१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गण्डकीका मुख्यमन्त्रीको निर्देशन: औषधी र स्वास्थ्य उपकरण ‘स्टोर’ मा थुनेर नराख्नुस्

पोखरामा सरकारी औषधि स्टोर नियाल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितका पदाधिकारी। तस्बिरः नागरिक

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा मंगलवार पोखरामा गण्डकी प्रदेशका स्थानीय तहबीच नव प्रवर्तनात्मक स्वास्थ्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया भएको थियो।

त्यही कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न पालिकाका जनप्रतिनिधिले औषधी, स्वास्थ्य उपकरण मौज्दात हुँदाहुँदै पनि प्रदेश सरकारले नदिएको गुनासो पोखेका थिए।

स्टोरमा औषधि हुँदाहुँदै पनि स्थानीय तहलाई नदिएको पालिकाका जनप्रतिनिधिको गुनासोपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वयं बुधबार औषधि र स्वास्थ्य उपकरणको मौज्दात बुझ्न सरकारी स्टोरमा पुगेका छन्। जनप्रतिनिधिको गुनासोपछि बुधवार बिहान आफै मौज्दातबारे बुझ्न पुगेका मुख्यमन्त्री पाण्डेले कर्मचारीसँग औषधी थन्काएर राखेको तर, स्थानीयतहमा नपठाएको बारेमा जानकारी लिए। त्यो बेला मुख्यमन्त्री पाण्डेले स्टोरमा थन्काउनुको साटो औषधि र उपकरण जनतासम्म पुर्‍याउन निर्देशन दिएका थिए।

‘औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु र्‍याउनुपर्छ। स्वास्थ्य जनताको जीवनसँग जोडिएकाले संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘औषधी थन्क्याएर राख्ने होइन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ।’

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्माले स्वास्थ्यको ‘प्रोटोकल’ अनुसार १० प्रतिशत औषधी मात्र अत्यावश्यक कामका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोही अनुसार मात्रै औषधी रहेको जानकारी गराए। सबै प्रकारका औषधी अझै अपुग रहेको भन्दै उनले भएका औषधी जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पुर्‍याउन नसकेको बताए। इमरेजन्सीका लागि राख्ने बाहेक अरू बढी औषधी स्टक नरहेको उनले मुख्यमन्त्रीलाई जानकारी गराए।

मुख्यमन्त्री पाण्डेले औषधी १० प्रतिशत राख्नुपर्ने नियम भए पनि स्वास्थ्य उपकरण भने सक्दो धेरै प्रयोगमा ल्याउन सुझाव दिए। साथै उनले प्रदेशका ११ जिल्लाका कम्तीमा एक एक पालिकाका प्रमुखहरुलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने बताए।

‘हामी र स्थानीय तह बीच ‘कम्युनिकेसन’ नहुँदा पनि केही समस्या भएको छ, समन्वय नहुँदा प्रदेश कार्यालयमा औषधी मौज्दात रहेको भन्ने गलत सन्देश पुगेको छ,’ उनले भने, ‘औषधि मौज्दात रहेको, तर, पाएनौ भन्ने गुनासो मात्र रहेको छ। त्यो सबै सही होइन,’ उनले भने, ‘औषधि मौज्दात राखेर कसैलाई फाइदा हुँदैन। सकेसम्म नागरिकको पहुँचमा पुर्‍याउनुपर्छ।’

मुख्यमन्त्री पाण्डेले स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउँदै अहिलेको स्थितिमा भन्दा आगामी वर्ष स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने बताए। ‘हामीसँग साधन स्रोत सीमित छ, आवश्यकता र आपूर्तिलाई कसरी व्यवस्थित गर्ने भन्ने योजनामा हामी छौं,’ मुख्यमन्त्री पाण्डेले भने।

प्रकाशित: १० जेष्ठ २०८० ०८:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App