२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सहमति पछि वीपी प्रतिष्ठानको आन्दोलन स्थगित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक र आन्दोलनको तयारी गरिरहेका कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै सहमति गरेको छ।

व्यवस्थापन पक्षसँग सहमति भएपछि भदौ १३ गतेदेखि आन्दोलन गरीरहेको शिक्षक कल्याण समाजले आन्दोलनको कार्यक्रम स्थगित गरेको जनाएको छ। शिक्षकहरुसँग आइतबार राती सहमति भएको हो। सहमति भएलगत्तै राती नै शिक्षकहरुले शिक्षा महाशाखा र परीक्षा शाखामा लगाएको ताला खोलिदिएका छन्।

आन्दोलनमा सहभागी भएका शिक्षकहरुलाई पुर्वाग्रही व्यवहार पनि नगर्ने सहमति भएको छ। शिक्षक समाजले रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने एकसुत्रीय माग राखेर आन्दोलन गरेको थियो। समाजले मागको सुनुवाई नभएको भन्दै परीक्षा शाखा र पछि शैक्षिक महाशाखामा तालाबन्दी गरेको थियो भने भदौ १३ गतेदेखि नै पठनपाठन र परीक्षाका कार्यक्रमहरु बहिष्कार गरेको थियो।

शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमत खानका अनुसार एक महिनाभित्र सरोकारवाला निकायहरुसँग समन्वय गरि सहमति लिएर बढुवा प्रक्रिया सुचारु गर्ने सहमति भएको छ। ‘बाँकी रहेको अन्र्तवार्ता पनि एक महिनाभित्र सम्पन्न गरिसक्ने सहमति छ,’उनले भने,‘यो सहमति पछि राती नै ताला खोलिदियौं र काममा फर्किसकेका छौं। तर हाम्रो आन्दोलन स्थगित भएको मात्र हो, फिर्ता लिएका छैनौं।’

कायममुकायम उपकुलपतिमा नियुक्त भएपछि प्रा.डा.प्रह्लाद कार्कीले प्रतिष्ठानमा जारी आन्तरिक पदोन्नती एवं बढुवा प्रक्रिया स्थगन गरेर लोकसेवा आयोगलाई पत्राचार गरेपछि आयोगले नियमावली संशोधन गरेर सोही अनुसार गर्न निर्देशन दिएको थियो। सिनेट बैठक नबसेको कारण प्रतिष्ठानको संशोधित नियमावली पारित हुन नसकेको कारण आयोगको पत्रले बढुवा प्रक्रिया अन्योल भएको थियो। उपकुलपतिले नै अनावश्यक रुपमा लोकसेवालाई पत्राचार गरेर बढुवा प्रक्रिया रोकेको भन्दै शिक्षकहरु आन्दोलित भएका थिए भने कर्मचारी कल्याण समाजले पनि १० दिनको अल्टिमेटम दिएर बढुवा प्रक्रिया सुचारु गर्नेलगायत माग राखेको थियो ।प्रतिष्ठानमा करिब १५ बर्षदेखि कर्मचारीहरुको बढुवा हुन सकेको छैन भेन शिक्षकहरुको पनि ७, ८ वर्षदेखि रोकिएको छ।

आन्दोलनको तयारी गरेपछि कर्मचारी कल्याण समाजसँग पनि सोमबार वार्ता बसेर ४ बुँदे सहमति भएको रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले जानकारी दिए। कर्मचारीहरुको पनि आन्तरिक बढुवा प्रक्रिया सरोकारवाला निकाय र लोकसेवा आयोगको सहमति लिएर एक महिनाभित्र अन्र्तवार्ता प्रक्रियालाई सुचारु गर्ने र एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको रजिष्ट्रार डा.संगौलाले बताए। यसैगरि, २०७८ को खाइपाइ आएको २ हजार भत्तालाई तलबमा समायोजन गरि २०७९/८० आर्थिक वर्षमा १५ प्रतिशत वृद्धि तलब रकम आगामी सिनेट बैठकबाट निर्णय गरेर बजेट उपलब्धताको आधारमा वितरण गर्दै जाने पनि सहमति भएको छ।

प्रतिष्ठानको तलब स्केल २३ हजार सम्म भएका कर्मचारीहरुलाई २०८० साउनदेखि न्युनतम तलब १५ प्रतिशत हुन आउने रकम निर्वाह भत्ता स्वरुप उपलब्ध गराउने र २३ हजार माथि तलब भएकाहरुको हकमा बजेटको उपलब्धताको आधारमा क्रमशः वितरण गर्दै जाने पनि सहमति भएको छ। यस्तै, करार सेवामा तीन बर्षभन्दा बढी कार्य गरेका प्रशासनिक, प्राविधिक तथा अन्य कर्मचारीहरुलाई प्रतिष्ठानले तय गरेअनुसार परफरमेन्स करार सेवा अन्तर्गत नियुक्त गर्ने पनि सहमति भएको छ।

प्रकाशित: २५ भाद्र २०८० १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App