१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

अस्पतालहरुमा बेड खाली भए/नभएको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन्।

बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन्।

उनले अस्पतालहरुमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे। उनले सो काम शुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताए। त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले जनाए। उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए।

उनले भने ‘अब चाँडै वीर हस्पिटलले सेवा वृद्धि गर्दैछ। कुन अस्पतालमा आइसियु बेड छ? इमर्जेन्सी बेड छ, वा सिसियु बेड छ? वा खालि छ, छैन छ भने कति छ? बिरामीहरुलाई भ्रम हुन थाल्यो। ठूला मान्छेले फोन गरेपछि बेड पाइन्छ भन्ने मानसिकता हुन थाल्यो। गरिबहरु जाँदाखेरी नपाउने भन्ने हुन थाल्यो। त्यसैले मैले देशभरका अस्पतालहरुमा के छ अवस्था वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर मैले निर्देशन दिएको छु। त्यो काम शुरु भइरहेको छ। अब त्यो समस्या हुँदैन। ओपिडी अनलाइन टिकट बुक गर्ने प्रक्रिया अगाडी बढाउन भनेको छु। प्रक्रिया शुरु हुन थालेको छ। अनलाईन र फिजिकल्ली दुईवटै किसिमले टिकट पाउनसक्छौँ अहिले। वीर अस्पतालमा आइसियु बेडहरु बढ्दैछ। इमर्जेन्सी, वार्डहरुमा बेड बढ्दैछ। डायलाइसिसमा सुधारका पक्षहरु अगाडी बढ्दैछ।’

उनले संसारभरमा सुर्तिजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए। उनले सुर्तिजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिव बिरामीहरुको उपचारमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

उनले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताए।

प्रकाशित: १७ जेष्ठ २०८० ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App