१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका डा.आचार्यको उम्मेदवारी

नेपालले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को दक्षिण पूर्वी एसिया क्षेत्रका निर्देशक पदको चुनावमा डा. शम्भु प्रसाद आचार्यलाई उम्मेदवार बनाउने निर्णय  गरेको छ।सङ्गठनका विश्वभर ६ क्षेत्रीय कार्यालय रहेकोमा दक्षिण पूर्वी एसिया क्षेत्र पनि एक हो।

यो क्षेत्रीय कार्यालयले यो क्षेत्रका बंगालादेश, भुटान, डिमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ कोरियो, भारत, इन्डोनेसिया, माल्दिभ्स, मियान्मा, नेपाल, श्रीलङ्का, थाइल्यान्ड र टिमोर लेस्टे सहित कुल ११ राष्ट्रलाई समेट्दछ।

परराष्ट्र मन्त्रालयले नयाँ दिल्ली, ढाका, कोलम्बो  र वैककस्थित नेपाली राजदूतावासलाई डा आचार्यको पक्षमा समर्थन जुटाउन पत्राचार गरेको छ।यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले यी देशका समकक्षीलाई आचार्यलाई समर्थन गर्न पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ।

यो क्षेत्रीय कार्यालयले दक्षिण पूर्वी एसिया क्षेत्रको स्वास्थ्य सम्बन्धी नीति, कार्यक्रम तथा बजेट आदिमा प्राथमिकता निर्धारण गरी कार्य गर्दै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनमा ३ दशकको अनुभव बोकेको डा.आचार्य हाल डब्लुएचओको जेनेभा कार्यालयका निर्देशक पदमा कार्यरत छन्।निर्देशकको हैसियतले उनले संयुक्त राष्ट्र संघीय प्रणालीसँग तथा डब्लुएचओको सदस्य राष्ट्रसंग सहकार्य गर्ने भूमिका निर्वाह गर्दै आएका छन्।

क्षेत्रीय निर्देशकको पदको चुनावमा ११ वटै सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा तोकिएको प्रतिनिधिले मतदान दिने व्यवस्था छ।मतदान आगामी नोभेम्बर १ तारिखमा हुदैछ।यो पदका लागि आचार्य बाहेक वंगालादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी शैमा वाजेदले उम्मेदवारी दिएकी छिन ।अटिजम रोगको उपचारमा पैरवी गर्दै आएकी बाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य विषयका सल्लाहकार समूहकी सदस्य समेत हुन। 

डब्लुएचओमा लामो समयसम्म काम गरेको र सङ्गठनका अन्य क्षेत्रीय कार्यालयसँग पनि सुमधुर सम्बन्ध बनाएका आचार्यले आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका छन।तर यसका लागि नेपाल सरकारको बलियो कूटनीतिक प्रयास महत्त्वपूर्ण हुने देखिएको छ। 

प्रकाशित: २२ श्रावण २०८० ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App