coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

महानगरको अनुगमन: दुई अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेको पाइएन

काठमाडौंका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने सेवा नदिएको पाइएको छ।

मंगलवार काठमाडौं महानगरपालिकाको टोलीले महानगरपालिका भित्रका दुई अस्पतालमा गरेको निरीक्षणका क्रममा अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन अनुसार सेवा नदिएको पाइएको हो।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार काम नभएको पाइएको र निरीक्षणपछि मापदण्डअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको बताए।

निर्देशनात्मक पत्र भने महानगरपालिकाबाट बुधवार पठाइने बताए। उनले अस्पतालले महानगरको निर्देशनपछि अब स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार लक्षित समुदायलाई १० प्रतिशत छुट दिने आशा रहेको बताए।

उनले भने, ‘आज हामीले काठमाडौं महानगरपालिकाको तर्फबाट ओम नर्सिङ होम र हेल्पिङ हेम दुई अस्पतालमा अनुगमन गरको छौँ। अनुगमनको सिलसिलामा १० प्रतिशत लक्षित वर्गले पाउनुपर्ने निःशुल्क स्वास्थ्य उपचार र निःशुल्क शैय्या छुट्याएको हामीले पाएनौँ। ओम अस्पतालमा ट्याग झुन्ड्याइएको जस्तो पाइयो भने हेल्पिङ हेम सम्पूर्ण विवरण पाएनौँ। यसमा स्वास्थ्य सम्बन्धी मापदण्डअनुसार काम नभएकाले निर्देशन दिएका छौँ। निर्देशनात्मक पत्र हामी भोलि पठाउँछौँ। सुधार नगरेको खण्डमा प्रचलित कानूनअनुसार कारबाही हुन्छ।’

महानगरपालिकाका मेयर बालेन्द्र साहले यसअघि १० प्रतिशत लक्षित समुदायलाई स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार उपचार प्रदान गर्नका लागि कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। महानगरपालिकाले निरीक्षणपछि पनि अस्पतालले अटेर गरी तोकिएबमोजिम सेवाप्रवाह नगरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित: २३ जेष्ठ २०८० १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App