१५ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरिया सरकारद्वारा नेपाल कोरिया मैत्री अस्पताललाई एक अर्ब २५ करोड सहयोग

दक्षिण कोरियाली सरकारले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नतीका लागि ९ दशमलव ५ मिलियन डलर अर्थात एक अर्ब २५ करोड रुपैंया आर्थिक सहायता प्रदान गरेको छ। 

विपन्न वर्गका नागरिकहरूको विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्नका लागि चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत सो सहयोग प्राप्त भएको जनाइएको छ। सम्झौता पत्रमा  नेपाल सरकारकारतर्फबाट अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र दक्षिण कोरिया सरकारकारतर्फबाट नेपालस्थित कोरियाली राजदूत पार्क ते–योङले हस्ताक्षर गरेका छन्।

सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रौशन, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँच लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बिमा लक्ष्यका साथै कोइका मार्फत ५ वर्ष (सन् २०२७ सम्ममा पूरा हुने) यस योजनाका लागि ९.५ अमेरिकी डलर खर्च गरिने जनाइएको छ।

यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुर थिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्ने जनाइएको छ। प्राप्त सहयोगबाट कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको स्त्तोरन्नती गरी अस्पतालको छेउको जग्गामा १५० शैयाको अस्पताल भवन निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीहरूको क्षमता विकास गर्ने जनाइएको छ। प्रभावकारी सेवा प्रवाहका लागि अस्पतालका पुराना र नयाँ भवनहरू आपसमा जोडिने जनाइएको छ।

सम्झौतापछि मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले कोरियाली सरकारको सहयोगले मध्यपुर थिमि नगरवासी मात्र नभई भक्तपुर जिल्ला र आसपासका जिल्लावासी समेत गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्दै आएको जानकारी गराए।हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कोरिया नेपालको निकै नजिकको विकास साझेदारको रुपमा रहँदै आएको बताए। कोइकाका निर्देशक कोङ मूहओनले कोइकाले नेपालमा विभिन्न स्वास्थ्य परियोजनाहरू कार्यान्वयन गरेको र हरेक परियोजनाको आफ्नै विशिष्ट उपलब्धि रहेको बताए। 

राजदूत पार्क ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निक्कै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा व्यक्त गरे। अर्थ सचिव अर्जुनप्रसाद पोखरेलले दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि गणतन्त्र कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे।

प्रकाशित: २६ असार २०८० १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App