१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

धरानमा डेंगुबाट एक जनाको मृत्यु,शुरु भएन सर्च एण्ड डिस्ट्रोय अभियान

धरानमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ। धरान उपमहानगरपालिका वडा १७ फोकल्याण्डकी एक महिलाको डेंगुकै कारण मृत्यु भएको हो।

तर धरान उपमहानगरपालिकाले भने नियन्त्रणको लागि प्रभावकारी कदम चालेको छैन। डेंगु नियन्त्रणको लागि लामखुट्टेको लार्भा नष्ट गर्ने सर्च एण्ड डिस्ट्रोय अभियान गर्नुपर्ने भएपनि धरानमा अहिलेसम्म सो अभियान शुरु हुन सकेको छैन। धरानमा सबैभन्दा बढी वडा १६ र १७ मा डेंगुको संक्रमण देखिएको छ। एउटा घरमा ४, ५ जनासम्म डेंगुको बिरामी भेटिएको वडा नं १७ का कार्यवाहक अध्यक्ष मनिष बिष्टले बताए।

‘तीन साताजति भयो, डेंगुकै कारण ३२ वर्षको महिलाको मृत्यु भएको छ। यो जानकारी मैले स्वास्थ्य महाशाखालाई पनि दिएको छुँ,’बिष्टले भने,‘स्वास्थ्य महाशाखाबाट जुन गम्भीरताको साथ डेंगुविरुद्ध काम गर्नुपर्ने हो, त्यति वास्ता भएको देखिन।’ डेंगुको प्रकोप बढ्दै गएपछि ३, ४ दिनसम्म उपमहानगरको स्वास्थ्य महशाखा धाएपनि चासो नदिएको उनको गुनासो छ। ‘वीपी प्रतिष्ठानसँग समन्वय गरौं, स्वास्थ्य महाशाखा र सहरी स्वास्थ्यको कर्मचारी छन्, टिम बनाएर टोल टोलमा परिचालन गरौं भनेको सुनुवाई नै भएन,’ उनले भने।

स्वास्थ्य प्रोटोकल अनुसार सकेसम्म फगिङ नगर्ने भन्ने छ। तर, जनताको माग फगिङ गर्नुपर्ने अत्यधिक धेरै भएकोले वडामा फगिङ भइरहेको पनि बिष्टले जानकारी दिए। ‘स्थानीयको माग फगिङ नै गरौं भन्ने धेरै भएकोले आधा वडा त सकिसक्यौं,’उनले भने। वडा १६ का अध्यक्ष मुरारी भट्टराईले पनि वडाबासीको माग बढी भएकोले फगिङ नै गर्नुपरेको बताए। ‘हिजोदेखि फगिङ नै गदैछौं, तर यसले विरामी, बालबालिका र वृद्धवृद्धालाई गाह्रो हुने भएकोले बाटो बाटोमा मात्र हुदैछ।’

डेंगु नियन्त्रणको लागि वडाको टोल विकास संस्था, क्लब र संघसंस्थालाई परिचालन गर्ने गरि पर्सि बैठक राखिएको पनि वडाअध्यक्ष भट्टराईले जानकारी दिए। ‘बजेटको चटारोले कार्यपालिका बैठकमा ब्यस्त हुनुपरेको छ, अब पर्सि बैठक राखेर डेंगु नियन्त्रणको लागि घरघरमा पुग्छौं।’

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार वडा १६, १७ र ११ डेंगुबाट बढी प्रभावित भएको छ। अन्य वडामा पनि डेंगुका विरामीहरु भएको महाशाखा प्रमुख उमेश मेहताले बताए। ‘फगिङ गर्यो भने मात्र नगरपालिकाले चासो दियो भन्ने बुझाई छ। तर, सकेसम्म फगिङ गर्नुहुदैन। सर्च एण्ड डिस्ट्रोय नै पहिलो प्राथमिकता हो,’ उनले भने,‘हामीले २० वटै वडालाई पत्राचार गरेर सर्च एण्ड डिस्ट्रोयको काम गर्न भनिसकेका छौं, जुनरुपमा हुनुपर्ने हो, भएको छैन।’

प्रकाशित: १० असार २०८० ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App