१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बढ्दो मोटोपन तर अझै स्वस्थ

यस्तो पनि!

शोधकर्ताहरूले संसारभर मानिसको मोटोपन बढेको बताएका छन्। खासगरी चौथाई महिलाहरूमा मोटोपन देखिएको भए पनि ती स्वस्थ रहेका उनीहरूको भनाइ छ। त्यसो त मोटोपन बुढेशकालमा दुःखको कारण बन्ने हुनाले यतिबेला ती स्वस्थ देखिए पनि भविष्यका नजरमा भने अस्वस्थकर हुनसक्ने चेतावनी उनीहरूले दिएका छन्। यही कुरा पुरूषहरूको मोटोपनको मामिलामा पनि उनीहरूले सचेत गराएका छन्।

संसारका विभिन्न क्षेत्रमा फरक फरक किसिमको मोटोपन देखिएको तर ती प्रायः स्वस्थकर नै रहेको ह्यामबर्गमा जारी ‘स्टडी अफ डायबेटिज सम्मेलन’मा जनाइएको हो। तापनि भविष्यमा हुने स्वास्थ्यको गडबडीलाई ध्यानमा राख्दै अहिलेदेखि नै मोटोपनका बारेमा सचेत हुनु आवश्यक रहेको सम्मेलनमा आवाज उठाइयो।

‘फ्याट बट फिट’ देखिए पनि भविष्यबारे सोच्नुपर्ने सो अवसरमा बताइयो। खासगरी बडी मास इन्डेक्स (बिएमआई–शरीरको उचाइ र तौलको अनुपात) मा केही बढी तौल देखिए पनि हाललाई त्यो खतराको सूचकमा नपरे पनि भविष्यमा तिनले उच्च रक्तचाप, उच्च चिनी मात्रा, उच्च कोलेस्ट्रोल, टाइप २ डायबिटिज र मुटुको रोगका अन्य संकेतहरू देखिन सक्ने विज्ञहरूको राय छ।

बेलायतका ४० देखि ५० वर्ष उमेर समूहका ८ प्रतिशत पुरूष र २७ प्रतिशत महिलाहरूमा ‘फ्याट बट फिट’को अवस्थामा रहेको देखिएको छ। युनिभर्सिटी अफ लेपजिग र जर्मनीको हेमहोल्ज सेन्टर म्युनिखको संयुक्त अध्ययनले बेलायतसँगै जर्मनी, स्वीडेन तथा नर्वेमा पनि ‘फ्याट बट फिट’को संख्या बढी देखिएको हो। प्रा. म्याथियास ब्लुहरका अनुसार पश्चिम एसिया तथा एसयाली क्षेत्रका व्यक्तिमा २ देखि ५ प्रतिशतले मोटोपन अन्यत्रको तुलनामा कम रहेको देखिएको छ।

स्वस्थ मोटोपन मूलतः रजोनिवृत्तिपूर्वका महिलामा बढी देखिएको छ। तापनि स्वस्थ मोटोपन भएका व्यक्तिहरूलाई वजन व्यवस्थापनका कार्यक्रममा सक्रिय गराउनुपर्नेमा समेत ब्लुहरको सुझाव छ। स्वस्थ मोटोपन हुनेलाई भविष्यमा मुटुको धमनीसम्बन्धी रोगको उच्च जोखिम हुने उनको दाबी छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १९ आश्विन २०८० ०२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App