१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बेनी अस्पतालमा डायलासिस मेसिन थपियो

बेनी अस्पतालमा डायलाइसिस सेवा थप प्रभावकारी बनाउन दुईवटा डायलासिस मेसिन थपिएको छ।

मिर्गौलाका समस्या भएका बिरामीको अत्यधिक चाप रहेको अस्पतालमा रहेको दुईवटा मेसिन तत्काल मर्मत नहुने भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको पहलमा स्वास्थ्य विभागले अस्पताललाई २ वटा थप मेसिन उपलब्ध गराएको हो।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुबेदीले २८ लाख बराबरको २ वटा मेसिन थप भएपछि बिरामीलाई सहज हुने बताए।

‘अब नियमित डायलाइसिस गर्ने बिरामीले नियमित सेवा लिन सहज हुन्छ, बिग्रिएका मेसिन मर्मतका लागि अमेरिकाबाटै उपकरण मगाएर भएपनि चलाउँछौ’ अध्यक्ष सुबेदीले भने।

६ वटा डायलासिस मेसिन रहेको अस्पतालमा दुईवटा बिग्रिएको छ। अहिले ४ वटामा २७ जनाले नियमित सेवा दिन समस्या भइरहेको थियो। मेसिन बिग्रिएपछि बिरामीको तालिका नै प्रभावित भएको थियो। 

अस्पतालमा बिरामीको चापले गर्दा नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्था छैन। बिग्रिएको डायलासिस मेसिनको उपकरण नेपालमा नपाइएपछि राष्ट्रिय आविष्कार केन्द्रमार्फत उपकरण मगाइएको अस्पतालले जनाएको छ। हाल अस्पतालमा १२ जना नयाँ बिरामीले डायलासिसका लागि पालो पर्खिएका छन्।

नियमित डायलासिस गरेका बिरामीले प्रत्यारोपण वा उपचार असफल भएपछि मात्रै अर्को बिरामीको पालो आउने गरेकाले बागलुङ, पोखरा, काठमाण्डौँमा पुगेर सेवा लिनुपर्ने बाध्यता रहेको युनिटकी प्रमुख सिर्जना शाहीले बत्ताइन्।

बिरामीको मिर्गौला फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ। मिर्गौलाका बिरामीले हप्ताको १ देखि जटिलता हेरेर ४ पटकसम्म डायलाइसिस गराउनुपर्ने हुन्छ। निजी अस्पतालमा एक पटक डायलासिस गराउँदा यातायात, खाना बस्न सहित गरी ८ हजार भन्दा बढी रुपैयाँसम्म खर्च हुन्छ। 

उच्च रक्तचाप र मधुमेहका कारण मिर्गौला बिरामीको संख्या बढ्दो छ। यसका अतिरिक्त वंशाणुगतले गर्दा पनि मिर्गौला फेल हुने बिरामी म्याग्दीमा बढिरहेका छन्।

प्रकाशित: २ आश्विन २०८० १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App