२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

धरानमा डेंगुका बिरामीहरूलाई निःशुल्क उपचार

धरानको पुरानो अस्पतालमा बुधबारदेखि सञ्चालनमा आएको डेंगु उपचार केन्द्र। तस्बिर: नागरिक

डेंगु महामारी आक्रान्त धरानमा बिरामीहरूको लागि उपमहानगरपालिकाले निःशुल्क उपचार केन्द्र सुरु गरेको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा धरान १ स्थित पुरानो अस्पतालमा उपमहानगरपालिकाले बुधबारदेखि निःशुल्क उपचार केन्द्र सुरु गरेको हो। 

केन्द्र २५ बेडको सञ्चालन हुने भएपनि तत्काल १० बेड राखेर सुरु गरिएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार उपमहानगरले थप १५ बेड व्यवस्थापन गर्नेछ।

प्रदेश स्वास्थ्य मन्त्रालयले एक जना डाक्टर र नर्स पनि उपचारमा सहयोग गर्न धरान पठाएको छ। ओपिडीमा बिरामीको नाम दर्ता गर्ने र आवश्यक जाँच पछि औषधी दिएर घर पठाउने वा आवश्यक परे उपचार केन्द्रमा राखिने डेंगुका फोकल पर्सन विजयकुमार साहले बताए। केन्द्रमा बिरामीको निःशुल्क डेंगु जाँच हुनेछ भने औषधी पनि निःशुल्क वितरण हुनेछ।

उपमहानगरको समन्वयमा डेंगुका बिरामीहरूको लागि यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अलग्गै फिवर क्लिनिक सञ्चालनमा आएको थियो भने प्रतिष्ठानले छुट्टै डेंगु वार्ड पनि सञ्चालन गरेको छ। यसैगरि, उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा पनि निःशुल्क डेंगु परीक्षण गराइरहेको छ।

एकै साथ सर्च एण्ड डिष्ट्रोय अभियान

धरान उपमहानगरपालिकाले बुधबार एकैसाथ एकै समयमा सबै वडाहरुमा लार्भा खोजी र नष्ट गर्ने अभियान गरेको छ।

बिहान ७ बजे धरानको २० वटै वडाहरुमा जनप्रतिनिधि, सामाजिक संघसंस्था, राजनीतिक दल, शिक्षक, विद्यार्थीहरुलेसर्च एण्ड डिष्ट्रोय अभियान गरेको थियो। सर्च एण्ड डिष्ट्रोय अभियान गर्न सरकारी तथा सामुदायिक विद्यालयहरुलाई बुधबार बिदा दिइएको थियो।

धरानमा डेंगु महामारी फैलिएपछि मंगलबार आकस्मिक कार्यपालिका बैठक बसेर बुधबार एकै साथ सर्च एण्ड डिष्ट्रोय कार्यक्रम गर्ने निर्णय गरेको थियो। साथै, विद्यालयहरू बिदा दिने निर्णय गरेको थियो।

धरानमा २ महिनाभन्दा बढी समयदेखि सुरु भएको डेंगुको प्रकोपले ८ जनाको मृत्यु भइसकेको छ। धरानको सबै वडामा डेंगुको प्रकोप फैलिएको छ। सर्च एण्ड डिष्ट्रोय अभियान चलिरहे पनि डेंगु नियन्त्रणमा आउन सकेको छैन।

यो पनि पढ्नुहोस्

धरानमा अवैध रुपमा पोलिक्लिनिक र ल्याब सञ्चालन

प्रकाशित: १७ श्रावण २०८० १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App