६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चिकित्सक आन्दोलनले बिरामी मर्कामा

प्युठानका पदम जिसिको श्रीमतीको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केमो लगाउने पालो आइतबार तोकिएको थियो। केमोका लागि पालो लिन बिहानै सात बजे लाइनमा बसेर उनले टोकन समेत लिए। अगाडि सात नम्बरसम्म कर्मचारीले दर्ता गरे। उनको पालोमा दर्ता भएन। १५ दिनअघि केमो लगाउन आएका जिसि निराश हुँदै फर्किए। फेरी उनको पालो सोमबार आउँछ भन्नेमा पक्का छैन।

‘तीजको दिन महिलाहरुका लागि सार्वजनिक बिदा छ। स्टार्फ नर्स नभएपछि केमोको काम प्रभावित नै हुन्छ,’उनले लामो सास फेर्दै भने ‘बिरामीको बिचल्ली भइसक्यो। यत्रो दिन बस्दा पैसा सकिसक्यो।’

क्यान्सर अस्पतालमा टिकट लिनको लागि बिहानै देखि लाइन लाग्ने गर्दछ। सोही अनुसार बिरामीहरु बिहानै लाइनमा बसेका थिए। कपिलवस्तुका शिव शर्मा आफन्तको आइतबार केमो लगाएर घर फर्किन पाइने आशमा थिए। सात बजे नै टोकन लिने लाइनमा बसेका उनी अस्पताल बन्द भएको सुनेपछि झस्किए।

‘आज खै कुन्नि के भएर बन्द भएको हो। कस्तो हो बुझ्न सकेको छैन, हातमा बिरामीको रेकर्ड सहितको फाइल समातेर उभिएका उनले भने ‘उपचार पाउन कहाँ सजिलो रैछ र?’ दुई साता अघि आएका उनको केमो लगाउने पालो पाँच दिनअघि पनि थियो। त्यतिखेर बेड नपाएपछि आइतबार सरेको थियो। आइतबार पनि नआएपछि उनी झन् निराश छन्। ‘बल्ल बल्ल पालो आएको थियो। अब दुई तीन दिन बन्दै नै हुन्छ। पहिलेका फाइल थुप्रेर त्यति नै बसेका हुन्छन्,’ उनले भने ’पर्सि पनि पालो पाउन मुस्किल छ।’

क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।

‘चिकित्सकलाई पटेको कुरा आएको छ। त्यो आन्दोलनले गर्दा हामीलाई मर्का पार्नु त भएन नि? ’बिरामीका आफन्त सुवास मगरले भने, ‘आन्दोलन गर्ने भए एक साता अघि नै जानकारी दिनुपर्दथ्यो। हामीलाई एकदम धोका भएको छ।’

अस्पताल प्रशासनले क्षतिपूर्ति समेत दिनुपर्ने बताए। क्यान्सर अस्पतालले चिकित्सकको आन्दोलनका कारण सेवा प्रभावित भएको जनाएको छ। 

हेटौँडाको सन्चो अस्पतालका दुई जना चिकित्सक माथि कुटपिट भएको घटनका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द थिए। अस्पतालको सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन्।

भरतपुर अस्पतालमा ओपिडी सेवा ठप्प थियो। उपचारका लागि गएका बिरामीहरू फर्किएका थिए।

‘चिकित्सकहरुलाई जबरजस्ती काममा लगाउन पनि सकिँदैन,’ भरतपुर अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले बिहानै फेसबुकमा लेखेका छन् ‘टिकट काटिएमा झन् झगडाको बिउ हुन जाने देखिन्छ। आज ओपिडी सेवा खुल्ने सम्भावना छैन।’

सरकारी अस्पताल बन्द हुँदा भरतपुरका निजी अस्पतालमा भने बिरामीको चाप देखिन्थ्यो। नेपाल चिकित्सक संघले बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही नसकेको भन्दै अस्पताल बन्द गराएको हो। उसले समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको जनाएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन गर्ने बताएका छन्।

सरकारले चार जनालाई पक्राउ समेत गरेको छ। यद्यपि हातपात गर्ने क्रममा उपस्थित सबैलाई कारबाही गर्नुपर्ने कार्कीले बताए।

‘सरकारले अभियुक्त अझै समातेको छैन। १४ जना उपस्थित थिए भन्ने छ। चार जनालाई मात्र समातिएको छ,’ उनले भने ‘सिसिटिभी हेरेर सबैलाई कारबाहीको प्रक्रियामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।’

संघले आइतबार सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो। अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको थियो। त्यस घटनालाई लिएर नागरिक समाज तथा विभिन्न संघसंस्थाले समेत चिन्ता व्यक्त गरेका थिए। आन्दोलन गर्दा बिरामी भने मर्कामा परेका छन्।

प्रकाशित: ३१ भाद्र २०८० १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App