८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

राप्ती नगरपालिकाले जन्मदिनमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।  

‘प्रत्येक बर्ष मानिसको जन्मदिन आउँछ। त्यो अवसरमा प्याकेज सहितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’ राप्ती नगरपालिका प्रमुख शम्शेर लामाले भने, ‘यसले नियमित स्वास्थ्य परीक्षण गर्न बानी पर्दछ।’ राप्तीको भण्डारा अस्पतालबाट सर्वसाधरणले सेवा लिने व्यस्था मिलाईएको छ। नगरपालिकाले यो कार्यक्रम असोज महिनादेखि ल्याएको हो। त्यसो गर्दा अहिले भण्डारा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्नेहरुको संख्या समेत बढेको नगरप्रमुख लामा बताउँछन्। ‘हामी नियुक्ति हुँदा भण्डारा अस्पतालमा दैनिक १०देखि १२ जनासम्म आउने गर्दथे,’ उनले भने, ‘अहिले यहाँ दैनिक सयभन्दा बढी आउनुहुन्छ।’ जन्मदिनमा भण्डारा अस्पतालबाट हुने सम्पूर्ण सेवाहरु निःशुल्क गर्ने व्यवस्था गरिएको हो। अहिले भण्डारा अस्पतालमा स्वास्थ्य उपकरणहरुको समेत थप गरिएको उनले बताए।  

स्वास्थ्य सुधार अन्तरगत राप्ती नगरपालिकाले सबै वडामा प्रयोगशाला राख्ने तयारी गरेको उनले बताए। विशेषगरि पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ, तामाङ समुदायका मानिसहरुको स्वास्थ्य उपचारका लागि लक्षित गरि निःशुल्क एम्बुलेन्स सेवा समेत नगरपालिकाले सञ्चालनमा ल्याएको छ। राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ नम्बर वडा पहाडी क्षेत्रमा पर्दछ। त्यहाँ पछाडी  परेका चेपाङ समुदायको बाक्लो बसोबास छ। उनीहरु आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन् । करिव १३ हजार जनसंख्या रहेको यस क्षेत्रमा एम्बुलेन्स सेवा समेत थिएन। असोज महिनाबाट सेवा सञ्चालन गरेपछि ३ सय जना बिरामीले सेवा लिएको नगरपालिकाले जनाएको छ।  

चेपाङ समुदायमा खाद्यन्नको अभाव भइरहन्छ। पहाडी क्षेत्रमा बस्ने चेपाङ समुदायले छ महिना वनको कन्दमुलको भरमा जिवन निर्वाह गर्ने गर्दछन्। सानै उमेरमा बिवाह गर्ने हुँदा त्यस क्षेत्रका बच्चाहरुमा कुपोषण बढी भएको पाइन्छ। त्यसलाई मध्येनजर गर्दै नगरपालिकाले सुत्केरी पोषण कार्यक्रम ल्याएको नगरप्रमुख लामा बताउँछन्। ‘सुत्केरी र बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रत्येक सुत्केरीलाई ३ हजार ८ सय रुपैयाँ दिने गरि सुत्केरी पोषण कोष बनाएका छौँ,’ उनले भने,‘ यस कार्यक्रमले सुत्केरी महिला र बच्चाको स्वास्थ्यमा केही सुधार हुनेछ।’

कान्दा राप्ती नगरपालिकाको सबैभन्दा विकट क्षेत्र हो। त्यहाँ अहिलेसम्म सवारी साधन समेत पुग्न सकेको छैन। आधारभूत स्वास्थ्य चौकी समेत छैन। असार मसान्तसम्ममा स्थापना गर्ने गरि काम अगाडि बढाएको उनले बताए।  

नगरवासीको उपचारमा सहजता प्रदान गर्न भण्डारा अस्पतालमा स्वास्थ्य विमाको कार्यक्रम ल्याउन लागिएको उपप्रमुख देवेन्द्र लामाले बताए। ‘भण्डारामा स्वास्थ्य विमा कार्यक्रम ल्याउन हामीले धेरै मेहेनत गरेका छौँ,’ उनले भने, ‘यही बर्षभित्र स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन गर्दछौँ।’

नगरपालिकाले निःशुल्क शिक्षा समेत व्यवस्था गरेको छ। सम्पूर्ण बालबालिकालाई शिक्षा दिने उद्देश्यले कोराक र देउराली टारमा  गरी दुई वटा छात्राबास समेत नगरपालिकाले सञ्चालनमा ल्याएको छ। ८ वटा माध्यमिक विद्यालय, ९ वटा आधारभूत विद्यालय र २५ वटा प्राथमिक विद्यालय रहेको राप्तीले दिवा खाजाको समेत व्यवस्था गरेको छ। केन्द्र सरकारले दिने १५ रुपैयाँमा पाँच रुपैयाँ थपेर दिवा खाजा दिने व्यवस्था गरेको छ।

प्रकाशित: ६ जेष्ठ २०८० १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App