coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ? तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् कि? समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ !

काठमाडौंकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन्। घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल जान नमान्ने र खानसमेत नमान्नेजस्ता गतिविधि उनले देखाउन थालिन्। यी समस्यामा सुधार नआएपछि अभिभावकले उनलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्‍याए। केन्द्रकी मनोविद् करुणा कुँवरले बालिका र अभिभावक दुवैलाई परामर्श दिइन्। ती बालिकालाई सानै उमेरदेखि स्मार्ट फोन चलाउने लत परेको थियो। उनले मोबाइल नपाएको बखत समस्या झनै चर्को हुन्थ्यो। लामो समय स्मार्ट फोन चलाएकाले उनको आनीबानीमा समस्या देखिएको हो। समस्या निक्र्योल भएपछि मनोविद् कुँवरले पटक–पटक परामर्श दिनुपर्‍यो।

‘सेपियन लब्स’ को अध्ययन प्रतिवेदनअनुसार ६ वर्षकै उमेरदेखि स्मार्ट फोन प्रयोग गरेकामध्ये ७४ प्रतिशत युवा अवस्थामा मानसिक समस्या देखिएको छ। उनीहरूको स्मरण क्षमता पनि कमजोर पाइएको छ। १० वर्षको उमेरदेखि स्मार्ट फोन प्रयोग गरेकामध्ये ६१ प्रतिशतमा एमसिक्युको स्तर कमजोर पाइएको हो।

गत फागुनमा काठमाडौंकै अर्की ११ वर्षीया बालिकामा धेरै चकचक गर्ने, जे मन लाग्यो त्यही बोल्ने, तौैल धेरै बढ्ने, राति कम सुत्ने, निद्रामा बर्बराउने, स्कुल जान नमान्नेजस्ता समस्या देखिए। अभिभावकले ती बालिकालाई पनि मानसिक तथा स्वास्थ्य परामर्श केन्द्रमा पुर्‍याए। पटकपटकको परामर्शपछि ती बालिकामा देखा परेका समस्या हराउँदै गए।

काठमाडौं कोटेश्वरका एक तीन वर्षीय बालकमा रातिमा नसुत्ने र मोबाइल हेरिरहने समस्या देखियो। यी बालकका बाबुलाई पनि स्मार्ट फोनको लत लागेको थियो। बाबुछोराको उपचार पनि केन्द्रकै परामर्शमा भयो।

घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन। परामर्श केन्द्रकी मनोविद् कुँवरका अनुसार सातामा सेवा दिने १५ जनामध्ये दुईमा स्मार्ट फोनको लतले विभिन्न समस्या निम्ताएको पाइएको छ।

कान्ति बाल अस्पतालको मानसिक विभागमा दैनिक उपचारका लागि जाने ४० जनामा दुई/तीनजना स्मार्ट फोनले निम्ताएका मनोसमस्याका बिरामी हुन्छन्। औसतमा मासिक यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्या ७२ छ। विभागका बालमानसिक रोग विशेषज्ञ डा. अमित झाका अनुसार शरीर दुख्ने, पेट दुख्ने, च्याँठिने, जिद्दी गर्नेजस्ता समस्या लिएर अस्पताल आउने बालबालिकाको संख्या कोभिड–१९ पछि बढेको छ।

काठमाडौं कोटेश्वरका एक तीन वर्षीय बालकमा रातिमा नसुत्ने र मोबाइल हेरिरहने समस्या देखियो। यी बालकका बाबुलाई पनि स्मार्ट फोनको लत लागेको थियो। बाबुछोराको उपचार पनि केन्द्रकै परामर्शमा भयो।

अमेरिकास्थित ‘सेपियन लब्स’ नामक गैरसरकारी संस्थाले हालै प्रकाशित अध्ययन प्रतिवेदन उद्धृत गर्दै बिबिसीले सानै उमेरदेखि नै स्मार्ट फोन प्रयोग गरेका बालबालिकामा गम्भीर खालका मानसिक समस्या निम्तिएको जनाएको छ। संस्थाले गत जनवरीदेखि अप्रिलसम्म ४० देशका २ लाख ७६ हजार ९ सय ६९ जना बालबालिका तथा किशोरकिशोरीसँग कुराकानी गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। अध्ययन गरिएका ४० वटा देशमा छिमेकी राष्ट्र भारत पनि पर्छ।

अध्ययन प्रतिवेदनअनुसार ६ वर्षकै उमेरदेखि स्मार्ट फोन प्रयोग गरेका बालबालिकामध्ये ७४ प्रतिशतमा युवा अवस्थामा मानसिक समस्या देखिएको छ। उनीहरूको स्मरण क्षमता पनि कमजोर रहेको पाइएको छ। १० वर्षको उमेरदेखि स्मार्ट फोन प्रयोग गरेकामध्ये ६१ प्रतिशतमा एमसिक्युको स्तर कमजोर पाइएको छ। स्मार्ट फोनको लतका कारण बालकमा भन्दा बालिकामा बढी असर परेको सर्वेक्षणले आैंल्याएको छ। स्मार्ट फोन घन्टौं चलाउने बालबालिकामा मनोसमस्या कुनै न कुनै रूपमा देखिने मनोविद्हरू बताउँछन्।

सेपियन लब्सको अध्ययन प्रतिवेदनअनुसार सानै उमेरदेखि स्मार्ट फोन चलाउनेलाई युवा अवस्थामा पुगेपछि गम्भीर मानसिक समस्या देखिने गरेको छ। चिकित्सकका अनुसार स्मार्ट फोन तथा ग्याजेटको स्क्रिनमा देखिने कार्टुन तथा अन्य सामग्रीले बालबालिकाको मस्तिष्कमा ‘डोपामिन’ भन्ने रसायन उत्पन्न गर्छ। यो रसायनले खुसीको अनुभूति हुन्छ। यो खुसीको अनुभूतिले उनीहरू निरन्तर स्मार्ट फोनको लतमा पर्छन्।

स्मार्ट फोनको लतले उनीहरू घरबाहिर र साथीभाइसँग हुने क्रियाकलापबाट वञ्चित हुन्छन्, घरबाहिर हुने खेलकुद, दौडजस्ता क्रियाकलाप बढ्दो उमेरमा शारीरिक तथा मानिसक विकासका लागि आवश्यक हुन्छन्। यस्ता क्रियाकलापको कमीले बालबालिकाको मानसिक विकासमा असर पर्छ। स्मार्ट फोनको लतका कारण उनीहरूमा चिटचिट, सामाजिक र पारिवारिक गतिविधिमा घुलमिल नहुने, चिन्ता, डरजस्ता समस्या देखिन थाल्छन्।

सेपियन लब्सको अध्ययन प्रतिवेदनअनुसार सानै उमेरदेखि स्मार्ट फोन चलाउनेलाई युवा अवस्थामा पुगेपछि गम्भीर मानसिक समस्या देखिने गरेको छ।

स्मार्ट फोनले निम्तिएको मानसिक समस्याका कारण कतिपय बालबालिकालाई औषधि नै प्रयोग गर्नुपर्ने अवस्था आएको कान्ति बाल अस्पतालका डा. झा बताउँछन्। मनोविद्का अनुसार जान/अन्जान रूपमा अभिभावकले आफ्ना छोराछोरीलाई चलाख हुन्छन् भन्ने सोच र समय दिन नसकेर स्मार्ट फोन खेलौनाका रूपमा दिने गरेको पाइन्छ। यसरी मोबाइल फोन पाउनेमा संयुक्त परिवारको तुलनामा एकल परिवारका बालबालिका बढी पर्छन्।

कतिपय अभिभावक नै स्मार्ट फोनको लतमा परेका हुन्छन्। उनीहरूले बालबालिकाले आफूलाई ‘डिस्टर्ब’ नगरुन भनेर पनि स्मार्ट फोन दिने गरेको पाइन्छन्।

तर यसबाट बालबालिकामा पर्ने दीर्घकालीन असरबारे उनीहरू अनभिज्ञ भएको मनोविद् कुँवर बताउँछिन्। स्मार्ट फोनको लतका कारण मानसिक समस्यामा परेका बालबालिकाको संख्या नेपालमा पनि बढ्दै गएकाले अभिभावक बेलैमा सचेत नभए त्यसको असर सिंगो राष्ट्रमा असर पर्ने मनोविद् कुँवर बताउँछिन्। ‘स्वच्छ वातावरणमा हुर्किन नपाएका बालबालिकाको मानसिक विकास राम्रोसँग हुँदैन, यो संख्या बढ्दै गए त्यसको असर मुलुकलाई नै पर्छ,’ उनले भनिन्।

मोबाइलको लतबाट कसरी छुटाउने

अभिभावकहरू सचेत नभएसम्म स्मार्ट मोबाइल फोनको लतले पर्ने असरबाट बालबालिकालाई जोगाउन मुस्किल हुने मनोविद्हरू बताउँछन्। मोबाइल फोनको लतबाट बालबालिकालाई जोगाउन अभिभावक र विद्यालय दुवैको भूमिका महत्वपूर्ण हुने मनोविद् औंल्याउँछन्।

विद्यालयले शारीरिक खेलकुदको व्यवस्थापन गर्ने, बालबालिकाले स्मार्ट फोन प्रयोग गरेनगरेको निगरानी गर्ने र अभिभावकसँग यसको असरबारे संवाद गर्नेजस्ता सहयोगी भूमिका निर्वाह गर्न सक्छन्। मोबाइल फोनको लतबाट बालबालिकालाई जोगाउने मुख्य भूमिका भने अभिभावककै हुने मनोविद् कुँवर बताउँछिन्।

अभिभावकहरू सचेत नभएसम्म स्मार्ट मोबाइल फोनको लतले पर्ने असरबाट बालबालिकालाई जोगाउन मुस्किल हुने मनोविद्हरू बताउँछन्।

सकेसम्म सानो उमेरमा फोन चलाउन नदिने, दिनै परे सामान्य बोल्न मिल्ने फोन दिने, घरबाहिरका खेलमा सहभागी गराउने, बालबालिकाका अगाडि अभिभावकले पनि नहेर्नेजस्ता व्यवहार गर्नुपर्ने उनी बताउँछिन्। बालबालिकामा मोबाइलको लत पर्न नदिन अभिभावकले बेलाबेलामा छोराछोरीका गतिविधि नियाल्ने र उनीहरूका समस्या र कुरा सुन्ने, आफन्तको घर तथा अन्य ठाउँमा घुमाउन लैजाने गर्नुपर्ने राय डा. झाको छ।

प्रकाशित: १७ जेष्ठ २०८० ००:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App