२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै

चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्। गत सोमबार काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु भएको छ। हालसम्म डेंगीका कारण देशभरिमा १४ जनाको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।  

हालसम्म २४ हजार ४ सय १७ जना डेंगी संक्रमित भइसकेका छन्। ७५ जिल्लामा डेंगी संक्रमण फैलिकसकेको छ। चार वटा जिल्लाहरू सुनसरी, झापा, धादिङ र मोरङ छन्। त्यसपछि काठमाडौं जिल्लामा ४ सय ५८ जना संक्रमित भइसकेका छन्। काठमाडौं जिल्लामा देखिएको संक्रमित संख्यामा ५ सय जना संक्रमितको नजिक पुगेको देखिन्छ। यो महिनामा भने ३५ जना मात्र संक्रमित पुष्टि भएको देखिएको छ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभाग शाखाका संयोजक डा. शेरबहादुर पुनका अनुसार एक सातादेखि यता दैनिक एक दर्जनजना औसत डेंगीको उपचारमा आइरहेका छन्। ती मध्येमा कतिपय भर्ना हुन्छन् भने कतिपय भर्ना नभइ औषधी लिएर फर्किने गरेका छन्। डा. पुनका अनुसार उपचारमा आउनेहरू निश्चित एउटा टोलवाट नभइ बिभिन्न टोलहरूवाट आएको देखिन्छ। अन्य भागमा संक्रमण भएर पनि नजिकका निजी अस्पतालमा उपचार गर्ने कारण सबै यो अस्पतालसम्म नआइपुगेको डा. पुनले बताए।

टिचिङ अस्पताल महाराजगञ्ज जनरल प्राक्टिक्स विभागका प्रमुख डा. योगेन्द्र शाक्यका अनुसार एक सातादेखि दैनिक ३ जनाको दरले डेंगी संक्रमित आइरहेका छन्। उनीहरूमध्ये धेरैजसोमा कलेजो कमजोर भएको पाइएको डा. शाक्यले बताए। कं महानगरपालिकाको स्वास्थ्य शाखाले भने काठमाडौंमा नयाँ संक्रमितको संख्या जानकारीमा नआएको जनाएको छ। महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडलले भने, ‘ काठमाडौंमा कतै फेला पारेका छैनौं र जानकारीमा पनि आएको छैन।’ थप एक महिनाभन्दा बढी डेंगी संक्रमणको जोखिम भएकाले सबैलाई सचेत हुन राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ।  

एक सातादेखि दैनिक १० जना जति उपचारका लागि डेंगी संक्रमित आइरहेको चाहबिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. गुप्तबहादुर श्रेष्ठका अनुसार आएकामध्ये १ जना भर्ना हुने गरेका छन्। धेरैजसोे बहिरंग विभागकै उपचारमा घर फर्किरहेको बताए। ‘धेरैजसो सामान्य समस्यामै ठिक भएका छन्, जटिल समस्या कम संख्यामा छ,’ उनले भने।  

डेंगी एडिस एजिप्टाई लामखुट्टको टोकाइबाट सर्ने सरुवा रोग हो। यो रोग लागेपछि बिरामीको टाउको दुख्ने, आँखाका गेडी दुख्ने, शरीर दुख्ने, शरीरमा रातो बिमिरा आउने र आन्तरिक रक्तश्राव भई बिरामीको शरीरमा रातो रगतको सेल कम हुने र कतिपय अवस्थामा मृत्युसमेत हुन्छ। एउटै व्यक्तिलाई पटक–पटक टोकेमा जटिल समस्या आउने भएकाले मुख्य कुरा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकले सुझाएका छन्। लामखुट्टेको टोकाइबाट मात्र नभएर वासस्थान नष्ट गरेमा यसको वृद्धि रोक्न सकिने भएकाले सफा पानी जम्मा भएका भाँडा सफा गर्ने, गमलाको थाली, कुलरको भाँडो सफा गर्ने र टायर या खाली बोटलमा पानी जमेको भए सफा गर्ने, धेरै दिनसम्म पानी जम्न नदिनेलगायत सावधानी अपनाउन चिकित्सकको सुझाव छ।

प्रकाशित: २३ भाद्र २०८० ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App