४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

सिन्धुली अस्पतालको सेवा चार दिन देखि अवरुद्ध, सेवाग्राही मर्कामा

गर्भवती महिलाको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड भएपछि सेवा ठप्प रहेको सिन्धुली अस्पतालका खाली बेडहरू। तस्बिर: अनिल भण्डारी/ नागरिक

गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर अस्पताल तोडफोड भएपछि चार दिन देखि सिन्धुली अस्पतालको सेवा अवरुद्ध भएको छ। 

अस्पतालको सेवा अवरुद्ध हुँदा दैनिक सयौँको संख्यामा आउने सेवाग्राही मर्कामा परेका छन्। उपचारको क्रममा एक गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर आक्रोशित भिडले अस्पताल तोडफोड गरेपछि चिकित्सकहरुले अस्पतालको सेवा नै अवरुद्ध गरेका हुन्।

जिल्ला अस्पतालका चिकित्सकहरुले काम गर्न सक्ने अवस्था नभएको र आफूहरू मृतकका आफन्तको आन्दोलनबाट मानसिक रुपमा विक्षिप्त भएकाले केही दिनका लागि सेवा दिन नसक्ने भन्दै इमरजेन्सी सेवा सहित सम्पूर्ण सेवा ठप्प पारेका हुन्।

आक्रोशित भिडले अस्पतालका सम्पूर्ण झ्यालका सिसा फुटाउनुका साथै अस्पतालका बेडमा समेत क्षति गरेकाले सर-सफाई गर्न केही दिन लाग्ने भएकाले अस्पतालको सेवा सुचारु हुन नसकेको अस्पतालले जनाएको छ।

जेठ ९ गते कमलामाई नगरपालिका ५ सिलामेकी २९ वर्षीय गंगा गुरुङ श्रेष्ठको उपचारका क्रममा सिन्धुली अस्पतालमा केही समयको उपचार पश्चात् सिन्धुलीमा उपचार गर्न नसकिने भन्दै बर्दिबास रेफर गरिएको थियो। तर बर्दिबास लैजाने क्रममा बाटोमै गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालको लापरबाही भन्दै आफन्तहरूले आन्दोलन गरेका थिए।

अस्पताल तोडफोड भएसँगै जिल्ला अस्पतालको सम्पूर्ण सेवा नै ठप्प पारेपछि अस्पतालमा दैनिक आउने सयौँ बिरामी निजी क्लिनिक र मेडिकलमा उपचार सेवा लिन जान बाध्य भएका छन्। 

चिकित्सकले उपचार सेवा दिन तत्काल नसकिने बताएपछि जिल्ला अस्पताल सुनसान बनेको छ। अस्पतालका सम्पूर्ण कोठाका झ्यालका सिसा फुटाउनुका साथै अन्य सामाग्री समेत तोडफोड भएकाले सर-सफाई गर्न केही दिन लाग्ने भएकाले सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष शतिसचन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार अस्पताल सर-सफाई कार्य अगाडी बढेकाले तत्कालै आकस्मिक सेवा सुचारु गर्ने र केही दिनमा ओपिडी सेवा समेत सुचारु गर्ने गरी काम भइरहेको छ। अस्पतालमा तत्काल सेवा दिन सक्ने अवस्था नै नभएकाले सेवा अवरुद्ध भएको अस्पतालका मेसु डाक्टर उमेश प्रधानले जनाए। 

'हामीले इनडोर बाट सेवा दिएका छौ, आकस्मिक कक्ष सहित अस्पतालका सबै कक्षहरूमा तोडफोड भएको छ, उनले भने, प्रहरीले मुचुल्का बनाई सकेकाले सरसफाई गरेर सेवा सुचारु गर्छौ।'

प्रकाशित: १२ जेष्ठ २०८० ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App