पाठेघरको मुखको क्यान्सरको परीक्षणमा नयाँ प्रविधि तथा त्यसका फाइदाका बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले अभियान सुरु भएको छ।
लिक्विड बेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिने उद्देश्यले ‘सेप दि फ्युचर अफ वुमन्स’ नामक सचेतनामूलक कार्यक्रम बिराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानको महत्व बारे चिकित्सक अभिमुखीकरण गरिएको थियो।
भारतीय मेडिकल टेक्नोलोजी कम्पनी बेक्टोन डिकिन्सन एण्ड कम्पनी(बीडी) को आयोजनामा सम्पन्न कार्यक्रममा बीडी भारतका दक्षिण एसिया प्रबन्ध निर्देशक अतुल ग्रोवरले सहजीकरण गरका थिए। उनले पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रि–क्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा जानकारी गराएका थिए।
विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नेपाल सोसाइटी अफ गाइनोलोजिस्ट पूर्वी च्याप्टर र एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्टसँगको सहकार्यमा सम्पन्न कार्यक्रममा प्याथोलोजिस्ट, प्रसुति तथा स्त्री रोग विशेषज्ञका लागि प्रस्तुती थियो। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा चिकित्सा क्षेत्रका ७० भन्दा बढि विज्ञहरुको सहभागितामा थियो। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने क्यान्सर मध्ये एक भएकाले न्यून सचेतनाको कारणले गर्दा समयमै निदान गर्न ढिलाइ भइरहेको विज्ञ चिकित्सकहरुले धारणा राखे।
नेपालमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरको रुपमा रहेको छ। वार्षिक सरदर दुई हजार दुई सय ४४ नयाँ केसहरू र एक हजार चार सय ९३ जनाको मृत्यु हुने गरेको छ । नेपालमा प्रति एक लाख महिलामा १६.४ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यसको दर घटाउनुर्ने भनेर सिफारिस गरेको भएपनी यो चार गुणा बढेको छ। डब्लुएचओले प्रति एक लाख महिलामा चार जनामा झार्नुपर्ने भनेको थियो । नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक एक लाख महिलामा ११ जनाको ज्यान जाने गरेको छ।
प्रकाशित: ९ भाद्र २०८० ०८:३२ शनिबार