१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

धरानका ल्याबहरू साउन ३२ सम्म दर्ता र नवीकरण गर्ने सहमति

धरानमा सञ्चालनमा रहेका ल्याबहरूले साउन मसान्तसम्म दर्ता र नवीकरण गर्नुपर्ने भएको छ।अनुगमनको क्रममा दर्ता पोलिक्लिनक तथा ल्याबहरू नवीकरण र दर्ता विना सञ्चालनमा रहेको खुलेको थियो। 

डेंगुको महामारीको बेला पनि ल्याबहरूले अत्यधिक महँगो शुल्कमा टेष्ट गर्ने, स्लाईन पानीको बढी मूल्य लिने गरेको जनगुनासो आएपछि उपमहानगरपालिकाले अनुगमन गरेको थियो । त्यस क्रममा ल्याबहरू दर्ता नगरेको र दर्ता भएकाहरूले पनि नवीकरण नगरेको खुलेपछि उपमहानगरपालिकाले सबै ल्याब सञ्चालकहरूलाई छलफलमा बोलाएको थियो । उक्त छलफलमा धरान क्षेत्रमा दर्ता भएको र दर्ता नभई सञ्चालनमा रहेका ल्याबहरू कानुनी दायरामा आउन सहमत भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

मेहताका अनुसार दर्ता भएकाहरू साउन ३२ गतेभित्र नवीकरण गर्ने प्रक्रियामा आउनुपर्ने र दर्ता नभएकाहरूलाई मापदण्ड अनुसार धरानबाटै दर्ता हुने भए प्रक्रियामा आइसक्नुपर्ने निर्णय भएको छ।प्रदेश र संघमा दर्ता तथा नवीकरण गर्नुपर्ने स्वास्थ्य संस्थाले पनि स्वास्थ्य महाशाखाहरूबाट मसान्तसम्म सिफारिस लिइसक्नुपर्ने सहमति भएको मेहताले जानकारी दिए । यस्तै, धरानमा डेंगु पोजेटिभको संख्या यकिन गर्न सबै ल्याबहरूलाई हरेक दिन ४ बजेसम्म ल्याब टेष्टको रिपोर्ट पनि पठाउने बैठकले निर्णय गरेको छ । यसको लागि स्वास्थ्य महाशाखाले वाटस्एप ग्रुप बनाउने र सोही ग्रुपमा प्रत्येक दिनको रिपोर्ट ल्याबहरूले उपलब्ध गराउने महाशाखाले जनाएको छ। 

गत वैशाख १ गतेदेखि हालसम्म भएको परीक्षणको रिपोर्ट पनि पठाउन महाशाखाले ल्याबहरूलाई आग्रह गरेको छ । हालसम्म उपमहानगरपालिकासँग बिपी प्रतिष्ठान,सभागृहमा उपमहानगरले चलाएको शिविर र वडा नं १३ को टेष्टको मात्र तथ्याङ्क छ । निजी क्लिनिक तथा ल्याबहरूमा भएको परीक्षणको तथ्याङ्क हालसम्म उपलब्ध नभएपछि धरानमा कति संख्यामा डेंगु पोजेटिभ छन् भन्ने यथार्थ जानकारी छैन।उपमहानगरपालिका र ल्याब सञ्चालकहरूले यसअघि छलफल गरेर डेंगु परीक्षणको मूल्य ५ सय ५० रुपैया लिने निर्णय गरिसकेको छ। 

प्रकाशित: २३ श्रावण २०८० १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App