३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मृगौला झिक्दा बिरामीको मृत्यु प्रकरण : पीडित परिवारलाई २२ लाख दिइयो

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले डाक्टरको लापरबाहीले मृत्यु भएको भनिएका बिरामीका परिवारलाई २२ लाख दिएको छ । भने लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने पीडित परिवार सँग प्रतिवद्धता जनाएको छ।

कंचनपुर वेलौरी नगरपालिका वडा नं १० शिव नगर बस्ने ५६ वर्षीय ऐजनलाल चौधरीको किड्नीमा भएको पत्थरीको शल्यक्रिया गर्दा किड्नी पनि झिकेपछि मृत्यु भएको थियो । डा जोनेश तिवारीले उनको शल्यक्रिया गरेका थिए । चिकित्सकको लापरबाहीले चौधरीको मृत्यु भएको भन्दै दोषी चिकित्सकलाई कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आफन्त लगायतकाले सोमवार दिनभर अस्पताल अगाडी प्रदर्शन गरेका थिए । सडकमा चक्काजाम समेत गरेका थिए। 

सोमवार राती अस्पताल र मृतकका परिवार बिच सहमती भएको थियो । मृतकका छोराको पढाई खर्च र दुई छोरीको बिहेको खर्च वेहोर्ने तथा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्ने लिखित सहमती भएको मृतकका आफन्तले बताएका छन ।‘मेरो पढाई खर्च र दुई बहिनीको बिहे खर्च वेहोर्ने सहमती भएको हो’मृतकका छोरा ज्योति प्रकाश चौधरीले भने,‘२२ लाख वरावरको दुई चेक दिएको छ’। यसै गरी लापरबाही गर्ने चिकित्सकलाई अस्पतालले कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गर्ने सहमती भएको छ । सहमती भएपछि शव बुझेर मंगलवार बुबाको अन्तेष्टी गरेको उनले बताए । ज्योतिप्रकाश चितवन मेडिकल कलेजमा एम वि वि एस प्रथम वर्षमा अध्ययनरत छन। मृतक चौधरीको दुई छोरा र चार छोरी रहेका छन । दुई छोरीको बिहे भइसकेकोमा बिहे गर्न बाँकी रहेका छोरीको बिहे खर्च गर्न भनेर आफन्तले रकम माग गरेका हुन।

दुई वटै मृगौलामा पत्थरी भएका चौधरीको शनिवार दिउसो चिकित्सक जोनेश तिवारीले शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरेर पत्थरी निकालेर शल्यक्रिया सफल भनिए पनि चौधरीको पेटभित्र रक्तश्राव भएर अवस्था बिग्रँदै गयो । राती १२ बजे किड्नी नै झिकेपछि मात्र बिरामी बाच्ने भनेर पुन शल्यक्रिया गरि वाँया किड्नी झिकिएको थियो । किड्नी झिकेपछि होस नआउँदै भेन्टिलेटरमै उपचारको क्रममा बिरामीको ज्यान गएको थियो।

आईतवार नै चौधरीको मृत्यु भएपनि सोमवार मात्र मृत्यु भएको जानकारी दिएको आफन्तको गुनासो थियो।

स्वस्तिक अस्पतालले सोमवार बिहान साढे ९ बजे चौधरीको मृत्यु भएको बताएको थियो। मृतकका छोराले डाक्टरको लापरबाहीले बुबाको मृत्यु भएको भन्दै डा तिवारीको विरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी लेखेर दर्ता गराउने प्रयास समेत गरेका थिए । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले उनको जाहेरी दर्ता गर्न अस्वीकार गरेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले चिकित्सकको लापरबाहीको मृत्यु भए नभएको भन्ने विषयका उजुरी मेडिकल काउन्सिलले हेर्ने भएकाले प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले दर्ता नगरेको बताए । घटनाको अनुसन्धान गरेर त्रुटि भएको पाइए मेडिकल काउन्सिललाई जानकारी लेखि पठाइने उनको भनाई छ। 

प्रकाशित: १२ भाद्र २०८० १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App