२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

धरानमा डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

र्‍यापिड टेष्टको शुल्क ५ सय ५० तोकियो

वडा नं १३ ले शुरु गरेको निःशुल्क उपचार केन्द्रमा विरामीहरु। तस्बिर: रोहित राई

डेंगु महामारी फैलिएको धरानमा थप एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको छ। 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार विराट नर्सिङ होममा ३५ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो। यो सँगै धरानमा डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। मृतक महिला वडा १४ को भएपनि उनी भेडेटारमा होटल सञ्चालन गर्थिन्।

र्‍यापिड टेष्टको शुल्क ५५० मात्र

धरानमा डेंगु ज्वरोको र्यापिड टेष्ट गर्दा लिइने शुल्क ५ सय ५० तोकिएको छ। महामारीको मौका छोपेर ल्याबहरुमा डेंगु परीक्षण गर्दा १५ सयभन्दा बढी शुल्क लिइरहेको व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर शुल्क तोकेको हो।

बजार अनुगमन समिति, सुनसरी उद्योग वाणिज्य संघ, औषधी व्यवसायी र ल्याब तथा पारामेडिकलका संस्थाको प्रतिनिधिहरुहरुको समन्वयात्मक बैठकले डेंगु र्यापिड टेष्टको मुल्य ५५० रुपैया तोकेको उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए। स्लाइनको मुल्य पनि तोकिएको बिक्री मुल्य भन्दा बढी लिन नपाउने पनि निर्णंय भएको उनले बताए। सोही बैठकले सेवा शुल्क पनि महामारीको बेला सामाजिक उत्तर दायित्व वहन गर्दै न्युनतम मात्र लिने सहमति भएको उपमेयर बेघाले जानकारी दिए।

ल्याब तथा क्लिनिकहरुले उपचारको क्रममा विरामीलाई लिएको शुल्क सबै विलमा प्रष्ट उल्लेख गर्नुपर्ने पनि निर्देशन दिइएको उपमेयर बेघाले जानकारी दिए। ‘तोकेको मुल्यभन्दा बढी स्लाइन पानीको मुल्य लिन पाइदैन। सेवा शुल्क पनि यस्तो बेला न्युनतम मात्र लिनुपर्छ, सामाजिक उत्तरदायित्व पनि वहन गर्ने गरि लिनुस् भन्यौं,’ उनले भने, ‘विरामीलाई विल दिदा जे जेको पैसा लिएको हो, त्यो सबै प्रष्ट खुलाउनुपर्छ भनेका छौं। एकमुष्ठ लेख्न पाइदैन। स्लाइनको कति लिएको हो, डेंगु टेष्टको कति हो, सेवा शुल्क कति लिएको हो, त्यो सबै प्रष्ट खुलाउनुपर्छ।’

 वडाहरुमै डेंगु विरामीको उपचार  

डेंगु नियन्त्रणमा आउनुको साटो झन् बढ्दै गएपछि वडा कार्यालयहरुले पनि निःशुल्क उपचार सेवा शुरु गरेको छ। धरानमा वडा नं १३ ले सबैभन्दा पहिला डेंगुको प्राथमिक उपचार सेवा शुरु गरेको थियो।

वडा १३ ले शुरु गरेपछि मात्र उपमहानगरपालिकाले पुरानो अस्पतालमा निःशुल्क डेंगु उपचार केन्द्र शुरु गेको थियो। अहिले धरानको वडा १४, ८ र १५ ले पनि निःशुल्क उपचार सेवा शुरु गरेको जनाएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप अत्यधिक भएको र निजी क्लिनिकहरुमा महंगोमा उपचार गर्नुपर्ने बाध्यता भएकोले वडाका जनतालाई राहत दिन प्राथमिक उपचार सेवा शुरु गरिएको वडा १३ का अध्यक्ष नेत्र काफेलेले जानकारी दिए।

उनका अनुसार उच्च ज्वरोका विरामीहरु दैनिक ६० जनाको हाराहारीमा उपचार गर्न आउछन्। शुरुमा आधारभुत स्वास्थ्य केन्द्रका ४ वटा बेडबाट उपचार शुरु गरेपनि विरामीको संख्यण बढेपछि हलमा राखेर उपचार सेवा दिइरहेको अध्यक्ष काफ्लेले बताए। स्लाईन सहित विरामीहरुलाई औषधी पनि निःशुल्क दिइरहेको उनले बताए। वडाले नै उपचार शुरु गरेको थाह पाएपछि विभिन्न दाताहरुले औषधी दिएर सहयोग भइरहेको उनले बताए। डेंगुका विरामीहरुलाई उपमहानगरपालिकाले सभागृह र पुरानो अस्पतालमा निःशुल्क डेंगु टेष्टको व्यवस्था गरेको छ भने वडा १३ ले पनि निःशुल्क टेष्ट गर्ने गरेको छ।  

प्रकाशित: २१ श्रावण २०८० १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App