१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘सुरुमै थाहा पाए क्यान्सर निको हुन्छ’

कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।

सुरुमै थाहा पाउन विभिन्न जाँच गराउन सकिन्छ। क्यान्सर सचेतनाका लागि सद्भावना राजदूत तथा मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीले क्यान्सरको जोखिमबाट जोगिन विभिन्न उपाय सुझाएका छन्। उनले क्यान्सरबारे सचेतना जगाउन आमसञ्चारका माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले यसतर्फ सशक्त भएर लाग्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

उनले क्यान्सर लागेको सुरुकै अवस्थामा पत्ता लगाएर उपचार गर्न सके निको हुने बताए। आजभन्दा २० वर्ष पहिला र अहिलेको अवस्था फरक रहेको उनले बताए। क्यान्सर उपचारमा विकास भएका औषधि, रोग पत्ता लगाउने प्रविधि र उपकरणका कारण अब क्यान्सर निको हुने रोगमा समेटिन लागेको बताए।

विकसित देशहरूमा आधुनिक प्रविधि र सचेतनाका कारण पहिलेको तुलनामा क्यान्सरबाट हुने मृत्युदर घट्दै गएको र निको भएर बाँच्नेको संख्या पनि वृद्धि हुँदै गएको औंल्याए। क्यान्सर लाग्नेबित्तिकै पत्ता लगाएर उपचार गर्न सकेका कारण यस्तो सम्भव भएको उनको भनाइ छ।

कुनै पनि व्यक्ति क्यान्सरको जोखिममा हुन सक्छ। त्यसैले यस्तो जोखिमबाट जोगिन विभिन्न जाँच गराउनुपर्छ। क्यान्सर छिप्पिएपछि निको हुँदैन तर सुरु चरणमै थाहा पाएर उपचार गर्न सके निको हुन्छ।

तर नेपालकोे हकमा अहिले पनि क्यान्सर रोगी ढिला गरी मात्र उपचारमा पुग्ने गरेका छन्। यसैकारण धेरै क्यान्सर रोगीको मृत्यु हुने गरेको उनले बताए। ‘सुरुको अवस्थामा क्यान्सरले कुनै लक्षण देखाउँदैन। जतिबेला लक्षण देखिन्छ, त्यतिबेला निको गराउन नसकिने गरी ढिला भइसकेको हुन्छ’, उनले भने।

क्यान्सरप्रति हरेक व्यक्ति सचेत भएर नियमिति स्वास्थ्य जाँच गराए यो रोग लागे नलागेको थाहा हुन्छ। क्यान्सर लागेको प्रारम्भिक चरणमै थाहा पाएर उपचार गराए यसबाट बच्न सकिन्छ। त्यसैले यसतर्फ विशेष सचेत हुनुपर्ने उनको सुझाव छ। उनका अनुसार विशेषगरी ४० देखि ५० वर्ष उमेर नाघेपछि क्यान्सरसम्बन्धी नियमित जाँच गराउनुपर्छ। क्यान्सर वंशाणुगत पनि हुन्छ। यस्तो परिवारका सदस्य उच्च जोखिममा हुन्छन्। त्यसैले नियमित सामान्य र विशेष जाँच गरी क्यान्सर लागे–नलागेको पत्ता लगाउन सकिने डा. शाही बताउँछन्।

उनका अनुसार २५ वर्ष पहिला नेपालमा क्यान्सरको खासै उपचार थिएन र ढिलागरी मात्र यो रोग पत्ता लाग्थ्यो। ढिलागरी पत्ता लागेका कारण क्यान्सरका बिरामी बाँच्दैनथे। त्यतिखेर चिकित्सकहरूले पनि ‘क्यान्सर नो एन्सर’ भन्ने गर्थे।

तर अहिले नेपाल तथा विश्वका अन्य मुलुकमा क्यान्सर पहिचानमा विकास भएको अत्याधुनिक पद्धतिका कारण धेरैजसो क्यान्सर सुरुकै अवस्थामा थाहा पाउन सम्भव भएको र उपचार पनि सहज भएको उनले बताए।

क्यान्सर लागे–नलागेको र सम्भावित जोखिमबारे थाहा पाउन शरीरका विभिन्न अंगको भिडियो एक्सरे र एक्सरे गर्ने, त्यसबाट पत्ता नलागे एमआरआई, सिटिसक्यान, पेट स्क्यान, रगत र दिसा जाँच, स्तन र पाठेघरको मुखको क्यान्सरका हकमा वर्षमा एकपटक क्रमशः मेमोग्राम र पाठेघरको मुखको पानीको जाँच गराउनुपर्ने उनको सुझाव छ। पाठेघरको क्यान्सर थाहा पाउन प्याप स्मेयर जाँच पनि गराउन सकिन्छ।

डा. शाहका अनुसार नेपालमा अहिले पेट, स्तन, पाठेघरको मुख, फोक्सो र मुखको क्यान्सर बढ्दै गएको छ। बेलाबेलामा यी अंगको परीक्षण क्यान्सर पहिचान विधिबाट गराए सुरु चरणमै थाहा पाउन सकिन्छ। ठूलो आन्द्रा र पेटको क्यान्सर पत्ता लगाउन, इण्डोेस्कोपी, कोलोनोस्कोपी, भिडियो एक्सरे वर्षमा एकपटक गर्न सकिन्छ।

क्यान्सर लागे–नलागेको र सम्भावित जोखिमबारे थाहा पाउन शरीरका विभिन्न अंगको भिडियो एक्सरे र एक्सरे गर्ने, त्यसबाट पत्ता नलागे एमआरआई, सिटिसक्यान, पेट स्क्यान, रगत र दिसा जाँच, स्तन र पाठेघरको मुखको क्यान्सरका हकमा वर्षमा एकपटक क्रमशः मेमोग्राम र पाठेघरको मुखको पानीको जाँच गराउनुपर्ने उनको सुझाव छ।

कोलोनोस्कोपी गर्न नसककेको अवस्थामा वर्षमा एकपटक दिसामा ‘ब्लड क्लट’ हेर्ने जाँच गरे पनि पेट, आन्द्रा र मलद्वारको क्यान्सरको जोखिम पत्ता लगाउन सकिन्छ। पिसाब, मिर्गौला र रगतको जाँच नियमित गराउँदा पनि धेरै क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउन सकिने उनले बताए।

महिलाले नियमित स्तन छाम्ने गर्दा पनि क्यान्सरको जोखिम भए–नभएको पत्ता लगाउन सकिन्छ। स्तनको वरिपरि हल्का दबाएमा गिर्खा भए नभएको पत्ता लाग्छ। गिर्खा पाइए तुरुन्तै चिकित्सकको सम्पर्कमा गए पहिचान र उपचार हुन्छ।

वर्षमा एकपटक स्तनको मेमोग्राम गराए पनि क्यान्सरको जोखिम भए–नभएको पत्ता लाग्छ। स्तन क्यान्सर पत्ता लागाउन ‘ब्राका जिन’ जाँच गराउन सकिन्छ। यसको रिपोर्ट पोजिटिभ आए स्तन शल्यक्रिया गरेर हटाउने र प्रत्यारोपण गर्न सकिने उपचार अहिले नेपालमै उपलब्ध छ। ‘ब्राका जिन’ परीक्षण स्तन र डिम्वासयको क्यान्सर पत्ता लगाउन गरिन्छ। यसअन्तर्गत रगत जाँचेर क्यान्सरको जोखिमबारे थाहा पाउन सकिन्छ।

महिलाले नियमित स्तन छाम्ने गर्दा पनि क्यान्सरको जोखिम भए–नभएको पत्ता लगाउन सकिन्छ। स्तनको वरिपरि हल्का दबाएमा गिर्खा भए नभएको पत्ता लाग्छ। गिर्खा पाइए तुरुन्तै चिकित्सकको सम्पर्कमा गए पहिचान र उपचार हुन्छ।

क्यान्सर उपचारमा पहिला झोल किमोथेरापी र शल्यक्रिया पद्धति मात्र थियो तर अहिले विभिन्न औषधि पनि अविष्कार भइसकेको डा. शाहीले बताए। उनका अनुसार किमोथेरापी ट्याब्लेटमा पनि आइसकेकाले बिरामीले घरमै बसेर पनि प्रयोग गर्न सकिन्छ र किमोथेरापी पनि डेकेयरमा अस्पताल गएर लगाएर घर आउन सकिन्छ। कतिपय क्यान्सरका लागि रेडियोथेरापी, इमुनोथेरापी, टार्गेटेड थेरापी जस्ता उपचार पद्धतिसमेत नेपालमै रहेको उनले बताए।

प्रकाशित: ४ असार २०८० ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App