७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग

किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आउने भएपछि बाजुराले पाउनु पर्ने माग बढेको छ। गरिबी र मानव विकास सूचाकंको सूचीमा पुछारमा पर्ने बाजुराका किशोरीको स्वास्थ्य अवस्था सुधारका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप बाजुराले पाउनु पर्ने माग बढेको हो।

नेपाल सरकार स्वास्थ्य सेवा विभागले यो वर्ष दुर्गम जिल्लाका २० हजार किशोरीलाई लक्षित गर्दै खोप उपलब्ध गराउन लागेको जानकारी पछि बाजुरा बासीले माग गरेका हुन्। सामाजिक सञ्जालदेखि मन्त्रालयमै पुगेर नेता कार्यकर्ताले पनि बाजुरालाई समेट्न आग्रह गरेका छन्।  

सरकारले १० हजार भन्दा कम किशोरी रहेको जिल्ला छनोटको मापदण्ड बनाएको छ। बाजुरा पनि राज्यले तय गरेको छनोट मापदण्ड मिल्ने जिल्लामा पर्छ। समस्या बढी भएकोले बाजुराले पाउने बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन्।

९ देखि १४ वर्ष उमेर समूहका किशोरीका लागि नेपालमा यो खोप पहिलो पटक आउन लागेको हो। चीन सरकारको सहयोगमा आउने खोप नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सले सम्झौता अनुसार स्वास्थ्य सेवा विभागलाई उपलब्ध गराउन लागेको छ।  

पहिलो चरणमा ६ देखि ७ जिल्लालाई छनोट गर्ने तयारी गरिएपनि १५ बढी जिल्लाले खोप पाउनु पर्ने माग दाबी गरिरहेका छन्। दुर्गम तथा पिछडियको र गरिबीका कारण बढी स्वास्थ्य समस्या देखिने जिल्ला प्राथमिकतामा पर्ने भएपनि मन्त्री स्तरीय निर्णय हुनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले बताएका छन्।

‘हामीले जिल्लाको समस्या र अवस्था बताउने हो, मन्त्री स्तरीयमै निर्णय हुने भएकोले  बाजुरा पर्ने नपर्ने विषय निर्णय पछि मात्रै थाह हुन्छ, तर पनि मेरो प्रयास रहन्छ, स्वास्थ्य सचिव डा.पोखरेलले भन्नु भयो।’

सिकोलिन चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको एचपीभी भाइरसविरुद्धको खोप हो। यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो। नेपालमा अहिले यसको मूल्य प्रति एक भायलको ६ हजार २४० रुपैयाँ तोकिएको छ।  

नेपालका किशोरीहरुले सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर समस्या भोगिरहेका छन्। त्यो मध्ये पनि पाठेघरको मुखको क्यान्सरको समस्या भोग्न बाध्य छन्। बाजुरा जस्तो बढी समस्या भोग्न बाध्य जिल्लाका किशोरीले समयमै खोप पाउन सके भविष्यमा स्वास्थ्य समस्या र पाठेघरको क्यान्सरको समस्या भोग्न नपर्ने स्वास्थ्य कर्मी बताउँछन्।  

एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँने हुँदा बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु उत्तम मानिन्छ। नेपाल बाहेकका देशमा यो नियमित खोपका रुपमा लगाइने गरिएको छ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) लाई मानिएको छ। पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस छाला देखि छालाको सम्पर्कबाट विशेषगरी यौन क्रियाकलापको समयमा सर्ने गर्दछ। यो भाइरसका एक सयभन्दा बढी प्रकारका हुने गरेको बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताएका छन्।  

बाल विवाह, कम उमेरमा गर्भवती, महिनावारी सरसफाई लगायतका विभिन्न कुराले बाजुरा जिल्लामा यसको जोखिम बढ्दो छ। बाजुरा जस्तो पछाडी पारिएको जिल्लालाई विशेष क्षतिपूर्ति स्वरूप यस्ता कार्यक्रमहरु संचालन गर्नुपर्छ। तसर्थ, बाजुरा जिल्लामा अनिवार्य रुपमा सञ्चालन गर्न राज्य तयार हुनु पर्ने अधिकृत कुँवरले सामाजिक सञ्जाल मार्फत नै सचेत गराएका छन्।  

प्रकाशित: २८ असार २०८० ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App