३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोशी अस्पतालका १७ कर्मचारी निष्कासित

विराटनगरस्थित कोशी अस्पतालले करारमा रहेका १७ जना कर्मचारीलाई निष्कासित गरेको छ। अस्पताल विकास समितिका पदाधिकारी परिवर्तन भएसँगै उनीहरूलाई कामबाट निष्कासित गरिएको हो।

कोशी अस्पताल विकास समितिको भदौ २६ गतेको बैठकले कर्मचारी हटाएको हो। यसअघि रहेको विकास समितिले नियुक्त गरेका १७ जना कर्मचारीको करार म्याद नवीकरण नगरी सेवाबाट हटाएको छ।

अस्पताल विकास समितिमा यसअघि नेकपा एमाले र माओवादी निकटका थिए। हाल समितिमा नेपाली काँग्रेस निकटका व्यक्ति नियुक्त भएका छन्। उनीहरूले एमाले र माओवादी गठबन्धनको समितिले नियुक्त गरेकालाई हटाएपछि चरणबद्ध आन्दोलनको घोषण गरेका छन्।

यसअघि रहेको विकास समितिले विधि र प्रक्रिया विपरीत आफू खुसी करारमा नियुक्त गरेका १७ जना कर्मचारीको म्याद थप नगरी सेवाबाट हटाएको बताउँदै, कोशी अस्पताल विकास समितिका अध्यक्ष डाक्टर फरवार्ड सिलवालले भने, ‘विधि र प्रक्रिया पूरा नगरी नियुक्त गरिएका १७ जना कर्मचारी हटाएका छौं। उनीहरु करारमा रहेको हुँदा करार म्याद नथप्ने निर्णय भएको हुँदा सेवाबाट हटाइएको हो। विधि र प्रक्रिया पूरा गरेर मात्रै नयाँ कर्मचारी नियुक्त हुन्छ। अस्पताललाई आवश्यक परेका दक्ष कर्मचारी नियुक्त हुनेछन्।’ हटाइएका धेरै कर्मचारी कार्यालय सहयोग पदका छन्।

यसरी करारको म्याद थप नभएकाहरूमा खरिदार मञ्जु विष्ट, रिना निरौला, इलेक्ट्रिसियन विनोदकुमार कार्की, कार्यालय सहयोगीहरू कुमार कार्की, अवोधकुमार गौतम, सम्झना राई, रमेश बुढाथोकी, पदमकुमार खनाल, बलराम कामत, कञ्चन राय, राधादेवी राय, दिनेशकुमार सरदार, सुनिता मण्डल, सागर डोम, निर्मला ढकाल, सुनिता भगत र चन्दन यादव रहेका छन्।

यस अस्पतालका विकास समितितर्फ सेवा करारमा कार्यरत कर्मचारीहरुलाई विकास समितिको भदौ २६ गते निर्णयअनुसार २०८० असोज १ गतेदेखि लागू हुने गरी म्याद थप नभएको अस्पतालले भदौ २९ गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

विकास समितिले आस्थाका आधारमा गरेको निर्णय सच्चाएर पुनः हामीलाई काममा लगाउनु पर्ने बताउँदै, पदमकुमार खनालले भने, ‘हामीहरु काम गरिरहँदा नयाँ विकास समितिले एक्कासि सेवाबाट हटाएको सूचना दिइयो। सेवाबाट हटाइएका हामीले कुनै नराम्रो काम गरेका छौं। कुनै आधारविना हटाइएको छ। कसैलाई पनि सोधखोज तथा स्पष्टीकरण सोध्नेसम्म नगरी सेवाबाट हटाइएको छ।’

रोजगारमा भएका हामीलाई बेरोजगार बनाउने काम यस समितिले गरेको छ। सबै जनाले अस्पताल प्रशासनले भनेका काम नियमित रुपमा गर्दै आएका छौं, खनालले भने। प्रशासनले काम गरिरहेको ठाउँमा गएर चिठी बुझाएको छ। अस्पतालमा काम गर्न थालेपछि यहाँबाट आउने पैसाले तिर्न सक्ने गरी बैंकबाट ऋण लिइएको बताउँदै, खनालले भने, ‘अब कसरी बैंकको ऋणलगायत घर व्यवहार चलाउने समस्या हुने भयो। सेवामा पुनः नराखे आन्दोलन गर्ने छौं।’

विधि अनुसार नियुक्ति प्रक्रिया पूरा नभएकाहरुलाई विकास समितिले म्याद नथपेको बताउँदै, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चन्द्रभाल झाले भने, ‘नियुक्ति प्रक्रिया नै त्रुटि देखिएका र प्रक्रिया पूरा नगरेको करारका कर्मचारीको म्याद विकास समितिले नथपेको हो। अस्पताललाई चाहिने भन्दा बढी कर्मचारी कार्यालय सहयोगी पदमा नियुक्त गरेको हुँदा उहाँहरुको मात्रै म्याद थप नभएको हो।’

करार र ज्यालादारी कर्मचारी अस्पतालले आवश्यक र जरुरी देखिए प्रक्रियागत रुपमा राख्छ। आवश्यकताभन्दा बढी कर्मचारी राख्दा अस्पताललाई आर्थिक भार बढ्दै गएको बताउँदै, मेसु झाले भने, ‘कार्यालय सहयोगीभन्दा बढी चिकित्सक, नर्सहरुको आवश्यकता रहेको हुँदा त्यसको दरबन्दीका लागि मन्त्रालयमा पत्राचार गरेको छौं। अस्पतालले एउटा समिति बनाएको छ। जसले कहाँ कति कर्मचारी अभाव वा धेरै छन्। त्यसले अध्ययन गर्ने र उनीहरूले दिएको सुझावका आधारमा काम हुन्छ।’

प्रकाशित: १ आश्विन २०८० १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App