१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले  ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भने,‘दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ। दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका छन्।’

पहाडमा पनि डेङ्गु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने,‘यहाँ पनि डेङ्गु सङ्क्रमण बढेको छ। सबैले सचेत रहन आवश्यक छ।’

डेङ्गु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्दछन्। यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट-खुट्टा सुन्निने जस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ।

डेङ्गु जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ।

स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए। वर्षातमा दैनिक डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको छ। सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।

निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा सङ्क्रमण देखिएकामा जुलाइमा त्यो संख्या बढेर ५८ पुगेको छ।

यस्तै अगस्ट महिनामा भने डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको पाइएको छ। अगस्तको हालसम्म दुई सय १३ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।

सुदूरपश्चिममा सन् २०२३ को हालसम्म पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ। उनले भने,‘अरू महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु सङ्क्रमितको संख्या अधिक बढेको पाइएको छ। गर्मी र वर्षातको समय रहेकाले यो संख्या बढेको हो।’

यसअघि सन् २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५ जनामा सङ्क्रमण देखापरेको थियो। प्रदेशको तथ्याङ्क अनुसार सबैभन्दा बढी  पहाडी जिल्ला दार्चुलामा एक सय ९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

कैलालीमा एक सय २५, कञ्चनपुरमा ९५, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १५, बझाङमा १२, डडेल्धुरामा नौ र बैतडीमा छ जनामा सङ्क्रमण देखिएको छ। सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन।

गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो। लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले  बिरामीको संख्या बढ्न थालेको जोशीले बताए। उनले भने,‘डेङ्गुको जोखिम कात्तिकसम्ममै रहन्छ। वर्षातको समयमा लामखुट्टे उत्पादन बढी हुने र यसको टोकाइबाट सङ्क्रमण पनि हुन जान्छ।’

प्रकाशित: १० भाद्र २०८० ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App