९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

३४ प्रतिशत महिलामा रक्तअल्पता

सहश्राब्दी विकास लक्ष्यमा चुनौती

फाइल तस्वीर

नेपालमा अहिले पनि प्रजनन उमेर समूहका महिलामध्ये ३४ प्रतिशतमा रक्तअल्पता रहेको पछिल्लो सर्वेक्षणमा देखिएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १४ देखि ४९ उमेर समूहका महिलामा रक्तअल्पताको समस्या ३४ प्रतिशतमा रहेको छ।

अघिल्लो पाँच वर्षअघि अर्थात् सन् २०१६ को तथ्याकंको तुलनामा सात प्रतिशतले घटेको भए पनि अपेक्षित दरमा घट्न नसकेको विज्ञहरूले औंल्याएका छन्। सन् २०१६ मा यो दर ४१ प्रतिशत थियो। सन् २०१६ मा १४ देखि १९ वर्षभित्रका किशोरीमा रक्तअल्पताको समस्या ४४ प्रतिशत थियो भने सन् २०२२ मा यो समस्या ३९ प्रतिशत पुगेको छ।यो हिसाबले पाँच प्रतिशत मात्र घटेको देखिन्छ।

शरीरमा रातो रगतको मात्रा कमी हुने अवस्थालाई रक्तअल्पता भनिन्छ। महिनावारी हुँदा बढी रगत बगेमा, जुका परेमा, पायल्स भएमा र आन्द्रामा घाउ भएमा, भिटामिन बी १२ को कमी भएमा, आन्द्राले सोस्न नसकेमा, माछामासु पर्याप्त मात्रामा नखाएमा र रगतमा फलामको तत्व कमी भएमा रक्तअल्पताको समस्या हुन्छ।

सिभिल अस्पतालका हेमाटोलाजिष्ट डा. विक्रम कार्कीका अनुसार नेपालमा बढी माात्रामा फलामतत्व कमी र भिटामिन बी १२ को कमीले गर्दा रक्तअल्पता भएको देखिन्छ। अहिले बजारमा उपलब्ध खानामा आवश्यक पोषण्को मात्रा कमी हुनाले पनि रक्तअल्पताको समस्या हुने गरेको देखिन्छ। माछा मासु खानेको तुलनामा नखानेमा बढी मात्रामा रक्तअल्पता हुने गरेको डा. कार्की बताउँछन्।

यसबाहेक वंशाणुगत रगतसम्बन्धी रोगहरू भएमा पनि रक्तअल्पता हुन्छ। आन्द्रामा संक्रमण भएर भिटामिन सोस्न नसकेमा पनि रक्तअल्पता हुन्छ। आन्द्रा फुटेर रगत बगेमा यस्ता बिरामीमा जण्डिसको लक्ष्यणसमेत देखिन्छ। रक्तअल्पताको समयमै उपचार नभएमा जटिल समस्या देखिने डा. कार्की बताउँछन्।

हातखुट्टा झमझम गर्ने, छिटोछिटो बिर्सिने र हातखुट्टा नचल्ने समस्या आउन सक्छ। रक्तअल्पता भएमा मुटुले सामान्यभन्दा बढी काम गर्नु कारण मुटुलाई भार परी मुटु कमजोर भई श्वास फर्ने गाह्रो हुने र कतिपय अवस्थामा हृदयघात समेत हुने डा. कार्कीले बताए।

डा. कार्कीका अनुसार रक्तअल्पता हुनु भनेको रगतमा अक्सिजनको मात्रा कमी भइ शरिरको जुनजुन भागमा रगत पुग्नु पर्ने हो, त्यो भागमा नपुगेमा सबै अंगहरूमा असर गर्छ। मुटु, मिर्गौला, मस्तिष्क, हातखुट्टालगायत सबै अंग प्रभावित हुन्छन्। ‘कतिपय अवस्थामा मिर्गौला फेल पनि हुन सक्छ,’ उनले भने। रक्तअल्पताको कारण मुटुले बढी काम गर्नुपर्ने हुन्छ र पछि गएर मुटुको भल्व बन्द हुने, पेटमा पानी जम्मा हुने थप समस्या हुन सक्छन्।

पोषणको कमीले रक्तअल्पता

टिचिङ अस्पताल महाराजगंजकी पोषणविद नानीशोभा शाक्यका अनुसार नेपालमा पोषणको मात्रा नमिलेर पनि रक्तअल्पताको समस्या हुने गरेको छ। महिलाहरूमा फलामतत्वको कमीले हुने रक्तअल्पता बढी मात्रामा देखिन्छ। योसँंगै भिटामिन बी १२ को कमीले रक्तअल्पता, गर्भवती या सुत्केरी अवस्थामा शरिरबाट नै रगतको माग बढी हुने क्रममा पनि रक्तअल्पता हुन्छ।

पोषणविद् शाक्यका अनुसार नेपालमा मिलाएर नखाने, पर्याप्त पौष्टिक खाना अभाव र कृत्रिम खाना, महिला तथा किशोरीले पातलो शरीर बनाउन प्रशस्त खाना नखाएका कारण रक्तअल्पता कायमै रहेको बताउँछिन्।

सरकारले गर्भवती, सुत्केरी र किशोरीका लागि वितरण गरेको आइरन चक्की पनि सबैले पूरा मात्रा नखाएको कारण पनि रक्तअल्पताको समस्या हुने गरेको बताइन्। ‘कतिपयलाई आइरन चक्की सेवन गर्दा वाकवाकी लागेपछि बीचैमा खान छोडेको देखिन्छ,’ उनले भनिन्।

सरकारको रक्तअल्पता घटाउने कायक्रमले मात्र रक्तअल्पताको समस्यामा अपेक्षित सुधार हुन नसकेको परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले बताए। अहिलेको परिणामले सहश्राब्दी लक्ष्यमा चुनौती बनेको उनको भनाइ छ।

सरकारले सन् २०३० सम्मा रक्तअल्पताको समस्या १० प्रतिशतमा पुर्‍याउने लक्ष्य लिएको छ। तराइ भेगमा महिलामा प्रदूषण तथा सन्तुलित आहारको कमीले यो समस्या कायमै रहेको उनी बताउँछन्।

‘यस्ता खानेकुरा खाएमा रक्तअल्पता हुँदैन’

त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानीशोभा शाक्यका अनुसार सागसब्जी, माछामासु, फलामयुक्त खानेकुरा, भिटामिन बी १२ युक्त खाना पर्याप्त मात्रामा खाएमा शरीरमा रातो रगतको मात्रा बढाउन सकिन्छ। उनका अनुसार वनस्पतिजन्य खाना र पशुपंक्षीजन्य खानामा फलाम तथा भिटामिन बी १२ को स्रोतहरू पाइन्छ।

हरेक व्यक्तिले कम्तीमा १० ग्राम फलाजन्य खानेकुरा खानुपर्छ। लट्टे, बेथे, चमसुरको साग, लट्टेको गेडा तथा तिलको अचारमा पर्याप्त मात्रामा फलामतत्व पाइन्छ।

त्यसैगरी अण्डाको पहेंलो भाग, खसीको कलेजो, चिनीको सट्टा सख्खर जस्ता खानेकुरा खानुपर्छ। यी खानेकुरा खाँदा भिटामिन सीजन्य खानेकुराहरू कागती, सुन्तला, अम्वा, अमला पनि समावेश गर्नुपर्छ।

भिटामिन सीले मात्र आइरन शरिरमा सोस्न सक्छ। यसको साथै नियमित सन्तुलित खाना खाएमा खानाको कमीले हुने रक्तअल्पता स्वतः कम हुने उनको सुझाव छ। जुकाको कारणले हो भने नियमित रूपमा जुकाको औषधि खाने, पेटमा समस्या छ भने पेटको उपचार गर्ने र वंशाणुगत र पाठेघरको समस्याले हो भने सम्बन्धित चिकित्सकसँग उपचार गरेमा रक्तअल्पताबाट बच्न सकिने शाक्यले बताइन्।  

प्रकाशित: २८ भाद्र २०८० ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App