए। डा.अधिकारीले आईभिएफ सेवा देशभरका संघीय अस्पतालमार्फत सञ्चालनमा आउनसके निःसन्तान दम्पतीलाई काठमाडौंमा धाउनुपर्ने बाध्यता हट्ने बताए।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक समेत रहेका डा.अधिकारीले यो अस्पतालमा वि.सं. २०६८ सालदेखि आईभिएफ सेवा शुरु गरीएको जानकारी दिए। उनले २०७२ सालसम्म चार वर्ष सञ्चालनमा आएको र बन्द भएको सेवा २०७९ सालबाट शुरु भएको बताए। हालसम्म ३८ जनाको आईभिएफ सेवाबाट उपचार प्राप्त गरेको बताए। अस्पतालको सक्सेस रेट २० प्रतिशत रहेको जानकारी दिए। उनले सफलतादर बढाएर धेरै भन्दा धेरै महिलाहरूलाई सर्वसुलभ गुणस्तरीय सेवा दिन प्रयासरत रहेको बताए। डा.अधिकारीले प्रसुती अस्पतालमा आईभिएफ सेवा लिँदा लगभग दुई लाख रुपैयाँ खर्च लाग्ने जानकारी दिए।

अदक्ष जनशक्तीले आईभीएफ सेवा दिएमा त्यसको गुणस्तरियता माथि प्रश्न उठ्ने र सफलता दरपनि न्यून हुने भएकाले आईभिएफ सेवा दिने संस्थाहरूको नियमन गर्न जरुरी रहेको बताए।

प्रकाशित: २२ आश्विन २०८० ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App