१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मोटोपन घटाउने खोप मुटु रोगीलाई पनि अमृत

अमेरिका र बेलायतमा पछिल्लो समय तौल घटाउने खोपले निकै चर्चा पाएको छ। द टाइम्स पत्रिकाले शनिबार यस खोपले मुटु रोगीलाईसमेत फाइदा पुग्ने जनाएको छ। नयाँ पुस्तामा मोटोपनविरुद्धको खोपको प्रभाव के पर्छ भनी गरिएको एउटा वैश्विक परीक्षणमा यसले चाँडै गल्ने र सास लिन गाह्रो हुने बिरामीलाई पनि फाइदा पुर्याएको दाबी गरिएको छ।  

यो खोपले मानिसको अत्यधिक मोटोपनको उपचार त गर्छ नै, यो मुटु रोगीका लागि पनि लाभदायी भएको जानकारी शुक्रबार नेदरल्यान्ड्सको राजधानी आम्सटर्डममा आयोजित ‘युरोपियन सोसाइटी अफ कार्डियोलजी कंग्रेस’लाई गराइएको छ।  

खोप परीक्षणमा सालाखाला ६९ वर्ष उमेरका १३ देशका मोटोपन तथा मुटुरोगी भएका ५२९ जना सहभागी थिए। जसमध्ये आधालाई सातामा एकपटक मोटोपन घटाउने खोप दिइयो भने आधालाई प्लासिबो खोप। प्लासिबो खोपमा कुनै पनि औषधि हालिएको हुँदैन। तर कहिलेकाहीँ प्लासिबो खोप दिँदा पनि बिरामीलाई सकारात्मक प्रभाव पर्छ किनभने उनीहरूले यो औषधिबिनाको खोप हो भन्ने सोच्नै पाएका हुँदैनन्।

सेमाग्लुटाइड नामक औषधि प्रयोग गरी मोटोपनको उपचार गराइरहेकामा सकारात्मक परिवर्तन देखापरेको चिकित्सकले बताएका छन्। यति मात्र होइन, उनीहरूको गुणस्तरीय जीवन र अन्य स्वास्थ्य सूचक पनि सकारात्मक देखिए। यो अघिल्ला औषधिभन्दा तीन गुणा बढी प्रभावकारी हुनुका साथै मुटुरोगीलाई समेत लाभदायी देखिएको बताइएको छ।  

मोटोपनविरुद्धको खोप लगाएपछि १३.३ प्रतिशतले तौल घटेको थियो। प्लासिबो खोप लगाएकाको तौल २.६ प्रतिशतले घटेको थियो। सेमाग्लुटाइड औषधि प्रयोग गर्नेको मुटुको व्यथा ४४ प्रतिशतले घटेको थियो भने प्लासिबो प्रयोग गर्नेको ७ प्रतिशतले।  

सेन्ट ल्युक्स मिड अमेरिका हार्ट इन्स्टिच्युटका चिकित्सक तथा अध्ययन प्रतिवेदनका प्रमुख लेखक डा. मिखाइल कासिबोरोड भन्छन्, ‘श्वास लिँदा हुने समस्या, चाँडै थाक्ने, शरीर सुन्निनेजस्ता समस्या भएका बिरामीलाई यो खोप उपलब्धिमूलक साबित भएको छ। अत्यधिक मोटोपन भएका मानिसलाई यस खोपले तुलनात्मक रूपमा राम्रो र गुणस्तरीय जीवन दिने देखिएको छ।’

परीक्षण अवधिमा सेमाग्लुटाइड खोप लगाएकामध्ये तीन प्रतिशत र प्लासिबो खोप लिएकामध्ये ११ प्रतिशतमा भने मुटुको समस्या देखिएको थियो। मोटोपनका कारण मुटुमा देखिने खराबी हटाउन यो औषधि फलदायी हुनेमा आफू विश्वस्त रहेको डा. कासिबोरोडले बताए। संसारमा हृदयाघातबाट मृत्यु हुने तीनजनामध्ये दुई जना मोटोपन भएका छन्। अब मोटोपनका कारण हुने हृदयाघात कम गर्न खोप प्रभावकारी हुने प्राध्यापक फ्रांक रुस्चित्काले बताए। पछिल्लो समय बेलायतको नेसनल हेल्थ सर्भिसले यो औषधि मोटोपनका बिरामीमा प्रयोग गर्न सकिने भन्दै प्रमाणित गरेको छ। यो औषधिले मान्छेको भोक घटाउने जिएलपी–१ नामक हर्मोनले जस्तै काम गर्ने बताइएको छ।

यो औषधिको उत्पादन तत्काल निकै कम भए पनि भविष्यमा चिकित्सकले सिफारिस गरे उत्पादन बढ्न सक्नेसमेत बताइएको छ।हृदयाघात भएका बिरामीलाई यो खोप लगाउँदा उनीहरूले सामान्य गतिविधि गर्ने मात्र नभई कतिपय अवस्थामा असम्भव ठानेका क्रियाकलापसमेत गर्न सकेको देखिएको छ। १० वर्षअघि सेमाग्लुटाइडको खोजी डाइबिटिज (चिनी रोग) का लागि गरिएको थियो। ञ्क्ष्द टाइम्सञ्क्ष् पत्रिकामा एलिनोर हेवार्ड लेख्छिन्, ‘पछि क्रमशः के पत्ता लाग्यो भने सातामा एकपटक यो खोप लगाउँदा चिनी रोगको उपचार पनि हुने र मान्छेको तौल पनि घट्ने देखियो।’  

गत महिना १७ हजार ५ सय जनालाई नियमित रूपमा यो खोप लगाउँदा मोटोपन त घट्यो नै, हृदयाघातको मात्रामा पनि कमी आयो। मुटु पोल्ने, मुटुको नसा फैलिनेजस्ता समस्या समाधानमा पनि सेमाग्लुटाइड प्रयोग गर्न सकिने देखिएको छ। यो खोप लामो समयसम्म लगाउँदा बिरामीमा केकस्ता अप्ठ्यारा आइपर्छन् भन्नेबारे अध्ययन हुन बाँकी छ।

प्रकाशित: १० भाद्र २०८० ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App