२९ चैत्र २०८० बिहीबार
स्वास्थ्य

वीपीमा खानेपानीको चरम अभाव: विद्यार्थीहरुलाई एक साता विदा

तीन दिनभित्र समाधान नभए सामूहिक विदा दिन शिक्षक कल्याण समाजको पनि माग

खानेपानीको चरम अभाव भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विद्यार्थीहरुलाई एक साताको विदा दिएको छ।

खानेपानी अभावले हस्पिटल सेवा पनि प्रभावित हुन थालेपछि प्रतिष्ठानले एक साताको लागि विद्यार्थीहरुलाई विदा दिएको हो। प्रतिष्ठानस्थित एकेडेमिकका असिस्टेन्ट डिन डाक्टर भुम्मी सिंहले एक सुचना जारी गर्दै खानेपानीको चरम अभाव भएकोले पठनपाठनहरु एक साताको लागि स्थगन गरिएको जानकारी दिएकी छन्। स्नातक तहका विद्यार्थीहरुलाई आगामी १३ जुनसम्म विदा दिइएको र १४ जुनदेखि कक्षा सुचारु हुने पनि सुचनामा उल्लेख छ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.सञ्जिव शर्मालेका अनुसार हस्पिटल सञ्चालनको लागि दैनिक १५ लाख लिटर पानीको आवश्यक पर्छ। अहिले मात्र ५ लाख लिटर जति मात्र पानी उपलब्ध छ। पठनपाठनलाई पछि व्यवस्थापन गर्न सकिने तर अस्पताल सेवा रोक्न नसकिने हुँदा विद्यार्थीहरुलाई विदा दिनुपरेको प्रा.डा.शर्माले बताए। उनले भने,‘गर्मी पनि अत्यधिक बढेको र पानी पनि नभएकोले विद्यार्थीहरुले नै माग गरिरहेका थिए। त्यसैले हस्पिटल सेवा प्रभावित नहोस् भनेर एक साताको लागि छुट्टी दिइएको छ।’

होस्टलमा बस्ने करिब १५ सय जति विद्यार्थीहरुलाई विदा दिएर घर पठाउदा पानीको खपत कम हुने र हस्पिटलमा वितरण सहज हुने अपेक्षा प्रतिष्ठानको छ। खानेपानी आपूर्ति सहज बनाउन धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङसँग निरन्तर समन्वय भइरहेको पनि निमित्त उपकुलपति प्रा.डा.शर्माले बताए। ‘मेयर साबसँग समन्वय भइरहेको छ। पानी पठाइनै रहनुभएको छ, तर सबैतिर समस्या नै छ। बिग्रेको पम्प बनिसक्यो, अर्को पनि पम्प आज बनिसक्छ होला,’उनले भने।

करिब दुई सातादेखि प्रतिष्ठानमा खानेपानीको चरम अभाव छ। यसले आवास, होस्टल क्षेत्रमा मात्र होइन, उपचार सेवा पनि प्रभावित भइरहेको छ। प्रतिष्ठानले ट्यांकरबाट पानी मगाएर समाधान गर्ने प्रयास गरिरहे पनि समस्या उस्तै छ। डिउटीमा रहदासमेत हात धुने पानी नभएको भन्दै प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले सोमबार निमित्त उपकुलपतिलाई तीन दिनभित्र खानेपानी व्यवस्थापन नभए सामूहिक विदा दिन माग गरेको थियो। त्यसअघि विद्यार्थीहरुले प्रतिष्ठान परिसरमा पानीको माग गर्दै शान्तिपुर्ण प्रर्दशन गरेका थिए।

प्रतिष्ठानको खानेपानी स्रोत र पाइपलाइन, रिजर्ब वेयरलगायत संरचना छुट्टै भएपनि सञ्चालन, वितरण भने विगतमा खानेपानी संस्थान र हालमा धरान खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ। तर, करिब दुई सातादेखि भने बोर्डले माग वमोजिम पानी आपूर्ति गर्न सकेको छैन। प्रतिष्ठानमा दैनिक ४० लाख लिटर पानीको माग छ। अहिले ५ लाख लिटर जति मात्र पानी आपूर्ति भइरहेको छ। बिग्रेको पम्प मर्मत गरेर आइतबार बिहान सञ्चालनमा आएपनि पानी रिजर्ब वेयरसम्म नपुगेपछि संकट टरेको छैन। खानेपानी बोर्ड र प्रतिष्ठानका प्राविधिक इञ्जिनियरहरु समस्या समाधान गर्न लागेका छन्।  

प्रकाशित: २३ जेष्ठ २०८० १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App